कर्णाली प्रदेशस्तरीय क्रिकेट : सुर्खेत शीर्ष स्थानमा
सुर्खेत–कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुर्खेतले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार दैलेखलाई ७ विकेटले पराजित गर्दै सुर्खेतले प्रतियोगितामा दोस्रो जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको दैलेखले २० ओभरमा ९ विकेट गुमाएर एक सय ९ रन बनाउन सफल भयो। एक सय १० रनको लक्ष्य सुर्खेतले ३ विकेट गुमाएर पूरा गर्यो । उसले ११ दशमलव ३ ओभरमा निर्धारित लक्ष्य पूरा गर्दै प्रतियोगितामा आफ्नो विजय यात्रालाई जारी राखेको हो । सुर्खेतका लागि रविन्द्रजंग शाहीले सर्वाधिक ४० रन बनाए। उनले पहिलो खेलमा सल्यान विरुद्ध अर्धसतक पूरा गरेका थिए ।
खेलमा तीन विकेट लिनुका साथै ३४ रन बनाएका सुर्खेतका टेक सलामी म्यान अफ दि म्याच बनेको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।
त्यसैगरी सोमबार नै भएको दोस्रो खेलमा सल्यानले जाजरकोटलाई ७० रनले पराजित गरेको छ। सल्यानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३० रन बनायो। जाजरकोट १४ दशमलव २ ओभरमा ६१ रनमा सीमित भएपछि सल्यान विजयी भएको हो। ३५ रन बनाउनुका साथै २ विकेट लिएका सल्यानका दिवान पुन म्यान अफ दि म्याच बने।
प्रतियोगिताका पाँच वटा खेल सकिदा सुर्खेत ४ अंकसहित पहिलो स्थानमा छ भने सल्यान, रुकुम र जाजरकोटको समान २(२ अंक छ। दैलेख र जुम्लाले भने जित हात पार्न सकेका छैनन्।
प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार १४:४७
साझा बिसौनी ।