खेलकुद विकासमा सरकार र निजी क्षेत्रको भूमिका
गणेश कार्की
भारतमा आफ्ना केटाकेटीलाई पढाइ लेखाइमा ध्यानकेन्द्रित गराउन प¥यो भने एउटा उखान भनिदो रहछ, ‘पढोगे लिखोगे बनोगे नवाब, खेलोगे कुदोगे बनोगे खराब ।’ अर्थात् ‘खेलकुदमा लाग्यौ भने तिमी र तिम्रो भविष्य नै हुन्छ, ठूलो मान्छे बन्नका लागि त पढ्न मात्रै पर्छ’ भनेर केटाकेटीलाई धम्कीपूर्ण भाषामा ‘सम्झाउन’का लागि यो उखानको प्रयोग गरेको सुनिएको छ । हाम्रो समाजपनि यो मनोदशाबाट टाढा छैन । यो मनस्थितिभन्दा फरक छैन हाम्रो मनस्थिति पनि । भारतकै कुरा गर्ने हो भने अधिकांश भारतीयहरू आप्mना सन्ततिलाई खेलकुदमा लगाउनुपर्ने अवस्थामा क्रिकेटभन्दा अरु खेलमा लाग्ने अनुमति सजिलै दिन्छन् जस्तो लाग्दैन । किनकी, भारतीय राष्ट्रिय क्रिकेट टिमका सदस्यहरूले क्रिकेट खेलेरै कारण वार्षिक करोडौं रूपैयाँ आयकर मात्र बुझाउँछन् भने सोचौं आम्दानी कति हुँदो हो । बराबरको आम्दानी गर्छन् । विभिन्न वस्तु तथा सेवाको विज्ञापन गरेवापत आउने पैसा अलग्गै छ । यो कमाइ भने भारतमा कुनै डाक्टर, इञ्जिनियर वा अन्य कुनै ठूलै पदको जागिरेभन्दा धेरै हो । त्यसैले पनि भारतीयहरू आप्mना सन्तानलाई अरु खेलको मैदान वा रिंगमा भन्दा सकेसम्म क्रिकेटकै क्रिजमा उतार्न चाहन्छन् ।
हाम्रोतिर अझैं पनि त्यो सोच पूर्णरूपले विकसित हुन सकेको छन् । कुनै–कुनै अभिभावकले आत्मरक्षाका लागि आप्mना छोराछोरीलाई मार्सल आर्टमा लगाए पनि अन्य खेलमा स्वेच्छाले लगाउने अभिभावकको कमी छ । विदेशमा क्लबहरूले सञ्चालन गर्ने खेलका एकेडेमीहरूमा आप्mना छोराछोरीलाई पाँच सात वर्षको उमेरदेखि प्रवेश गराइ मासिक शुल्कसमेत तिर्न अभिभावकहरू लालायित हुन्छन् भने यहाँ निःशुल्क प्रशिक्षण हुन्छ भनेपनि छोराछोरी पठाउन आनाकानी गर्नुपर्ने अवस्था छ । हाम्रा (सबै चाहीं हैन) अधिकांशजसो अभिभावकहरूलाई के लाग्छ भने, आप्mना छोराछोरी खेलकुदमा लागे भने पढ्दैनन्, बिग्रन्छन् । त्यसैले पनि होला केटाकेटीलाई आशीर्वाद दिने बेला पनि फलाकिन्छ डाक्टर हुनु, वकिल हुनु, इञ्जिनियर हुनु आदि इत्यादि । अभिभावकका ठाउँमा उभिएर हेर्ने हो भने यो जायज र स्वभाविक पनि हो । आखिर खेल्ने किन त ? के का लागि खेल्ने ? कसका लागि खेल्ने ? खेलेर के पाइन्छ ? खेलेकै भरमा जीवन गुजारा गर्न सकिन्छ ? भविष्य सुरक्षित हुन्छ खेलेर ? यावत प्रश्नहरू यक्ष प्रश्न बनेर उभिन्छन् अभिभावकका अगाडि अनि निरुत्तर हुन्छन सबै प्रश्न । किनकी जवाफ दिने आधिकारिक निकाय को हो ? सम्बन्धित खेल संघ हो कि ? जिल्ला खेलकुद विकास समिति हो कि ? राष्ट्रिय खेलकुद विकास समिति हो कि ? नेपाल सरकार, खेलकुद मन्त्रालय ? जवाफ कसैसँग छैन । अनि जुन क्षेत्रमा भविष्य अन्धकार छ भनेर अहिले नै थाहा छ भने त्यही क्षेत्रमा आप्mना सन्ततिलाई जबरजस्ती कसरी त्यो अँध्यारोमा धकेल्न सक्छन् बाबुआमाले ? तरपनि मान्नपर्छ, यस्तो कठिन पारिवारिक, सामाजिक, राजनीतिक अप्ठ्याराहरूका बीच पनि हाम्रा खेलाडीहरू खेल्दिन्छ अनि कहिले काहीं पदक पनि जितिदिन्छन् । अनि, त्यतिबेला चाहीं हामी सबैलाई गर्व लाग्छ । झन् पछिल्लो समय सन्दिप लामिछाने भारतको प्रतिष्ठित इण्डियन प्रिमियर लिगको अक्सनमा भारतीय २० हजार रूपैयाँमा दिल्ली डेयर डेभिल्समा छानिएपछि युवा पुस्ताको हौंसला निश्चय पनि बुलन्द भएको हुनुपर्छ ।
यति भूमिका बाँधेर, केही थान उदाहरणसमेत दिइसकेपछि अब फेरि पनि प्रश्न उठ्छ कि आखिर माथिका सबै यक्ष प्रश्नहरूको जवाफ कसले दिने ? म त भन्छु सरकारले दिने । खेलकुदको विकास गर्ने योजना बनाउने अधिकार अनि जिम्मेवारी पाएका निकायहरूले दिने । किनकी खेलकुद विकासको योजना, पूर्वाधार अनि उचित वातावरण बनाउने भनेरै जिम्मेवारी पाएका छन्, जवाफ उनीहरूले नै दिनुपर्छ । अहिलेसम्मको अवस्थामा हेर्ने हो भने सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न नसकेकै हो । सिंगो देशभरीमा रहेको एउटा मात्र दशरथ रंगशालाले त्यो कुराको पुुष्टि गर्छ । पछिल्लो समय जुर्मुराएको क्रिकेटका कारण काठमाडौंकै मुलपानीमा एउटा क्रिकेट रंगशाला निर्माण गर्न सरकार बाध्य भयो, तर त्यसभन्दा बाहिर न रंगशालाहरू छन्, न त अन्य आवश्यक भौतिक पूर्वाधारहरू नै पर्याप्त छन् । न त सरकारले सुरक्षित भविष्यको सुनिश्चितता गर्न सकेको छ न त खेलकुद फस्टाउने उचित वातावरण नै बनाउन सकेको छ । अनि कसरी अघि बढ्छ खेलकुद क्षेत्र ? अनि कसरी उत्पादन हुन्छन्, कसरी टिक्छन् त खेलाडी ?
खेलकुद भन्नासाथ क्रिकेटमात्र बुभ्mने र क्रिकेट मात्र हेर्ने भारतमा अहिले खेलकुदका अन्य विधा फुटबल, कुस्ती, बक्सिंग, ब्याडमिण्टन, कपर्दी, हकी लगायतका अरू पनि केही खेललाई प्रोत्साहन गर्न करोडौं रूपैयाँ खर्च गरिएको छ । ठूल्ठूला प्रतियोगिताको आयोजना गर्न र नाम कहलिएका अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आप्mनो देशमा ल्याउन अर्बौ रूपैयाँ खर्च गरिरहेको छ । ब्राजिल र बार्सिलोनाबाट खेलिसकेका रोनाल्डिन्योलाई झिकाएर फुटसल खेलाउने, ब्राजिलकै अर्का स्टार प्लयेर रोबेर्टाे कार्लोस, अलजान्द्रो डेल पिर्लो, उरुग्वेका डिएगो फोर्लानलगायतका अन्य नामचिन खेलाडी झिकाएर फुटबल लिगमा खेलाउने ल्याकत भारतले बनाइसकेको छ । एसियाको उदाउँदो शक्तिका रूपमा स्थापित हुँदै गएको छिमेकी देशले आर्थिक र औद्योगिक विकाससँगै खेलकुदको विकास पनि गर्न सकिएन भने अन्तर्राष्ट्रिय होडवाजीमा कमजोर भइन्छ भन्ने कुराको बुझाइ राम्रैसँग भएका कारण होला छिमेकी प्रधानमन्त्री पनि अहिले टीभीमा देखिएर यसो भन्छन्, ‘खेलोगे कुदोगे बनोगे नवाव…।’ यसमा थप उर्जा भरेका छन बलिउड फिल्महरूले । म्यारी कोम, दंगल र भाग मिल्खा भाग जस्ता फिल्मको सफलताले समेत ‘स्पोर्टस जनरा’मा फिल्म बनाउन भारतीय फिल्म निर्देशकहरूलाई नयाँ उपायसमेत दिएको छ भने खेलकुदमा लाग्न चाहने नयाँ पिढीका लागि थप हौंसला दिएको छ ।
अनेकौं अवरोध र अप्ठेराहरूका बीचपनि नेपालको खेलकुद ढुङ्गाको काप फोडेर पलाएको पिपलझैं पलाउँदै गएको छ । पछिल्लो समय खेलकुदमा निजी तथा व्यापारिक क्षेत्रको लगाव र लगानी दुवै बढ्न थालेपछि भने खेलकुदमा व्यवसायिकता हुर्कने मौका पाइरहेको छ । अब खेल क्षेत्रमा पनि केही परिवर्तन हुँदैछ है भन्ने महसुस हुन थालेको छ । विभिन्न विधाका, विभिन्नस्तरका प्रतियोगितामा प्रायोजन, सह–प्रायोजन गरेर खेल गतिविधिलाई निरन्तरता दिने मात्र नभइ खेलाडीहरूलाई आप्mना उत्पादनका विज्ञापनमा सरिक गराउनुका साथै सदभावना दुत (ब्राण्ड एम्बेसडर) बनाउने गरेर निश्चित पारिश्रमिक दिने गरेका कारण पनि खेलाडीहरू खेलमा आकर्षित हुन थालेका छन् । खेल क्षेत्रमा निजी क्षेत्रको लगानी र लगाव दुवै बढ्दै गएको छ भने नेपाली खेल जगत् पनि व्यावसायिक बन्दै गएको अनुभव हुन थालेको छ । देखासिखी नै किन नहोस्, भारतमा इण्डिएन प्रिमियर लिग क्रिकेटझैं नेपालमा निजी क्षेत्रको अग्रसरतामा एभरेष्ट प्रिमियर लिग सुरु हुनु, जिल्ला जिल्लामा हुने फुटबल गोल्डकपहरूलाई प्रायोजन गर्ने व्यवसायिक घराना बढ्दै जानु अनि खेलाडीको अनुवन्धन र अक्सनको रकम बढ्दै जानुले खेलकुदमा लागेर पनि अबका दिनमा व्यावसायिक भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भइरहेको छ । निजी क्षेत्र र खेल क्षेत्रको समन्वयमा खेलकुदमा व्यावसायिकता वृद्धिसँगै खेलाडीहरू व्यावसायिक बन्न थालेका छन् । खेलकुदमै लागेर पनि भविष्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुँदै गएको छ । यसलाई अत्यन्त सकारात्मक मान्नुपर्छ । खेलकुद अब स्वास्थ्य र मनोरञ्जनका लागि गरिने क्रियाकलापमा मात्र सीमित रहेको छैन । विश्वव्यापी रूपमा हेर्ने हो भने खेलकुद पनि व्यापारको आकार बढाउने महŒवपूर्ण माध्यमका रूपमा पनि स्थापित भइसकेको छ । यसरी हेर्दा खेलकुद र निजी क्षेत्र एक अर्कालाई प्रबद्र्धन र प्रोत्साहन गर्ने माध्यम बनेका छन् ।
मुलुक संघीय संरचनामा गएर नयाँ अनि अधिकार सम्पन्न स्थानीय तथा प्रदेश सरकारको सक्रियतासँगै समाजका अन्य पक्ष जस्तै खेलक्षेत्रले पनि परिवर्तन, सुधार अनि विकासको नयाँ आशा गरेको छ । केन्द्रित शासन व्यवस्थामा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणदेखि साना तिना प्रतियोगिता आयोजनाका लागि केन्द्रकै मुख ताकेर बस्नुपर्ने अवस्थाको अब अन्त्य होला खेलक्षेत्रले गरेका अपेक्षा पनि यही नै हो । किनकी केन्द्रीकृत राज्यव्यस्थाको उपेक्षाको कोपभाजनमा नराम्ररी फसेका क्षेत्रमध्ये खेलक्षेत्र पनि प्रमुख हो । यसरी हेर्दा अहिलेको स्थिति पहिलेभन्दा धेरै फरक छ । निजी तथा व्यापारिक क्षेत्रको लगाव र लगानी बढ्दै जान थालेको अवस्थामा अब स्थानीय एवम् प्रादेशिक सरकारहरूले पनि खेलकुदमा लगानी बढाउन जरुरी भइसकेको छ । खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणको क्रम अविलम्ब सुरु गर्नुपर्छ । किनकी, प्रदेशको राजधानी हुनका लागि अत्यावश्यक पूर्वाधारमध्ये रंगशाला पनि नभइ नहुने पूर्वाधार हो । त्यसैले यहाँ रहेको खेलप्रतिको झुकावलाई सम्मान गर्ने हो भने, भोलि खेलकुदका माध्यमबाट पनि यो प्रदेशको अलग पहिचान स्थापित गराउने हो भने कम्तिमा एउटा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न रंगशालालाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ । सरकारले एक्लैले तत्कालै रंगशाला बनाउन नसक्ने अवस्था हो भने बरु सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार भए पनि रंगशाला बनाउन सकिन्छ । खेलकुदको विकास एवम् प्रवद्र्धनमा लगानी गर्ने व्यापारी व्यवसायीहरूलाई निश्चित प्रतिशत कर छुटको नीतिको सुविधा सरकारले गर्नुपर्छ । निजी क्षेत्रले पनि व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ ।
(लेखक सुर्खेत जिल्ला फुटबल संघका महासचिव हुन् ।)
साझा बिसौनी ।