वन्यजन्तुको अवैध तस्करी, भरिया प्रयोग गर्दै चीनमा निर्यात

kasturi 2
कस्तुरीको बिनासहित पक्राउ परेपछि हाल कारागारमा रहेका सुर्खेतका देवबहादुर खत्री । फाइल फोटो

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ जेठ ।
वीरेन्द्रनगरका जंगबहादुर सुनार गएको कार्तिकमा पाटेबाघको छाला र हड्डीसहित पक्राउ परे । वन्यजन्तु चोरी शिकारीको मुद्दा चलेपछि उनी अहिले कारागारमा छन् । सुनार आफैले बाघ मारेका भने होइनन् । भारतबाट आएको बाघको छाला र हड्डी चीनतर्फ लैजाने क्रममा उनलाई प्रहरीले सुर्खेतमा पक्राउ ग¥यो । उनलाई तस्करहरूले भरियाको रूपमा प्रयोग गरेका थिए ।
पछिल्लो समय तस्करहरूले सुर्खेतलाई केन्द्र बनाएर चीनतर्फ वन्यजन्तुको निर्यात गर्न थालेका छन् । भारतका विभिन्न स्थान र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायत अन्य संरक्षित वन्यजन्तुको चोरीशिकारी गरेर चीनतर्फ निर्यात हुने गरेको रहस्य खुलेको हो । चीनका विभिन्न सहरमा वन्यजन्तुको निर्यात गर्नका लागि तस्करहरूले भरियाहरू प्रयोग गर्दै आएका छन् । जिल्ला वन कार्यालयका अनुसार तस्कहरूले भरिया प्रयोग गरेर कर्णाली राजमार्गबाट हुम्लाहुँदै चीनको सीमानासम्म वन्यजन्तुको छाला, हड्डी र अन्न अङ्गहरू पु¥याउने गरेका छन् । सोही क्रममा पछिल्लो तीन वर्षको अवधिमा सुर्खेतबाट वन्यजन्तुको अङ्गसहित दुई दर्जन व्यक्तिहरू पक्राउ परिसकेका छन् ।
चीनतर्फ निर्यात गर्नका लागि तस्कहरूले सुर्खेतलाई केन्द्र बनाएका छन् । कालिकोटका रतन विश्वकर्मा पनि कालो भालुको छाला र हड्डीसहित सुर्खेतमै पक्राउ परे । उनले जिल्ला वन कार्यालयलाई दिएको बयानमा आफूले हुम्लासँग जोडिएको चीनको सीमानासम्म लैजान लागेको बताएका थिए । भारतबाट आएको उक्त छाला र हड्डी चीनको सीमानासम्म पु¥याए वापत पैसा पाउने भएपछि आफू ओसार्न तयार भएको उनको बताएका थिए । वन कार्यालयका कर्मचारीका अनुसार तस्करहरूले आर्थिक प्रलोभन र परिवारको समेत पालनपोषणको ग्यारेण्टी लिएर वन्यजन्तुको ओसारपसारमा भरियाहरूको प्रयोग गर्न थालेका छन् । जसको परिणाम केवल भरियाहरू मात्र पक्राउ पर्ने गरेको कार्यालयले जनाएको छ । तस्करीमा संलग्न गिरोहका मुख्य नाइकेहरूलाई पक्राउ गर्न नसक्दा संरक्षित वन्यजन्तुको चोरीशिकारी बढ्दै गएको हो ।
जिल्ला वन अधिकृत हेमराज विष्ट भन्छन्, ‘हामीले हालसम्म समातेकाहरू केवल भरिया मात्र हुन्, मुख्य नाइके त विदेशमा बस्दा रहेछन् । उतैबाट भरियामार्फत् तस्करहरूले वन्यजन्तु चीनतर्फ तस्करी गराएको देखियो, नाइके नै फेला नपर्दा तस्करी नियन्त्रण गर्न मुस्किल भयो ।’ उनले थपे, ‘तस्कहरूले भरियाको सबै ग्यारेण्टी नै लिने रहेछन्, मागे जति पैसा पाएपछि भरियाहरूले पनि ढुवानी गर्ने नै भए । सुर्खेत वन्यजन्तु तस्करको केन्द्र नै बन्यो, नाइकेलाई नसमातेसम्म समस्या समाधान हुँदैन ।’ पक्राउ परेका भरियाहरूले आर्थिक अभावका कारण आफूहरू वन्यजन्तुको ओसारपसारमा संलग्न भएको बताउने गरेका छन् । आफू पक्राउ परेको खण्डमा तस्करले नै परिवारको पालनपोषणको जिम्मा लिने भएकाले पनि भरियाहरूले तस्करको बारेमा सूचना दिन नमान्ने गरेको विष्टले बताए । अधिकांश वन्यजन्तुको निर्यात चीनतर्फ नै हुने गरेको वन कार्यालयको भनाइ छ । सुरक्षा जाँचमा कडाइ नहुँदा तस्करले यो रुटको प्रयोग गर्न थालेका छन् । नेपालबाट भरियाहरूले सीमानाका गाउँमा पु¥याएपछि चीनबाट नै त्यहाँका व्यापारीहरू वन्यजन्तुको अङ्ग लिन आउने गर्दछन् ।
पछिल्लो तीन वर्षको अवधिमा जिल्ला वन कार्यालय सुर्खेतले वन्यजन्तुको अङ्गसहित दुई दर्जन व्यक्तिलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैजना वन्यजन्तुको अङ्ग ओसारपसार गर्ने भरिया हुन् । अहिलेसम्म भरियामात्र पक्राउ परेको र मुख्य गिरोहसम्म पुग्न नसकेकै कारण चोरीशिकारी पनि नरोकिएको जिल्ला वन कार्यालयले जनाएको छ । अघिल्लो वर्ष संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित पक्राउ परेका सुर्खेत आग्रीगाउँका देवबहादुर खत्री भरियाको रूपमा काम गर्दै आएका थिए । खत्री अहिले पनि कारागारमा छन्, तर बिनाको तस्करीमा संलग्न मुख्य गिरोह भने फरार नै छ । जेलमा रहेका खत्रीले पनि आफूले कस्तुरी मारेको नभइ अरु कसैलाई पु¥याउन लागेको बयान वन कार्यालयलाई दिएका थिए । सुर्खेतका पछिल्ला यी घटनाले पनि वन्यजन्तुको चोरीशिकारीमा संलग्न मुख्य नाइके नभइ केवल आखेटोपहार ओसारपसार गर्ने भरिया मात्र पक्राउ पर्ने गरेको पुष्टी गरेको छ । भरियाहरूको प्रयोग गरेर तस्करले वन्यजन्तुको तस्करी गर्ने गरेको भन्दै वन कार्यालयले तस्करीमा संलग्न मुख्य नाइकेलाई पक्राउ नपर्दासम्म चोरीशिकारी नियन्त्रण गर्न कठिन हुने बताएको छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७३, बुधबार ०२:५१