‘सरकारले दिनुपर्ने सेवा रेडक्रसले दिइरहेको छ’

लिलाराम सुवेदी
संयोजक, सुर्खेत आँखा 
अस्पताल सञ्चालक समिति
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतले सञ्चालन गरेको सुर्खेत आँखा अस्पताल सञ्चालक समितिका संयोजक हुन् लिलाराम सुवेदी । रेडक्रस जिल्ला शाखा सुर्खेतको तीन कार्यकाल मन्त्री र तीन कार्यकाल सभापति पदमा रहेर काम गरिसकेका उनी सुर्खेतमा आँखा अस्पताल स्थापनाका लागि सुरुदेखि नै सक्रिय अभियन्ता पनि हुन् । अहिले उनी आँखा अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन लागिपरेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा रहेर सुवेदीसँग गरिएको कुराकानी ः
सुर्खेतमा आँखा अस्पताल सञ्चालनको सोच कसरी आयो ?
  • सरकारले स्वास्थ्यका क्षेत्रमा लगानी गर्दै आएको छ । गाविसतहसम्म विभिन्न तहका स्वास्थ्य संस्थाहरू स्थापना भइ सञ्चालनमा छन् । तर आँखाको समस्यामाथि भने सरकार गम्भीर भएको पाइएन । जिल्ला तथा क्षेत्रीय अस्पतालहरूमा अन्य रोगका विशेषज्ञ चिकित्सकहरू भेटिन्छन् तर आँखाको भेटिदैनन् । मुलुकमै पनि अँखा अस्पतालहरूको संख्या निकै न्यून छ तर आँखाका बिरामीहरूको संख्या भने अत्याधिक छ । रेडक्रसमार्फत् विभिन्न समयमा विभिन्न स्थानहरूमा आँखा जाँच शिविर सञ्चालन गर्दा यस क्षेत्रमा आँखामा समस्या बोकेर बाँचिरहेका धेरै नागरिकहरू भेट्यौं । त्यसपछि रेडक्रसका साथीहरूबीच जिल्लामै आँखा अस्पताल स्थापना गरेर सञ्चालन गर्नेबारे छलफल भयो । छलफल त विगत धेरै वर्षअघिदेखि भएको हो तर हामीले वि.सं. २०४६ सालदेखि भने काम नै सुरु ग¥यौं । सुरुवातमा सानो आँखा उपचार केन्द्रको रूपमा सुरुवात गरेका थियौं । त्यसलाई विस्तार गर्दै अस्पताल बनाएका छौं ।
अस्पतालबाट कस्ता सेवाहरू प्रवाह भइरहेको छ ?
  • विगतमा हामीले समय–समयमा शिविर आयोजना गर्ने र बाहिरबाट चिकित्सकहरू ल्याएर आँखा जाँच गर्नुका साथै उपचार गर्ने गर्दै आएका थियौं । तर विगत डेढ वर्षदेखि भने हामीले यहींबाट आँखाको जाँच मात्र होइन शल्यक्रिया पनि गर्ने सेवा प्रदान गर्दै आएका छौं । आँखा सम्बन्धी सम्पूर्ण जाँचका साथै शल्यक्रिया र औषधि वितरण यहाँबाट भइरहेको छ, त्यो पनि एकदमै सर्वसुलभ छ ।  यसका साथ–साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न स्थानहरूमा निःशुल्क आँखा जाँच तथा औषधि वितरण शिविरहरू पनि सञ्चालन गरिरहेका छौं ।
यहाँबाट कुन–कुन क्षेत्रका नागरिकहरू लाभान्वित भएका छन् ?
  • सुर्खेतमा अस्पताल हुँदा यहाँका नागरिक बढी लाभान्वित हुने नै भए । यसका साथै मध्य तथा सुदूरपश्चिमका अन्य जिल्लाका नागरिकहरूले पनि अस्पतालमा आएर सेवा लिइरहेका छन् । दैलेख, जाजरकोटदेखि कर्णाली अञ्चलका सबै जिल्ला र सुदूरपश्चिम विकास क्षेत्रका पनि अछाम, डोटी लगायतका केही जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् । विशेष गरी विकट र दुर्गम क्षेत्रका नागरिकहरू लाभान्वित भएका छन् । आँखामा समस्या देखिँदा अब काठमाडौं नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । दैनिक डेढसयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।
अहिले अस्पतालको सुविधा सम्पन्न भवन बनेको छ, स्रोत कसरी जुटाउनुभयो ?
  • यसको भवन निर्माणका लागि स्वीस रेडक्रसले आर्थिक सहयोग गरेको छ । त्यसबाहेक जति पनि स्रोतको आवश्यक पर्छ त्यो आन्तरिक रूपमै जुटाएका हौं । आँखाका विभिन्न रोगहरूको शल्यक्रिया गर्दा आउने शुल्क, औषधिहरूका साथै चश्माको बिक्रीबाट आउने आम्दानी नै हाम्रो स्रोत हो । त्यसैबाट सञ्चालन गरिरहेका छौं । तर सरकारले हामीलाई अहिलेसम्म सहयोग गरेको छैन ।
अस्पतालमा जनशक्ति पर्याप्त छ ?
  • हामीसँग पर्याप्त जनशक्ति छैन । बिरामीहरूको चाप दिन प्रतिदिन बढ्दो छ । कामको चाप हेर्ने हो भने अहिले हामीसँग भएको जनशक्तिले धान्न सकिने अवस्था छैन । तर यति हुँदाहुँदै पनि हामीसँग जनशक्ति थप्नका लागि स्रोत छैन । त्यसकारण जनशक्ति कम हुँदाहुँदै पनि हामीले थप गर्न सकेका छैनौं ।
सरकारी निकायबाट कत्तिको सहयोग पाउनुभएको छ ?
  • सरकारी निकायबाट एक–दुई पल्ट पटके सहयोगबाहेक पाएका छैनौं । जिल्लामा रहेका स्थानीय निकायहरूदेखि केन्द्रसम्म पनि पटक–पटक पहल गरेका छौं तर कुनै ठोस सहयोग सरकारले गरेको छैन । यसले सरकारको बेवास्ता प्रष्ट हुन्छ ।
सरकारसँग कस्तो अपेक्षा राख्नुभएको छ ?
  • सरकारले आँखाको समस्यालाई पनि प्राथमिकतामा राखिदिएको भए हुन्थ्यो । आँखामा हुने समस्याले मान्छेलाई संसार नै देख्न नसक्ने बनाइदिन सक्छ । त्यसैले सरकारले कम्तीमा पनि यसका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन गर्न जरुरी छ । वास्तवमा यस्ता अस्पताल सञ्चालनको जिम्मेवारी सरकारको नै हो । तर सरकारले नगरिरहेको समयमा अन्य सामाजिक संघ–संस्थाबाट हुँदा पनि सरकारले उचित मूल्याङ्कन गर्न नसक्नु विडम्बना हो । यसरी संघ–संस्थाहरूमार्फत् सञ्चालन भएका अस्पतालहरूलाई पनि सरकारले सहयोग गर्न जरुरी छ ।
सम्पूर्ण सुर्खेतवासीहरूलाई के भन्न चाहनुहुन्छ ?
  • सबैभन्दा पहिला त आँखा एकदमै संवेदनशील अङ्ग हो । यसको ख्याल गरिएन भने ज्योति नै गुमाउनुपर्ने अवस्था पनि आउनसक्छ । कुनै समस्या देखिएमा घरमा बस्न हुँदैन । सानो चोटपटक लाग्यो भन्दैमा बेवास्ता गर्दा त्यसले ठूलो रूप लिनसक्छ त्यसैले समयमै अस्पतालमा पुगेर जचाउन र औषधि गर्न अनुरोध गर्दछु । यो आँखा अस्पताल भनेको जनताको अस्पताल हो । जनता आफैले स्थापना गरेको अस्पताल भएकाले यसलाई टिकाईराख्न सबै नागरिकको उत्तिकै महŒवपूर्ण भूमिका रहन्छ । यसका लागि आँखामा समस्या देखिएमा अस्पतालमा आएर उपचार गरेर सहयोग गर्न अनुरोध गर्दछु । त्यसबाहेक अस्पताललाई थप सुविधा सम्पन्न बनाउनका लागि आफ्नो स्वेच्छाले सहयोग गर्न सक्नुहुन्छ भने त्यो पनि गर्न सक्नुहुन्छ ।
प्रकाशित मितिः   २५ चैत्र २०७२, बिहीबार ०६:५८