प्रादेशिक औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन सुरु

सुर्खेत, २२ फागुन ।
सुर्खेतमा कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । सरकारले हरेक प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार केन्द्र सरकारले कर्णाली प्रदेशका लागि सुर्खेतमा औद्योगिक क्षेत्र स्थापनाबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो ।


प्रदेशस्तरीय औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली सुर्खेत आइपुगेको छ । उक्त टोलीले औद्योगिक क्षेत्रका लागि प्रस्ताव गरिएको लेकवेशी नगरपालिकाको साटाखानीमा स्थलगत अवलोकन गरेको हो । औद्योगिक क्षेत्रका लागि यसअघि नै स्थानीय रानीचौतारी र खाँडदेवी सामुदायीक वनले जग्गा दिने निर्णय गरिसकेका छन् । सामुदायीक वनको सोही जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम थालिएको हो ।
जग्गा छनौट भएको करिब डेढ वर्षपछि औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढेको छ । सम्भाव्यता अध्ययनको काम सुरु भएसँगै अब औद्योगिक क्षेत्र स्थापनाको काम सुरु हुने भएको हो । औद्योगिक क्षेत्रका लागि प्रस्ताव भएको क्षेत्रको भौर्गभिक तथा सम्भाव्यता अध्ययनका लागि उद्योग मन्त्रालयले प्राविधिक टोली सुर्खेत पठाएको हो । यो टोलीले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त छ वा छैन भन्ने विषयमा अध्ययन गर्नेछ । प्राविधिक टोलीको प्रतिवेदनका आधारमा सरकारले यसबारेमा थप निर्णय लिनेछ । सम्भाव्यता अध्ययनको प्रतिवेदनपछि मात्र यसको डीपीआरको प्रक्रिया थालिनेछ । सरकारले औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेपछि सुर्खेतमा नै स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले पहल थालेको थियो ।
संघको पहलमा नै जिल्लामा सर्वदलीय सहमति जुटेको थियो । उक्त सहमति अनुसार नै सामुदायिक वनहरूले औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने एक हजार विगाह जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए । औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको छ । यही क्षेत्रमा प्राविधिक टोलीले जग्गाको नाप नस्सा, भौगोलिक संकेत, वातावरणिय क्षेती र भौर्गभिक अध्ययन पनि गर्ने भएको हो । सम्भाव्यता अध्ययनका लागि ग्रीन राजदेवी कन्सटलटेन्सी काठमाडौंले जिम्मा पाएको छ । यही कम्पनीले स्थलगत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
प्राविधिक टोलीले स्थानीय बासिन्दाको सहयोगमा सम्भाव्यता अध्ययन गरिने जनाएको छ । टोलीका सदस्यसमेत रहेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका इन्जिनियर अमृत शाहीले आफूहरूले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्ने बताए । उनका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनपछि मात्र डीपीआरको काम सुरु हुनेछ । सम्भाव्यता अध्ययनको काम सुरु भएपछि स्थानीय बासिन्दा हर्षित बनेका छन् । यस्तै आफूहरूले सामुदायिक वनको जग्गा उपलब्ध गराएको भन्दै औद्योगिक क्षेत्र स्थापनाको काम तीव्र गतिमा हुनुपर्ने बताए । खाँडदेवी सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टीकाराम छन्तेलले भने, ‘सम्भाव्यता अध्ययन सुरु भयो, यसले हामी हर्षित छौं । अब काम तीव्र गतिमा हुनुपर्छ, स्थानीयलाई रोजगारी र अवसरमा अग्राधिकार पनि होस् ।’
औद्योगिक क्षेत्रका लागि सम्भाव्यताको
काम सुरु भएपछि सुर्खेत उद्योग वाणिज्य संघले पनि अब कामले गति लिने अपेक्षा लिएको छ । संघका उद्योग उपाध्यक्ष वासुदेव शर्माले भने, ‘यो कर्णाली प्रदेशकै लागि गौरबको विषय हो, हाम्रो प्रदेशमा ठूला उद्योग नै छैनन् । अब यो औद्योगिक क्षेत्र स्थापना भएमा रोजगारी सिर्जना हुन्छ, यसले यहाँको गरिबी अन्त्य गर्न ठूलो सहयोग पुग्नेछ ।’ औद्योगिक क्षेत्रका लागि छनौट भएको स्थलमा पर्याप्त पानीको स्रोत रहेको, राजमार्ग नजिक रहेको र विद्युत विस्तार गर्न पनि सहज भएकाले कुनै समस्या नरहेको उनको भनाइ छ । सुर्खेतमा यो औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक जग्गा छनौट गर्न संघले नेतृत्वदायी भूमिका निर्वाह गरेको
थियो । संघकै पहलका कारण जग्गा उपलब्ध गराउन सहज भएको थियो ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रका कार्यालय प्रमुख किशोरकुमार पाण्डेले सम्भाव्यता अध्ययनको प्रतिवेदन सकारात्मक आएका औद्योगिक क्षेत्र स्थापनको बाँकी काम अगाडि बढ्ने बताए । उनले भने, ‘सम्भाव्यता अध्ययनको काम सुरु भयो, अब अन्य प्रक्रियाहरू पनि अगाडि बढ्छन् । प्राविधिक टोलीको प्रतिवेदनले उपयुक्त छ भनेमा, प्रस्तावित क्षेत्रमा नै औद्योगिक क्षेत्र स्थापना गर्न सरकारलाई बाटो खुल्छ ।’ जग्गा छनौट भएको डेढ वर्षपछि भए पनि कामको प्रक्रिया सुरु भएको भन्दै उनले अब काम हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७४, बुधबार १५:०३