विश्वकप छनौट : स्कटल्यान्डविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। १३ ओभरमा नेपालले ५ विकेट गुमाएर ४८ रन बनाएर खेलिरहेको छ । नेपालले पाँच ओभरभित्रै सुरुवाती ४ विकेट गुमाएको थियो ।

ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका हुन्। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भएका हुन्। नाथलाई विटिङघमले एलबिडब्लुको धरापमा पारेका हुन्। यस्तै दीपेन्द्रसि‌ह ऐरी पनि १ रनमै पेभिलियन फर्के। लगत्तै शरद भेषावकरलाई पनि विटिङघमले बोल्ड गरे।

आरिफ शेख पनि २ रनमै आउट भएका छन् । अहिले पारस खड्का र सोमपाल कामी ब्याटिङ गरिरहेका छन्। खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्र्स पार्कमा भइरहेको हो।

प्रतियोगितामा नेपालले दोस्रो खेल खेल्न लागेको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डले भने तेस्रो खेलमा प्रतिस्पर्धा लागेको हो। यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।

बुलावायो मैदानमा जिम्बावेले पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो। यही मैदानमा जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोक्न सफल भयो। त्यसैले पीचको अवस्थाको पूर्वानुमान गर्न कठिन छ। तर दुवै खेलमा स्पिनरले राम्रो प्रदर्शन गरेका छन्। नेपाल र स्कटल्यान्डबीचको खेलमा पनि स्पिनरले राम्रो प्रदर्शन गर्न सक्नेछन्।

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ। सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो।

प्रकाशित मितिः   २४ फाल्गुन २०७४, बिहीबार १४:२३