यसरी बनाउन सकिन्छ कर्णालीलाई समृद्ध
प्रकाश अधिकारी
वडो कठिन एवम् संघर्षपूर्ण प्रश्रव पीडाबाट कान्छो प्रदेशका रूपमा जन्मिएको हो, कर्णाली प्रदेश । जन्मिंदा सबैभन्दा कान्छो प्रदेशका रूपमा जन्मिए पनि न्वारनमा भने सबैलाई उछिन्दै कर्णाली नाम पाएको यो प्रदेशलाई अब ताते–ताते गर्दै समृद्धिको गन्तव्यसम्म बेतोडले पु¥याउने मुख्य अभिभारा हाम्रो काँधमा आइपुगेको छ । लडेरै भएपनि फिर्ता ल्याइएको यो भू–भागलाई हामी कर्णाली प्रदेशका रूपमा नामाकरण गर्ने मनस्थिति पहिले नै बनाइसकेका थियौं । त्यसैले पनि प्रदेशसभाले आंशिक असहमतिका बीच प्रदेशको नाम कर्णाली प्रदेश राख्ने निर्णय गर्नु हामीले विगतमा निर्वाह गरेको भूमिकाको कारण पनि हो । किनकी, सुर्खेत उद्योग वाणिज्य संघले २०७३ मंसिर २३ देखि वीरेन्द्रनगरमा कर्णाली एक्सपोका नाममा महोत्सव सञ्चालन गर्दाखेरी नै यो नाममा सर्वस्वीकार्यताको आभाष मिलिसकेको थियो । वर्षौंदेखि कर्णालीले भोग्दै आएको विकराल परिस्थितिका कारण ठेस लागेको कर्णालीको आत्मसम्मानलाई उचो बनाउने एक मात्र उद्देश्यले हामीले यो कदम चालेका थियौं ।
‘कर्णाली’ भन्नासाथ अहिलेपनि धेरैका मस्तिष्कमा रोग, भोक, शोक, गरिबी, अशिक्षा, पछौटेपन र कहाली लाग्दो दैनिकी अनि दूरावस्थाको टिठलाग्दो तस्वीर स्वतः बन्छ । जुन अस्वभाविक र असामान्य पनि होइन । सदियौंदेखि यही र यस्तै पर्याय बोकेको कर्णालीको पहिचान र अवस्थालाई अब बदल्नुपर्ने महŒवपूर्ण जिम्मेवारी अनि ऐतिहासिक चुनौतीको पहाड छिचोल्ने लामो यात्राको ‘जिरोप्वाइन्ट’मा हामी उभिएका छौं । अभाव र चुनौतीको अक्करे पहाडहरूलाई छिचोलेर हुन्छ या त्यही पहाडको छाति चिर्दै सुरुङ्ग मार्ग बनाएर हुन्छ, यो प्रदेशको समृद्धिको मार्ग प्रशस्त नगरी हाम्रो पुस्तालाई धरै छैन । आप्mनै किसिमको भौगोलिक, सामाजिक, सांस्कृतिक, जैविक अनि आर्थिक विविधता बोकेको यो प्रदेशको सर्वांगीर्ण विकासका लागि कुनै आयातित मोडेलको कपी पेष्ट गर्नुभन्दा आप्mनै मौलिक खालको खाका र खाँचा कोर्न नितान्त जरुरी छ । यस प्रदेशको धरातलीय यथार्थलाई आत्मसात् गर्दै सामथ्र्यको पहिचान एवम् समुचित प्रयोग गरेर मात्रै हाम्रो अगाडिको चुनौतीलाई अवसर अनि अवसरलाई परिणाममा परिणत गर्न सफल भइन्छ ।
कर्णालीको छाति (भूगोल) जति ठूलो र फराकिलो छ यसका चुनौती पनि उत्तिकै ठूला अनि समस्या पनि उत्तिकै फराकिला छन् । भूगोलको हिसावले यो प्रदेश अरु सबैभन्दा ठूलो छ, भने प्रतिव्यक्ति आम्दानीका हिसाबले सात नम्बर प्रदेशभन्दा मात्र अगाडि छ । अरु सबै सूचकमा (कम्तीमा अहिलेसम्म) अरु ६ वटै प्रदेशभन्दा यो प्रदेश कमजोर देखिन्छ । देशको कूल क्षेत्रफलको २१ दशमलब ६६ प्रतिशत हिस्सा ओगटे पनि यो प्रदेशको मानव विकास सूचकांक शून्य दशमलब ४०९ रहेको यस प्रदेशको साक्षरता दर ६५ प्रतिशत अर्थात् देशको कूल साक्षरता दरभन्दा २३ दशमलब ६ प्रतिशतले कम छ । यस्तै, कर्णाली प्रदेशको औसत आयु करिब ६० वर्षमात्र छ जो देशको औसत आयुभन्दा ११ वर्षले कम हो । यस प्रदेशमा प्रतिव्यक्ति वार्षिक आय करिब ८० हजार रूपैयाँ छ, जो देशको औसत प्रतिव्यक्ति वार्षिक आयअन्दा ७० हजार रूपैयाँले कम देखिन्छ । कुपोषण, बाल मृत्यु दर र मातृ मृत्यु दर पनि यस प्रदेशमा अरु प्रदेशको भन्दा बढी नै छ । यी यस्ता केही तथ्यांक र आँकडालाई दाँज्ने हो भने निश्चय पनि यो प्रदेश अन्य प्रदेशको तुलनामा आर्थिक, सामाजिक र राजनीतिक हिसाबले कुपोषित जस्तो देखिन्छ, कमजोर देखिन्छ, यथार्थमा भन्ने हो भने छ पनि ।
त्यसो भए के अब यिनै आँकडा र तथ्यांकलाई मात्र हेरेर थै थै गरेर बस्ने त ? के हामी अभाव र चुनौतीकै पहाडले थिचिएर बस्ने त ? के हामी सधैं गरीब मात्रै भइरहने ? सधैं माग्ने र सधैं अर्काको मुख ताक्ने मात्रै भइरहने त ? हामीसँग समस्या मात्रै छन् ? समाधानका उपाय र सम्भावना छैनन् ? निश्चय पनि अब हामी सबैले घोत्लिएर सोच्नुपर्ने बेला भइसकेको छ । खासगरी अझ निजी क्षेत्रको नेतृत्व गर्ने संस्थाको हैसियतमा जिल्लाका हरेक उद्योग वाणिज्य संघहरूले सोच्नुपर्ने बेला भइसकेको छ । हिन्दीमा एउटा भनाइ छ, देर से आए पर वक्त पर पहुँचे । अर्थात् हामी ढिला भएका छौं, तर एकदम सही समयमा आप्mनो प्रदेशको समृद्धिका लागि तम्सिएका छौं, जागेका छौं । माथि उल्लेख गरिएका आँकडा र तथ्यांकले पक्कै पनि हामीलाई तुलनात्मक रूपमा कमजोर देखाउँछन् । यो आँकडा र अवस्था किन पनि आयो भने विकासका न्यूनतम वा आधारभूत आवश्यकता मानिएका पूर्वाधारहरू सडक र विद्युत पुग्न नसकेका थुप्रै जिल्ला र ठाउँहरू यसै प्रदेशमा छन् । सडक पुगेका जिल्लामा राम्रो पक्की सडक पुग्न सकेको छैन भने हुम्ला र डोल्पामा कहिले सडक पुग्ने हो, कहिले गाडी पुग्ने हो त्यो अझैं यकिन छैन ।
साविक मध्यपश्चिम हुँदासँगै रहेका बाँके, बर्दिया र दाङ जिल्ला पछिल्लो समयको पुनर्संरचनामा छुट्टिएसँगै दक्षिणी नाकाहरू पनि छुट्टिएपछि धेरैलाई चिन्ता र पिरलो बनेको छ । तर हामीसँग उत्तरी नाका खुलाउने र त्यहाँबाट अधिकभन्दा अधिक फाइदा लिनसक्ने अवसर प्रशस्त रहेको कुरामा धेरैको ध्यान गएको छैन । त्यसैले नै हामीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ सरकारी अधिकारीहरू समक्ष उत्तरी नाकाहरू खुलाउनका लागि पहल गर्न झक्झक्याइ रहेका छौं । चीनसँग जोडिएका नाका खोल्नु हाम्रो साझा अनि पहिलो प्राथमिकता हुन नितान्त जरुरी छ । अब गठन हुने प्रदेश सरकारले केन्द्र सरकारसँगको समन्वयमा यो कार्यलाई तीव्रतापूर्वक अघि बढाउनुपर्छ, यसका लागि निजी क्षेत्रले निरन्तर दबाबमूलक भूमिका निर्वाह गरिरहन जरुरी छ । चुनौतीकै गर्भबाट अवसरलाई उधिनेर, सम्भावनाहरूलाई पहिल्याएर समृद्धिको मार्गमा हिँड्ने हैन चम्किएर लम्किने बाध्यता हाम्रा सामू छ ।
हामीलाई प्रकृतिले दिएका अमूल्य स्रोतसाधनको खोजखन्तर, पहिचान, अन्वेषण र समुचित सदुपयोग गर्न सकिए आगामी दशकमा यो प्रदेशलाई आत्मनिर्भर मात्र होइन राष्ट्रिय अर्थतन्त्रमा समेत महŒवपूर्ण योगदान पुर्याउने प्रदेशका रूपमा स्थापित गर्न सकिन्छ । हाम्रै प्रदेशमा पाइने करिव एक हजार प्रजातिका बहुमूल्य जडिबुटी, खानी खनिज, नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना, ६ सय मेगावाट क्षमतको नलसिंहगाढ, एक सय १० क्षमताको ठूलीभेरी लगायतका साना ठूला जलविद्युत आयोजना हाम्रो समृद्धिको सपना पूरा गर्ने बलियो आधारका रूपमा रहेका छन । दैलेखको शिरस्थान (ज्वाला) मा एलपी ग्यासको सम्भावना प्रबल देखिनु हाम्रो लागि सकारात्मक कुरा हो । त्यसको अन्वेशषणको बाँकी काम सम्पन्न गरी उत्खनन् र वितरणतर्फ प्रदेश सरकारको ध्यान यथाशीघ्र आकृष्ट हुन जरुरी छ । खानी खनिजकै कुरा गर्ने हो भने सुर्खेतको चौकुने र लखरपाटामा रहेका चुनढुङ्गा खानी हाम्रा लागि समृद्धिको खजाना हुन । सुर्खेत लगायत आसपासका जिल्लाहरूमा प्रशस्तै पाइने फलाम, सुन, तामा, चुन ढुङ्गा, कोइला, काइनेट, स्टोन, स्लेट आदिको उत्खनन्, अन्वेषण, प्रशोधन गर्ने उद्योग स्थापना गर्न सकिए कसले भन्छ हामीलाई कमजोर र गरीब ?
पर्यटनका क्षेत्रमा कुरा गर्ने हो भने ऐतिहासिक तथा धार्मिक महŒवका काँक्रेविहार, दैलेखको पञ्चकोशी, प्रकृतिको अनुपम उपहार मुगुको रारा र डोल्पाको शे–फोक्सुण्डो अनि तिब्बतको मानसरोवरसम्म पुग्ने रुटलाई मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्दै भेरी र कर्णालीमा ¥याफ्टिङ, पायकपर्ने ठाउँमा बञ्जी जम्पिङ तथा अन्य हेर्नलायक ठाउँहरूलाई साहसी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने हो त्यसबाट व्यापक फाइदा लिन सकिन्छ भन्ने कुराको उदाहरण पछिल्लो समय सुर्खेत हुँदै रारा र मानसरोवर पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचोले प्रमाणित गरिसकेका छन् । झन् सुर्खेतको काँक्रेविहारदेखि दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथ हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने गरी कर्णाली सर्किट बनाउन सकिए अधिकांश आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा ‘फस्र्ट डेस्टिेशन’ समेत हुनसक्छ ।
भौगोलिक विकटता र भोकमरीको पर्याय बनेको यो प्रदेशमा खाद्यान्न उत्पादनको सम्भावना कम भए पनि कर्णालीका सबै जिल्लालाई स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगमा उच्च मूल्य भएका कृषिवस्तुको बजारीकरण गर्ने प्रयासहरूलाई हेर्ने हो भने अब भोकमरीको चपेटामा कोहि पिल्सिन नपर्ने शुभ संकेतहरू पनि देखिएका छन । सुर्खेत लगायत आसपासका जिल्लाहरूमा उत्पादित अदुवालाई प्रशोधन गरी भारत हुँदै युरोपेली बजारसम्म पु¥याउन सकिएको दृष्टान्तलाई मान्ने हो भने हामीसँग अझैं पनि त्यस्ता थुप्रै अर्गानिक कृषि उपजहरू छन् जसलाई हामी अन्तर्राष्ट्रिय बजारमा बेच्नसक्छौं, त्यसपछि हामीलाई परनिर्भर हुन जरुरी हुनेछैन । तर त्यसका लागि यस प्रदेशमा रहेको जल, जंगल र जडिबुटीको सदुपयोग गर्दै पशु व्यवसाय, स्याऊ, सुन्तला, ओखर, अदुवा, टिमुर आदिलाई व्यवसायिक रूप दिनसक्ने गरी क्षमता र दक्षता अभिवृद्धि गराउन टड्कारो आवश्यक देखिन्छ । यसखालको सीपमा आधारित व्यवसायिक शिक्षा कम्तीमा
प्रान्तीय र स्थानीय सरकारले प्राथमिकतामा राखेर कार्य योजना बनाउने र माध्यमिक तहसम्म कम्तिमा पठनपाठनको व्यवस्था गर्नुपर्छ । यस प्रदेशमा रहेको विश्वविद्यालय र क्याम्पसहरूमा पर्यटन, हर्बल, फरेष्टुी, लाइभ स्टक, आदि जीवनोपयोगी विषयको अध्ययन अध्यापन र अनुसन्धान गर्न सकिए आर्थिक प्रगति पथमा दरिलो खुट्टा टेक्न सकिन्छ ।
सुन्दा र हेर्दा यी सम्भावनाहरू अति काल्पनिक र अति महŒवांकाक्षी पनि छैनन् । दृढ ईच्छा शक्ति, र सबल नेतृत्व हुने हो भने यसमा असम्भव केही पनि छैन । तर यी सम्भावनालाई समृद्धिमा परिणत गर्न हरेक काम रातारात र हतारमा गरिहाल्नुपर्छ भन्ने पनि होइन, त्यसरी हुने विषयपनि होइन यो । बरु दीर्घकालीन योजना, स्पष्ट दृष्टिकोण र इमान्दार प्रयासका साथ हरेक तीन या पाँच वर्षको फरकमा एउटा मात्र ठूलो परियोजना सम्पन्न गर्न सकियो भने पनि हामीले देखेको समृद्धिको सपना हाम्रै पालामा पूरा हुनेछ र आउँदो पुस्ताले हामीलाई चीरकालसम्म सम्मान अनि स्मरण गरिरहने छ ।
(लेखक सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।)
साझा बिसौनी ।