रनिङ्गशील्ड सञ्चालन गर्न रकम अभाव

सुर्खेत, १६ फागुन ।
सुर्खेतमा आयोजना गर्न लागिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता २०७४ सञ्चालन गर्नका लागि आर्थिक अभाव भएको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतले आयोजना गर्न लागेको १० औं राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता सञ्चालनका लागि रकम अभाव भएको समितिले जानकारी दिएको छ ।


प्रतियोगिता सञ्चालन गर्नका लागि २० लाख खर्च लाग्ने समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए । ‘अघिल्लो वर्ष राष्ट्रिय खेलकुद परिषद्ले पाँच लाख बजेट पठाएको थियो’ अध्यक्ष गिरीले भने, ‘तर प्रतियोगिता सम्पन्न गर्न कम्तीमा पनि २० लाख बजेट चाहिन्छ ।’ गिरीले २० लाख बजेट विनियोजन गर्न केन्द्रलाई प्रस्ताव पठाइसकिएको समेत जनाए ।
अध्यक्ष गिरीले भने, ‘जिल्लास्तरिय राष्ट्रपति रनिङ्गशील्ड सञ्चालनका लागि मात्रै १४ लाख ९७ हजार चार सय रूपैयाँ खर्च लाग्छ । त्यसभन्दा अघि निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता गर्नुपर्नेछ, त्यसका लागि मात्रै पाँच लाख ७७ हजार आठ सय बजेट प्रस्ताव गरेका छौं ।’ केन्द्रबाट प्रस्ताव गरिए अनुसार बजेट प्राप्त नभएमा प्रतियोगिता सञ्चालन गर्न रकम अभाव हुने गिरीले बताए । ‘अघिल्लो वर्ष पाँच लाख मात्रै बजेट दिइयो’ उनले भने, ‘नपुग बजेट जिल्ला समन्वय समिति, नगरपालिका, गाविस लगायतसँग मागेर चलाइयो ।’
जिल्ला खेलकुदले जिल्लास्तरीय र निर्वाचन क्षेत्रस्तरीय गरी दुई वटा प्रतियोगिता सञ्चालन गर्दैछ । आगामी चैत २७ देखि २९ गतेसम्म जनता माध्यामिक विद्यालय रानीवासमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता व्यवस्थापन र निर्देशन समितिले नपुग रकम जुटाउन छलफल गरेको भए पनि स्थानीय निकायसँग अहिलेको अवस्थामा पैसा अभाव भएको निश्कर्ष निकाल्दै आर्थिक अभाव हुने जनाएको छ । ‘सबै निकायसँग आग्रह गर्ने नै हो’ जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले भने, ‘हामी सबैको ईज्जतसँग जोडिएकाले आर्थिक अभाव हुन नदिन पहल गर्नेछौं ।’
समितिका सदस्य समेत रहेका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले प्रतियोगिताका लागि सबै पक्षसँग सहयोग माग्नुको विकल्प नभएको बताए । प्रतियोगिता सञ्चालन हुने स्थानीय तहको प्रमुखका हैसियतले चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले स्थानीय निकायसँग यो अवस्थामा बजेट कुनै पनि शीर्षकमा नभएको उल्लेख गर्दै आगामी वर्षको प्रतियोगितामा सहयोग गर्न सकिने बताए । प्रतियोगिताको लागि अन्य तयारी पूरा भएको भए पनि आर्थिक संकट देखिने समितिले जनाएको छ । जिल्लाका ७० विद्यालयहरूको सहभागिता हुने अनुमान गरिएको प्रतियोगितामा एक हजार दुई सय ५० खेलाडीले ६ वटा खेलमा प्रतिस्प्रधा गर्ने बताइएको छ । खेलाडीहरूले भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, उसु लगायत ६ खेलमा प्रतिस्प्रधा गर्नेछन् ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७४, बिहीबार १४:०५