कर्णाली प्रदेश : सरकारले पायो विस्वासको मत

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विस्वासको मत प्राप्त गरेका छन् । आज बसेको संसद वैठकमा उनले दुई तिहाई मत प्राप्त गरेपछि सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको विस्वासको पक्षमा राखेको प्रस्ताव पारित भएको जानकारी दिएका थिए ।

प्रदेशको पहिलो दल नेकपा एमालेको समर्थन मुख्यमन्त्री बनेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता शाहीको पक्षमा एमाले र माओवादी सांसदले मतदान गरेका थिए । संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टीले भने सरकारको विपक्षमा मतदान गरेका थिए ।

यो प्रदेशमा प्रमुख दुई दल एमाले र माओवादी मिलेर सरकार बनाएपछि अन्य दुई दल नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी भने प्रतिपक्षमा बसेका छन् । यी दुवै दलका सांसदले सरकारको विपक्षमा मतदान गरेका छन् । संसदमा कांग्रेसका ६ र राप्रपाको एक मत छ भने एमालेका २० र माओवादी केन्द्रको १३ मत रहेको छ ।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्वासको मत मागेपछि उक्त प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति, योजना र कामका आधारमा सरकारलाई सहयोग गर्ने भएपनि कांग्रेस प्रतिपक्षी दल भएकाले लिखित समर्थन सरकारलाई गर्न नसकिने बताए ।

सरकारलाई मनपरी गर्न नदिन कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सधै खबरदारी गर्ने शाहीको भनाइ थियो । उनले संसदभित्र कांग्रेस सरकारको विपक्षमा हुने बताए ।

राष्टिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले आफ्नो पार्टीले पनि प्रतिपक्षमा बसेर सरकारलाई राम्रो काममा सहयोग र गलत काममा खबरदारी गर्ने बताईन ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७४, मंगलवार १५:१९