कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं, २३ फागुन । नेपालको तेश्रो राष्ट्रपति पदका लागि नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईविच प्रतिस्पर्धा हुने भएको हो । एमालेले भण्डारीलाई नै राष्ट्रपतिको उमेद्वार बनाउने निर्णय गरिसकेको छ ।

राष्ट्रपतिको उम्मेदवार बन्न लागेका भण्डारी र राइ कुनैबेला दुबै भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी थिए ।

नेकपा (एमाले) स्थायी कमिटिको बैठकले मंगलबार राती वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लगत्तै कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले भोजपुरकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी शहीद देवनसिंह राईकी छोरी हुन् । देवानसिंह २०१५ सालमा सांसदमा निर्वा्चित भएर बिपी कोइराला नेतृत्वको सरकारमा उपमन्त्री मन्त्री बनेका थिए। मन्त्री भइसकेका देवानसिंहको पञ्चायत कालमा हत्या गरिएको थियो । देवानसिंह राई विश्वेश्वरप्रसाद कोइरालासँगै सुन्दरीजल जेलमासमेत परेका थिए । सन् १९३९देखि १९४५ सम्म चलेको विश्व युद्धमा लाहुरेका रुपमा लडेका राईले गोरखा सैनिकका रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०३० सालबाट राजनीतिमा आवद्ध राई भोजपुरको छिनामखु गाविस (हालको टेम्केमैयुम गाउँपालिका) जन्मीएकी हुन् । वर्तमान राष्ट्रपति भण्डारी २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मीएकी हुन् । उनी भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उहाँ नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित भएकी थिइन् । कांग्रेस नेतृ कुमारी लक्ष्मीराई पनि भोजपुरको विद्योदय माध्यमिक विद्यालयबाटै राजनीतिमा आकर्षित भएकी हुन् । विद्योदय माध्यमिक विद्यालय भोजपुर सदरमुकाममा पर्दछ ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७४, बुधबार १२:५१