बुलबुलेमा डुङ्गा सञ्चालन, पर्यटन प्रवद्र्धनको ‘कोशेढुङ्गा’

3साझा बिसौनी संवाददाता
सुर्खेत, १७ जेठ ।
‘सुर्खेत बुलबुल ताल, मै सानो हुनाले छुट्यो मायाजाल’ कुनैबेला यही गीत सुनेपछि धेरैजना बुलबुले ताल हेर्न पुग्थे । त्यहाँ पुगेपछि गीतमा भनिए जस्तो र छापामा लेखिएजस्तो नहुँदा पर्यटकहरू निराश भएर फिर्ता हुन्थे । क्षेत्रफल ठूलो भए पनि मनोरञ्जन गर्ने र हेर्न लायक केही नहुँदा पर्यटकहरू फेरि फर्किएर बुलबुलेमा आएनन् । तर अब यो सबै विगतमा सीमिति भएको छ ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको पर्यटकीय स्थल बुलबुले तालको सुन्दरता थपिएको छ । धमिलो पानी, फोहोर र झारपातले भरिएको त्यही बुलबुले तालमा डुङ्गा चल्न थालेका छन् । बुलबुले उद्यानमा रङ्गरोगनको काम सुरु भएको छ । गेट निर्माण र बिजुली बत्ती विस्तार भएको छ । बुलबुलेको सही व्यवस्थापन नभएकै कारण पर्यटकहरूको संख्यामा कमी आउँदा जिल्लाकै समग्र पर्यटनमा धक्का पुगेपछि सरोकारवालाहरू जुर्मुराएका हुन् । सोही क्रममा जिल्लाकै प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा सोमवारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको हो । बुलबुले तालमा डुङ्गा सञ्चालनमा आएसँगै जिल्लामा पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
बुलबुले उद्यानको संरक्षण गर्दै आएको सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा सञ्चालनमा ल्याएको हो । सोमवार एक समारोहकाबीच नगर विकास समितिका अध्यक्ष ध्रुवकुमार चपाईंले डुङ्गा सञ्चालनको उद्घाटन गरे । पहिलो चरणमा काठका चार वटा डुङ्गा सञ्चालनमा ल्याइएको छ । विस्तारै डुुङ्गाको संख्या थप गरिने भन्दै नगर विकास समितिले अब बुलबुलेको सुन्दरता पनि बढ्ने जनाएको छ । नगर विकास समितिका अध्यक्ष चपाईंले भने, ‘अब बुलबुले पहिलाको जस्तो हुँदैन, यहाँ पर्यटकको आगमन वृद्धि हुनेछ । डुुङ्गा चलेपछि बुलबुलेको मुहार फेरिएको छ, यसले आम्दानी पनि हुनेभयो ।’ बुलबुले ताल सुर्खेतको पर्यटन विकासको कोशेढुङ्गा बन्ने भन्दै उनले यसको विकास र संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे । करिब ३२ विगाह क्षेत्रफलमा फैलिएको बुलबुले उद्यानभित्र घुम्न आउने पर्यटकको सुरक्षाका लागि प्रहरी विट स्थापना गर्न उनले आग्रह गरे । डुुङ्गा सञ्चालनमा आएपछि यहाँका पर्यटन व्यवसायीहरू समेत उत्साहित बनेका छन् ।
अब बुलबुलेमा घुम्न आउने पर्यटकले डुुङ्गा चढेर मनोरञ्जन लिन सक्नेछन् । डुुङ्गा चढ्नका लागि विद्यार्थीको लागि १० र अन्य सर्वसाधारणहरूका लागि प्रतिव्यक्ति १५ रूपैयाँ शुल्क तोकिएको छ । विकास र संरक्षणको अभावमा अलपत्र परेको बुलबुले तालमा डुुङ्गा सञ्चालन भएपछि यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका हुन् । साथै उनीहरूले यसलाई निरन्तरता दिन र उद्यानभित्र थप सुविधाहरू थप्न आग्रह गरेका
छन् । पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्मा भन्छन्, ‘बुलबुलेमा डुङ्गा सञ्चालनमा आउनु पर्यटनका लागि आधारस्तम्भ हो, यसले जिल्लाको पर्यटन विकासमा टेवा पुग्नेछ ।’ बुलबुले सुर्खेतको गहना भन्दै उनले अहिले ताल सानो भएकाले अब विस्तार गर्नुपर्ने सुझाव दिए । तालको आकार विस्तार भएमा थप सुन्दरता बढ्ने बताउँदै उनले थपे, ‘अब जिल्लाको पर्यटन विकासमा सबैको सहकार्य आवश्यक छ, हामीले पनि बुलबुलेमा रङ्गरोगनको काम गर्नेछौं ।’ बुलबुलेको विकास गर्न सके जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । नेपाल पत्रकार महासंघ सुर्खेतले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रतिबद्धता जनाए अनुसार नै नगर विकास समितिले डुङ्गा सञ्चालनमा ल्याएको हो ।
बुलबुलेमा लामो समयपछि डुङ्गा सञ्चालन भएपछि सर्वसाधारणहरूले पनि खुशी व्यक्त गरेका छन् । यस्तै सुर्खेत उद्योग वाणिज्य संघले समेत यसले पर्यटन विकासमा सहयोग पुग्ने विश्वास लिएको छ । संघका अध्यक्ष प्रकाश अधिकारीले भने, ‘केही नभएको अवस्थामा डुङ्गा चल्नु सकारात्मक हो, तर अब यत्तिले मात्र जिल्लाको पर्यटन क्षेत्रको विकास हुन सक्दैन । बुलबुलेको गुरुयोजना अनुसार अब व्यवसायिक योजना पनि बनाऔं, तबमात्र पर्यटकहरूको ओइरो लाग्नेछ ।’ पर्यटकले पैसा खर्च गर्न सक्ने गरी बुलबुलेमा पूर्वाधारको विकास र विस्तार गर्नुपर्नेमा उनले जोड दिए । अब बुलबुलेको संरक्षण र विकास सरकारले मात्र गर्न नसक्ने भन्दै उनले निजी क्षेत्रलाई यसको सञ्चालनको जिम्मा दिनुपर्ने बताए । साथै आफूहरू जिल्लाको पर्यटन विकासका लागि प्रतिबद्ध रहेको बताउँदै उनले बुलबुलेको विकासका लागि अन्तर्राष्ट्रिय लगानी भिœयाउन तयार रहेको समेत जानकारी दिए । डुङ्गा सञ्चालनलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ । डुङ्गा सञ्चालनबाट प्राप्त भएको आम्दानी बुलबुले उद्यानको विकासमा खर्च गरिने बताइएको छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७३, मंगलवार १०:३५