विश्वकप छनौट : नेपाल भोली स्कटल्याण्डसँग भिड्ने

काठमाडौं, २३ फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकाल्दै समूह ’बी’ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग नेपालले बिहीबार प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल खेल्दैछ ।

पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालको बलिङ अपेक्षाकृत हुन सकेन । तर ब्याटिङमा भने नेपालले सुदृढ प्रदर्शन र्गयो । खेलमा आरिफ शेख र सरद भेषावकरले अर्धशत प्रहार गरेका थिए । नेपालका प्रशिक्षक जगट टमाटा पनि पहिलो खेलबाट अनुभव प्राप्त गरेकाले दोस्रो खेलमा दबाबरहित खेल्नेमा विश्वस्त छन् । उनले दोस्रो खेलमा जितका लागि खेल्ने बताए । आइसिसीले नेपाललाई ठूलो टिम विरुद्ध कसरी जित निकाल्ने थाहा भएको विश्लेषण गरेको छ । आइसिसीको विश्लेषणको आधारमा पहिलो दुई खेलमा सानदार जित निकालेको स्टकल्यान्डलाई नेपालले पराजित गरे त्यो सामान्य हुनेछ ।

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ । सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। न्युजिल्यान्डको क्विन्सटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ७ विकेटको क्षतिमा २ सय ४९ रन जोडेको थियो। २ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५९ रन मात्र बनाउन सक्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वा्धिक ३४ रन बटुलेका थिए ।

सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो । पहिलो खेलमा स्कटल्यान्डले नेपालमाथि ३ रनको झिनो अन्तरको जित निकाल्यो । ३६ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २ सय ३५ रन जोडेको थियो । जवाफमा नेपालले ५ विकेटको क्षतिमा २ सय ३२ रन मात्र जोड्न सक्यो । खेलमा नेपालका ओपनर अनिल मण्डलले शतक र कप्तान पारस खड्काले ७० रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन ।

दोस्रो खेलमा नेपाल ९ विकेटले पराजि भयो । पहिले ब्याटिङ गरेको नेपाल १ सय ६७ रनमा अलआउट भयो । खेलमा नेपालका लागि शरद भेषावकले सवैभन्दा बढी ३० रन जोडेका थिए। वर्षाले प्रभावित खेलमा स्कटल्यान्डका लागि १ सय ११ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य स्कटल्यान्डले १ विकेटको क्षतिमा पार गरेको थियो ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७४, बुधबार १७:१२