स्थानीय सरकार हाँक्दै महिलाहरू

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ फागुन ।
‘महिलाले नेतृत्व सम्हाल्न सक्दैनन्, उनीहरूलाई जिम्मेवारी दिनु हुँदैन । सामाजिक काम काम गर्न पनि सक्दैनन्, घरको काम सम्हाले हुन्छ ।’ परिवार र समुदायका अगुवाहरूबाटै सुनिने शब्द हो यो । महिलाप्रतिको यही दृष्टीकोणका कारण विगतमा महिलाहरूले नेतृत्वको मौका पाउन सकेनन् । क्षमता भएर पनि महिलाहरू भान्साभित्रै सीमित भए ।


तर पछिल्लो समय महिलाहरूले राजनीति र सामाजिक नेतृत्व सम्हाल्ने साहस गरेका छन् । पुरुषप्रधान सोचका कारण प्रमुख नेतृत्वमा पुग्न नसके पनि महिलाहरूले संवैधानिक बाध्यताका कारण केही जिम्मेवारी निर्वाह गर्ने अवसर प्रदान गरेका छन् । स्थानीय तहमा सरकार सञ्चालनको बागडोर सम्हाल्ने अवसर पाएपछि महिलाले त्यसको नेतृत्व पनि सहज रूपमा सम्हाल्दै आएका छन् । सुर्खेतका नौ वटै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको जिम्मेवारीमा रहेका महिलाहरूले हिजो–आज स्थानीय सरकार सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
स्थानीय तहमा पदका हिसावले दोस्रो वरियतमा रहे पनि महिला जनप्रतिनिधिहरूले सरकार सञ्चालनमा परिपक्व र नेतृत्वदायी भूमिका खेलेका छन् । यसले सर्वसाधारणमा महिला नेतृत्वप्रति थप विश्वास जोगेको छ । इमान्दारितापूर्वक भूमिका निर्वाह गरेकै कारण महिला नेतृत्वप्रति अपेक्षा पनि बढेको सर्वसाधारणको भनाइ छ । नेतृत्व सम्हालेको करिब १० महिनाको अवधिमा महिला जनप्रनिधिहरूले नेतृत्व प्राप्त हुनु नै सफलता ठानेका छन् । स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारीसमेत सम्हालेकाले उनीहरूले खुशीको अनुभूति गरेका छन् । वर्षौंदेखि थिचोमिचोमा पर्दै आएका ग्रामीण क्षेत्रका महिलाको पक्षमा काम गर्नेगरी उनीहरूले आवश्यक नीति तथा कार्यक्रमहरू पनि अगाडि बढाएका छन् ।
भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले आफ्ना नगरमा ‘छोरी शिक्षा’ का लागि विशेष कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । उनका अनुसार शिक्षामा छोरीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले विपन्न र गरीब परिवारका छोरीका लागि कोष खडा गरिएको हो । उनले भनिन्, ‘महिलालाई अझैं पनि विश्वास गर्दैनन्, सहयोगीको रूपमा मात्र लिने सोच हावी छ । हामीले स्थानीय सरकार सञ्चालनमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने अवस्था छ, महिलाको हितमा हुने कार्यक्रम सञ्चालनका लागि हामी केन्द्रित छौं ।’ उनले मलिलाले पनि काम गर्न सक्छन् भन्ने नमुना पेश गर्नका लागि आफूले पुरुष जनप्रतिनिधिसँग समन्वय गर्दै अगाडि बढिरहेको उल्लेख गरिन् ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय सरकारको उपप्रमुख बन्ने अवसर पाएकी छन् मोहनमाया ढकालले । उनलाई पनि नमुना काम गरेर महिलाले नेतृत्व सम्हाल्न सक्छन् भन्ने गतिलो नमुना पेश गर्नुपर्नेछ । यसकारण पनि उनी आफ्नो जिम्मेवारीप्रति सचेत छन् । ‘हामी नगरका कोही पनि महिला कुनै पनि हिंसामा छैनन् भन्ने घोषणा गदरुरुछौं’ उनले भनिन्, ‘कार्यपालिकामा पनि जनप्रतिनीधिको सहयोग र सहकार्य गरेर बढेकाले नगरवासीका धेरै समस्या समाधान भइरहेका छन् ।’ नगर कार्यपालिकामा समावेशी एजेण्डा र जनताको आवश्यकलाई मिलिजुली काम गरिरहेको उनले बताइन् । अवसर पाएमा महिलाले पनि नमुना काम गर्न सक्ने भन्दै उनले स्थानीय सरकार चलाउने अवसरलाई आफूहरूले सही सदुपयोग गर्ने उल्लेख गरिन् ।
जिम्मेवारी सम्हालेसँगै देखाउन लायक काम गर्न नसकिएको भन्दै उनले आगामी चार वर्षभित्र महिलालाई सक्षम बनाउन विभिन्न कार्यक्रम अगाडि बढाइने जानकारी दिइन् । ‘महिलाहरू विपन्नताले मात्रै होइन, अधिकार नै थाहा नपाएर थिचोमिचोमा परेका हुन्’ उनी भन्छिन्, ‘अब नगरपालिकाले महिलालाई क्षमता अभिवृद्धि मात्र होइन, आर्थिक रूपमा पनि सवल बनाउने कार्यक्रम ल्याउनेछ ।’ यसका लागि आफूले निरन्तर प्रयास जारी राखेको उनको भनाइ छ । सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले पनि आफ्नो कार्यकालमा नमुना गाउँपालिका बनाउने योजना बनाएकी छन् । ‘सिम्ताका महिलाहरू क्षमतावान छन्’ महिला लक्षित योजना सुनाउँदै उनले भनिन्,
‘महिलाले पनि काम गर्न सक्छन् भन्ने प्रमाणित गर्नुछ, त्यसका लागि म प्रयासरत छु ।’ विगतमा महिलाका लागि छुट्याइने बजेट अन्य विकास आयोजनामा खर्चिने गरेकाले महिलाहरू अन्यायमा परेको सुनाउँदै उनले अब यसलाई रोक्ने बताइन् ।
विगतको अनुभवलाई सिकाइका रूपमा लिँदै आगामी गाउँसभाबाट महिलाको क्षमता अभिवृद्धिका कार्यक्रम प्राथमिकता दिने उनको योजना छ । गाउँसभा र गाउँकार्यपालिकाको बठैकमा आफ्ना एजेण्डा पारित गराउनका लागि उनले पुरुष जनप्रतिनिधिलाई सहमत गराउने गरेको सुनाइन् । ‘कुनै पनि काम गर्न सक्दिन भन्ने छैन्’ उनले भनिन्, ‘जनताको आवश्यक अनुसार गर्नैपर्ने काम गरेर छोड्छु, महिलालाई आयआर्जनका क्षेत्रमा, बेरोजगार युवाका लागि रोजगारी सिर्जना गरेर गाउँपालिकालाई समृद्ध बनाउने मेरो अठोट छ ।’ आर्थिक रूपमा सक्षम नहुँदा ग्रामीण क्षेत्रका महिलाहरू घरेलुहिंसाको सिकार भइरहेको भन्दै उनले हिंसामुक्त गाउँपालिका बनाउने योजना सुनाइन् । स्थानीय सरकारको जिम्मेवारी सम्हाल्दा शतप्रतिसत रूपमा सहयोग पाउन नसकेको अनुभव लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले सुनाइन् ।
उनले पुरुष जनप्रतिनिधिको सहयोगमा काम गर्दै आए पनि अपेक्षा अनुसारको सहयोग नपाउँदा अहिले पनि केही कठिनाइ भइरहेको बताइन् । ‘नगरपालिकामा सहकार्य गरेरै अगाडि बढेका छौं’ उनले भनिन्, ‘आवश्यकता अनुसार बजेट विनियोजन गर्न सकिएन्, यो पटक अपेक्षा अनुसार महिलाको पक्षमा कम मात्र कार्यक्रम पारित भए । समाजमा अहिले पनि पुरुषवादी सोच कायमै छ, हामी यसलाई चिर्दै महिलालाई न्याय हुनेगरी काम गर्न कसरत गर्नेछौं ।’ आफूहरूले महिलाकै पक्षमा काम गर्न र आवाज उठान थालेपछि पछिल्लो समय नगरपालिकामा महिलाहरू सीप विकास र आय–आर्जनका योजना माग गर्न आउन थालेको उनले जानकारी दिइन् । महिलामैत्री योजना कार्यान्वयका लागि पुरुष जनप्रतिनिधिलाई सहमत बनाउँदै महिला जनप्रतिनिधिहरूले स्थानीय तहमा नमुना काम गर्ने कसरत जारी राखेका छन् । यसले महिला नेतृत्वप्रति सर्वसाधारणहरूमा थप विश्वास जगाएको छ ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७४, शुक्रबार १४:०१