दैलेखको पेट्रोलियम उत्खनन् गर्ने मन्त्रीको प्रतिवद्धता

दैलेख, २३ फागुन । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दैलेखमा रहेको पेट्रोलियम उत्खनन् गर्ने प्रतिवद्धता जनाएका छन् । आज दैलेख पुगेका मन्त्री भण्डारीले प्रदेश सरकारले प्राथमिकतामा राखेर दैलेखको पेट्रोलियम उत्खनन् गर्ने बताए ।

देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला मात्रै ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि खोजि गर्ने प्रवृतीलाई प्रदेश सरकारले अन्त्य गर्ने मन्त्री भण्डारीको भनाइ थियो ।

नाकाबन्दीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार भएको समयमा दैलेखको पंचकोशी क्षेत्रका खोला र भिरबाट निश्किएका ग्यास र पेट्रोलहरुको तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेले दैलेखमा आएर एक महिनाभित्र उत्खनन् प्रकृया सुरु हुने बताएका थिए । खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन् गर्न सम्भावित क्षेत्र भएको पुष्टि समेत गरिसकेको छ । मन्त्री भण्डारीले अहिले रोकिएको उक्त कार्यलाई प्रदेश सरकारले अघि बढाउने बताए ।

प्रदेशको समृद्धिका लागि आवश्यक स्रोतहरुको पहिचान गरी तिनको सदुपयोग गर्न सरकार गम्भिर रहेको उनको भनाइ थियो । ५२ प्रतिशत जनसंख्या गरिबिको रेखामुनी रहेको कर्णाली प्रदेशमा चूनौतीहरुको चाङबाट सम्भावनाहरुको खोजी भइरहेको उनले बताए । कर्णाली प्रदेशमा हाइड्रोपावर संचालन र पर्यटन क्षेत्रको विकास गर्न सकेमात्र समुद्ध प्रदेश बनाउन सकिने मन्त्री भण्डारीको भनाइ छ ।
दैलेखका नागरिकले मन्त्री भण्डारीलाई पेट्रोलियम उत्खनन्, पर्यटनमा लगानी लगायत औद्योगिक विकासलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।