प्रदेशस्तरीय क्रिकेटमा सुर्खेतको चौथो जीत

सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा सुर्खेतले लगातार चौथो जित हात पारेको छ । शीर्ष स्थानमा रहेको सुर्खेतले बुधवार जाजरकोटलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर जाजरकोटले पहिलो फिल्डिंग गर्ने निर्णय गरेपछि सुर्खेतले ब्याटिंग गरेको थियो । प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको सुर्खेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनायो । सुर्खेतका निश्चल रावलले सर्बाधिक ७० रन जोडे ।

दुई सय १५ रनको लक्ष्य पछ्याएको जाजरकोट १८ दशमलव १ ओभरमा एक सय ३८ रनमै समेटियो । जाजरकोटका सुमन गुरुगंले ४७ र मोविन शाहीले ३१ रन जोड्दा सुर्खेतका ललित प्याकुरेल एक्लैले पाँच विकेट लिए । ७० रन बनाएका सुर्खेतका निश्चल रावल खेलको म्यान अफ दि म्याच बने । लगाचार चार वटा खेल जितेको सुर्खेत ८ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा छ ।