सुरक्षाका लागि वीरेन्द्रनगरमा ‘कम्यूनिटी साइरन’ जडान गरिंदै

सुर्खेत, १६ फागुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित शहर बनाउने रणनीति अगाडि सारिएको छ । दिनहुँ हुने चोरी, डकैती, लुटपाट र अपराधका घटनालाई न्यूनीकरण गर्न प्रदेश सरकारले विशेष सुरक्षा रणनीति निर्माण गरेको छ । यही रणनीति अनुसार सुरक्षाका लागि वीरेन्द्रनगरमा कम्युनिटी साइरन जडान गर्न लागिएको छ ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त प्रविधि जडान गर्न लागेको हो । शुक्रवार एक समारोहकाबीच साइरन जडान गरिनेछ । उक्त साइरन जडान भएपछि वीरेन्द्रनगरमा अपराधमा कमी आउने अपेक्षा गरिएको छ । साइरन प्रहरीको निगरानीमा रहेनेछ । मन्त्रालयले अब नयाँ प्रविधिमार्फत नगरपालिकामा हुने अपराधिक क्रियाकलापहरूको नियन्त्रण गरिने जनाएको छ ।
प्रदेशको राजधानीको सहर वीरेन्द्रनगरलाई सुरक्षित बनाउनका लागि आधुनिक प्रविधि जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वीरेन्द्रनगरका दुई स्थानमा ‘कम्युनिटी साइरन’ जडान गर्न लागिएको छ । मानिसहरूको बढी चहलपहल हुने र अपराधिक क्रियाकलापको जोखिम मानिएको स्थानमा साइरन जडान गर्न लागिएको हो । मन्त्रालयले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी साइरन जडान गर्दैछ । मानिसहरूको बढी चहलपहल हुने मुख्य बजार क्षेत्र
(वीरेन्द्रनगर–६) र नगरपालिकाकै प्रगतिनगर टोलमा कम्युनिटी साइरन जडान गर्न लागिएको नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारीले बताइन् । साइरन यन्त्र मोबाइल वा फोनमा सेट जडान गरिनेछ ।
साइरन जडान भएको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई कुनै पनि समस्या परेमा उक्त नम्बरमा एसएमएस (सन्देश) गरेपछि साइरन बज्नेछ । नगरलाई सुरक्षित बनाउन जडान गरिने उक्त साइरन वायरलेस भएकाले एक पटकमा ६० जनाको मोबाइलमा एसएमएस जानेछ । जसले गर्दा समुदायमा कुनै अपराध भए वा आपतकालीन अवस्थामा छिमेकीहरूको एकजुट हुनसमेत सहज हुनेछ । कसैको घरमा आगलागी, मृत्यु, प्राकृतिक प्रकोप वा कुनै पनि समस्या भएमा पनि समुदाय र छिमेकीलाई गुहार्न मद्दत पुग्नेछ । जसले गर्दा समयमा आमनागरिकका समस्या समाधानमा सरोकारवाला निकायले काम थाल्नेछ । उक्त साइरन समुदाय र जिल्ला प्रहरी कार्यालयमा एकैसाथ बज्ने भएकाले सामान्य घटनाकोसमेत अनुसन्धानमा सहज हुने प्रदेश प्रहरी कार्यालयका प्रमुख एआईजी रणबहादुर चन्दले बताए ।
साइरन जडित क्षेत्रमा सूचना बोर्डहरू राखेर नागरिकलाई सूचना दिइनेछ । यसरी सूचना राख्ने र साइरनबाट अपराध तथा स्थानीयका समस्याका जानकारी लिने भएकाले अपराधिक क्रियाकलापमा संलग्नहरूको आत्मबलसमेत कमजोर हुने अपेक्षा प्रहरीले गरेको छ । साइरन जडान भएपछि मुख्य बजार क्षेत्र र साइरन जडान गरिएको क्षेत्रमा कुनै पनि अप्रिय तथा अनैतिक क्रियाकलाप नहुने विश्वास लिइएको छ । साइरन कसैले कुनै घरमा बजायो भने टोलभरी नै सुनिने भएकाले नागरिकको सहयोगमा चोरी डकैती तथा अनैतिक क्रियाकलापमा संलग्न व्यक्ति तत्काल नियन्त्रणमा आउने एआईजी चन्दले बताए । उक्त उपकरण जडित क्षेत्रमा कुनै घटना वा समस्या हुनासाथ प्रहरीलेसमेत एक्सन लिनेछ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार उक्त प्रविधिको शुरुवात गर्ने भएका हुन् । आन्तरिक मामिला मन्त्रालयले समृद्धिका लागि शान्ति सुरक्षा रणनीति अनुसार नगरलाई सुरक्षित बनाउने अभियान थालेको हो । मन्त्रालयका अनुसार नगरका अन्य स्थानहरूमा पनि साइरन राखिनेछ । मन्त्रालयले प्रदेशलाई सुरक्षित प्रदेश बनाउन कर्णाली हाइवेमा सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस ट्रयाकर जडान गर्ने भएको छ ।
हाल परीक्षणका रूपमा पाँच वटा निजी र एउटा सरकारी सवारी साधनमा जीपीएस जडान गरिएको छ । जसले गर्दा कुन सवारी साधन कहाँ गुडिरहेको छ भन्ने बारे प्रत्यक्ष जानकारी दिन्छ । उक्त उपकरण जडिन सवारी साधनको निगरानी प्रदेश प्रहरी कार्यालयले राख्ने भएको छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७४, बिहीबार १४:०९