संसदमा मूख्यमन्त्री शाहीले मागे विस्वासको मत
सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । दिउँसो १ बजेदेखि जारी प्रदेश सभा बैठकमा उनले प्रस्वात पेश गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा मतदान गर्न आग्रह सहित प्रस्वात पेश गरेका हुन् ।
ससदमा विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले सबै मिलेर कर्णाली प्रदेशलाइ समृद्ध बनाउनुपर्ने बताए । उनले सत्तापक्ष र प्रतिपक्षको रुपमा नभइ समृद्ध प्रदेश बनाउने दायित्व सबैको भएकाले हातेमालाे गर्दै अघि बढ्ने बताए ।
मुख्यमन्त्री शाहीले प्रस्ताव पशे गरेसँग त्यसमा छलफल शुरु भएको छ । छलफलपछि उठेका विषयमा मुख्यमन्त्री शाहीले जवाफ दिनेछन् । उनले जवाफ दिएपछि संसदमा लिखित रूपमा मतदान हुनेछ ।
मतदानमा मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् २१ मत प्राप्त भए उनी मुख्यमन्त्रीमा पक्का हुनेछन् । यदि पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिनेछन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्नेछैन ।
कर्णाली प्रदेशमा सभामुख बाहेक ३९ जना सांसद छन् । कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सांसदको समर्थन भएमात्र बहुमत पुग्छ । प्रदेशसभामा सभामुखबाहेक एमालेका १९ जना र माओवादी केन्द्रका १३ जना सदस्य छन् । दुवै दलको कुल सिट सदस्य सख्ंया ३२ छ ।
मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहेकाले संसदमा दुई तिहाइ भन्दा बढी बहुमत प्राप्त हुने देखिन्छ । माओवादी संसदीय दलका नेता शाही यही फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रकाशित मितिः १५ फाल्गुन २०७४, मंगलवार १३:३९
साझा बिसौनी ।