धुम्रपानले निम्त्याउँछ मृत्यु, सुर्खेतका ३९ जनामा क्यान्सर
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ जेठ ।
सुर्तीजन्य पदार्थको सेवनबाट सुर्खेतका ३९ जनामा क्यान्सर भएको पाइएको छ । विश्व धुम्रपानरहित दिवसको अवसरमा मंगलवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
जिल्लास्तरीय सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन उपसमितिका संयोजक हितप्रसाद पौडेलका अनुसार सुर्खेतका ३९ जनामा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर भएको र सरकारी रूपमा प्रति व्यक्ति एक लाखका दरले ३९ लाख खर्च गरी उपचारको लागि सिफारिस गरिएको छ । उनले क्यान्सर निम्त्याउने प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन रहेको पाइएको समेत बताए । १८ वर्ष मुनिका बालबालिका तथा गर्भवती महिलालाई खुला रूपमा खिल्ली बेचेको पाइएमा कडा कारबाही गर्ने बताए । उनले भने, ‘हामीले ४४ जनालाई सार्वजनिक स्थलमा धुम्रपान सेवन गरेकोमा जरिवाना गराइसकेका छौं अझै यसको अनुगमन कडा रूपमा गर्नेछौं ।’
मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक भोगेन्द्रराज डोटेलले धेरै जसो क्यान्सरका बिरामी धुम्रपानको सेवनबाट नै हुने गरेको बताए । उनले भने, ‘अधिकांश बिरामीमा क्यान्सरको प्रमुख कारण नै धुम्रपान भएको पाइएको छ, त्यसैले यसबाट बच्नका लागि सबैले साझा अभियान बनाएर धुम्रपानरहित समाज निर्माणमा लाग्नु अपरिहार्य छ ।’ यसका लागि अहिलेदेखि नै विद्यालयस्तरबाट अभियान सञ्चालन गर्नुपर्ने र अनुगमन तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनले बताए ।
सुर्तीजन्य पदार्थ सेवनबाट उत्पन्न हुने रोगका कारण, प्रति घण्टा दुई जना नेपालीको मृत्यु हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका बसन्तमान श्रेष्ठले मानिसको मृत्युको प्रमुख ८ कारणमध्ये ६ वटा कारण सुर्तीजन्य पदार्थ नै रहेको बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष अमृत बिसीले धुम्रपानलाई नियमन गर्नको लागि विद्यालयस्तरदेखि नै पहल गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेकपा माओवादी केन्द्रका सहसचिव जीतबहादुर रानाले धुम्रपान नियन्त्रण तथा नियमन गर्नको लागि राजनीतिक दलहरू कटिबद्ध भएर लाग्नु पर्नेमा जोड दिए । विश्व धुम्रपानरहित दिवसको अवसरमा मंगलगढीचौकदेखि ¥याली निकाली बजार परिक्रमा समेत गरिएको थियो ।
साझा बिसौनी संवाददाता ।