प्रदेशस्तरीय क्रिकेट : सुर्खेतको लगातार तेस्रो जीत

सुर्खेत, २२ फागुन । लगातार तेस्रो जित हात पार्दै सुर्खेत जिल्ला कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट लिगको शीर्ष स्थानमा कायमै छ । मंगलवार भएको खेलमा जुम्लालाई २२ रनले पराजित गर्दै सुर्खेतले आफ्नो विजयी यात्रालाई कायम राखेको छ । उसले प्रतियोगितामा सबैभन्दा बढी ६ अंक जोडेको छ ।

टस जितेर पहिलो ब्याटिंग गरेको सुर्खेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो । उसका लागि रविन्द्रजंग शाहीले ४७ र टेक सलामीले ३८ रनको योगदान गरे । बलिंगतर्फ जुम्लाका मनोज भारतीले चार विकेट लिएका थिए ।

एक सय ७८ रनको लक्ष्य पछ्याएको जुम्लाले पुरै २० ओभर खेलेर सात विकेटको क्षतिमा एक सय ५५ रन मात्रै बनाउन सक्यो । जुम्लाका सुवर्ण शाहीले ३७ र जितेन्द्र शाहीले ३२ रन बनाए । ४७ रन बनाउनुका साथै दुई विकेट लिन सफल रविन्द्रजंग शाही खेलको म्यान अफ दि म्याच बने ।
त्यसैगरी मंगलवार नै भएको दोस्रो खेलमा रुकुमले सल्यानलाई पराजित गरी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सल्यानलाई नौं विकेटले पराजित गर्दै रुकुमले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको सल्यानले ११ दशमलव ३ ओभरमा सबै विकेट गुमाइ ३३ रन मात्रै बनाउन सक्यो । सल्यानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

रुकुमका विवश गिरीले चार तथा विजय विष्ट र दिनेश पुनले समान तीन विकेट लिएपछि सल्यान ३३ रनमै समेटिएको हो । ३४ रनको सामान्य लक्ष्य रुकुमले ७ ओभरमा एक विकेट गुमाएर भेटयो । उक्त खेलमा सल्यानका दिवस गिरी म्यान अफ दि म्याच भए ।

प्रतियोगिता अन्तर्गत बुधवार तीन वटा खेल सञ्चालन हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए । उनका अनुसार पहिलो खेलमा दैलेख र सल्यान, दोस्रो खेलमा जुम्ला र रुकुम तथा तेस्रो खेलमा सुर्खेत र जाजरकोटले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७४, मंगलवार १७:५७