कर्णाली प्रदेशमा सडक सुरक्षा कार्यक्रम लागू

सुर्खेत, १९ फागुन ।
कर्णालीमा सरकारले राजमार्ग र ग्रामीण सडकहरूलाई मृत्युमार्गबाट समृद्धिको मार्गमा बदल्ने घोषणा गरेको छ । बारम्बार हुने सवारी दुर्घटनाका कारण सयौं नागरिकको ज्यान गएपछि ‘मृत्युमार्ग’ को रूपमा परिभाषित हुँदै आएका यहाँका राजमार्गलाई अब ‘समृद्धिमार्ग’ को रूपमा परिणत गर्ने नीति प्रदेश सरकारले अपनाएको हो । यही नीति अनुसार नै सरकारले प्रदेशभरी नै सडक सुरक्षा कार्यक्रम लागू गरेको छ ।
असुरक्षित सडकका कारण प्रदेशको समृद्धिमा नै असर पुगेको र राजमार्ग तथा सडकहरू मृत्युमार्ग बन्न थालेको निस्कर्ष निकाल्दै प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम लागू गरेको हो । कार्यक्रम लागू भएसँगै अब सवारी दुर्घटना न्यूनीकरण हुने र सडक पनि सुरक्षित बन्ने अपेक्षा गरिएको छ । सडक सुरक्षा कार्यक्रमको शनिवार एकैसाथ कर्णाली प्रदेशका १० जिल्लामा रहेका दुई सय १६ वटै प्रहरी ईकाइबाट सुरुवात गरिएको हो । प्रदेशको राजधानी वीरेन्द्रनगरमा भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो कार्यक्रमको औपचारिक घोषणा गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार यो प्रदेशमा हुने जम्मा मृत्युको १२ प्रतिशत मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ । यस्तै कर्णाली राजमार्गमा वर्षेनी ठूला सवारी दुर्घटना हुँदै आएका छन् । बारम्बार हुने दुर्घटनाका कारण यो राजमार्गलाई मृत्युमार्गको रूपमा परिभाषित गरिएको छ । प्रदेशका अन्य राजमार्ग र सडकहरू पनि सुरक्षित छैनन् । जसका कारण यात्रुले निर्धक्क भएर यात्रा गर्नसक्ने अवस्था छैन भने चालकले पनि आँका चिम्लेर साँघुरा र मर्मत नभएका सडकमा सवारी हाँक्नुपर्ने बाध्यता छ । यही अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले ‘समृद्धिका लागि सुरक्षा’ रणनीति अनुसार सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहाँका राजमार्गलाई मृत्युमार्गबाट बदलेर समृद्धिको मार्ग बनाउन प्रदेशभरी नै अभियान सुरु गरिएको जनाएको छ ।
यहाँका सडक र राजमार्गलाई सुरक्षित बनाउन एक महिनासम्म सचेतनामूलक अभियान सञ्चालने हुनेछ । मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई रोक्न अब राजमार्गमा प्रहरीले नियमित गस्ती गर्नेछन् । यस्तै ट्राफिक नियम पालनामा कडाइ गर्ने, तत्काल फुटपाथ हटाउने, मुख्य सहरमा निश्चित पार्किङ स्थल तोक्ने, सवारी साधनमा जीपीएस जडान गर्ने तथा ग्रामीण सडक र राजमार्गहरूको स्तरोन्नती गरिनेछ । सडक सुरक्षा कार्यक्रमको घोषणा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने,‘सुरक्षा विना समृद्धि सम्भव छैन, समृद्ध प्रदेशका लागि सरकारले सुरक्षालाई पहिलो प्राथमिकता दिएको छ । त्यसको एउटा पाटो सुरक्षित सडक हो, सडक सुरक्षित नहुँदासम्म समृद्धि पनि सम्भावना छैन ।’
सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उनले सडकको स्तरोन्नति गरिने बताए । प्रदेश सरकारले सुरक्षित यात्राका लागि प्रदेशमा थप ट्राफिक प्रहरीको व्यवस्थापन गरिने जनाएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने, ‘कहिलेसम्म ज्यान हत्केलामा राखेर यात्रा गर्ने ? मृत्युमार्गबाट समृद्धिको यात्रा सफल हुन सक्दैन । अब यी मृत्युमार्गलाई समृद्धिको मार्गमा बदल्न जरुरी छ, यसका लागि हामीले काम थालिसकेका छौं ।’ सडक सुरक्षित भए लगानी भित्रिने भन्दै उनले लगानी भित्रिए मात्र समृद्धि सम्भव हुने जनाए । तत्काल प्रदेशमा अपुग रहेको ट्राफिक प्रहरी थप गरिने भन्दै उनले प्रदेश प्रहरीसँग काम गर्नका लागि युवाहरूलाई पनि आव्हान गरिने बताए । देशका
अन्य प्रदेश भन्दा कर्णालीलाई नमुना बनाउने उद्घोष सरकारले गरेको छ । त्यसको पहिलो नमुना प्रदेशलाई सडक दुर्घटनामुक्त बनाउने तयारी थालिएको मन्त्री भण्डारीले बताए ।
यस्तै प्रदेश प्रहरी कार्यालयले दुर्घटना रोक्न अब ट्राफिक नियम पालना नगर्नेलाई कडा कारबाही गरिने जनाएको छ । कार्यलयका एआईजी रणबहादुर चन्दले कर्णाली प्रदेश सुरक्षित प्रदेश बन्ने दाबी गरे । उनले भने, ‘हामीले सुरक्षाको नमुना मोडेल बनाएका छौं, ४० बुँदे कार्यक्रम लागू गरेका छौं । अब सडक दुर्घटना न्यूनीकरण हुनेछन्, अन्य अपराध रोक्न पनि प्रहरी सफल हुनेछ ।’ राजमार्गमा प्रहरीको गस्ती बढाइने र चेकजाँजमा पनि कडाइ गरिने उनको भनाइ छ । सरकारले सुरु गरेको अभियानमा यातायात व्यवसायीहरूले पनि साथ दिने भएका छन् ।
सुर्खेतमा प्रधान कार्यालय रहेको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकाटाले भने, ‘तत्काल सडकको अवस्था सुधार होस्, कर्णाली राजमार्ग २४ घण्टा नै संचालनमा आओस् । हामी सडकलाई सुरक्षित बनाउने अभियानमा साथ दिन तयार छौं ।’

प्रकाशित मितिः   २० फाल्गुन २०७४, आईतवार १६:२४