‘बजेट छैन’ भन्दै धुम्रपान विरुद्धको दिवस मनाइएन

smokingदलसिंह गिरी
कालिकोट, १८ जेठ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक बर्ष आजकै दिन मे ३१ तारिखमा मनाईने विश्व धुम्रपान विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाईएपनि कालिकोटमा भने यो बर्ष कुनै कार्यक्रम गरिएन । हरेक बर्ष जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लामा मनाईने यो दिवस यो वर्ष स्वास्थ्य विभागबाट कुनै आर्थिक ब्यवस्थापन नभएको कारण मनाउन नसकिएको सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका फोकलपर्शन भानुभक्त बरालले बताए ।
धुम्रपानबाट स्वास्थ्यमा हुने खतराको बारेमा जनचेतना जगाउन यो बर्ष नेपालभर मनाइए पनि कालिकोटमा आर्थिक अभाव देखाउदै मनाइएको छैन । डब्लुएचओका अनुसार धुम्रपान सेवनकै कारण विश्वमा ६० लाख मानिसहरुको अकालमै ज्यान जाने गरेको छ । एक अर्ब मानिसले धुम्रपान सेवन गर्ने गरेको पाइन्छ ।
धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनी सात हजारलाई क्षयरोगी र २७ हजारलाई अर्वुद रोगीहरु देखा पर्ने गरेको र हरेक बर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७३, मंगलवार १२:४९