विश्वकप छनौट : नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं, २४ फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिंग गरेको नेपालले स्केटल्याण्डलाई १ सय ५० रनको सामान्य लक्ष्य दिएको थियो । १ सय ५१ रनको लक्ष्य स्कटल्याण्डले ४१‍ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १ सय ४९ रनमा अलआउट भयो । खेलमा नेपालका लागि कप्तान पारसले सबैभन्दा बढी ६३ रन जोडे । २६ ओभरमा अर्धशतक पूरा गरेका उनले ७५ बलमा ९ चौका प्रहार गरे । खराब सुरुवात गरेको नेपालको इनिङलाई गति दिएका पारस सातौं विकेटको रुपमा आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो ।

पारसले ’लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गरे। उनी ’लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। स्कटल्यान्ड विरुद्धको खेलअघि एक हजार रन पूरा गर्न ९ रनले टाढा रहेका पारसले पाँचौ ओभरमा चौका प्रहार गरेर एक हजार रन पूरा गरेका थिए। पारसले ’लिस्ट ए’ का ३० खेल खेल्दा २ शतक र ७ अर्धशतक प्रहार गरेका छन ्। स्कटल्यान्ड विरुद्ध बसन्त रेग्मीले नेपालका लागि पारसपछि बढी रन जोडे। उनले नटआउट २४ रन जोडे। उनले ५१ बलमा १ चौका प्रहार गरे । पाँच ओभरभित्र सुरुवाती ४ विकेट गुमाएपछि नेपाल सुरुवातमै दबाबमा परेको थियो। ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका थिए। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भए। नाथलाई विटिङ्घमले एलबिडब्लुको धरापमा पारे। यस्तै, दीपेन्द्रसिंह ऐरी पनि १ रनमै पेभिलियन फर्के। लगत्तै अर्को बलमा शरद भेषावकर शून्य रनमा विटिङ्घमबाट बोल्ड गर्दा नेपालको स्थिति नाजुक बनेको थियो ।

यसैगरी, आठौं ओभरको अन्तिम बलमा आरिफ शेख पभेलियन फर्के। २ रन मात्र जोडेका आरिफ वेरिङ्टनको बलमा क्याच आउट भए। आरिफआउट हुँदा नेपालको स्कोर ३९ रन मात्र थियो भने ५ महत्वपूर्ण विकेट गइसकेको थियो। त्यसपछि मैदान प्रवेश गरेका सोमपाल कामीले १८ रनको योगदान गरे। रनआउट आउट हुनुअघि उनले पारससँग ४२ रनको साझेदारी गरेका थिए। उनले ५४ बल खेलेर २ चौका प्रहार गरे। त्यसपछि रोहितकुमार पौडेल १५ रनमा आठौं विकेटको रुपमा आउट हुँदा नेपाल सामान्य योगफलको बाटोमा पुगेको थियो। सन्दीप लामिछानेले ६ रन भन्दा बढी जोड्न सकेनन्। बलिङतर्फ स्कटल्यान्डका स्टुवार्ड विटिङ्घमले ३ विकेट लिए भने साफयान शरिफले २ विकेट हात पारेका छन्। विटिङ्घमले नेपालका सुरुवाती ३ विकेट लिएका थिए। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो।

प्रकाशित मितिः   २४ फाल्गुन २०७४, बिहीबार २०:००