स्वास्थ्यको जिम्मा स्थानीय तहलाई

पूजा भण्डारी
दैलेख, १३ फागुन ।
दैलेखका ६५ वटा स्वास्थ्य संस्थाहरू स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यसंस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाई, सहरी स्वास्थ्य केन्द्रहरू सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. शोभित थापाले जिल्लामा सञ्चालन भएका ६५ वटा स्वास्थ्य संस्थाहरू ११ वटा स्थानीय तहमध्ये सात गाउँपालिकालाई र चार नगरपालिकालाई हस्तान्तरण गरिएको बताइन् ।


नारायण नगरपालिका, दुल्लू, चामुण्डाबिन्द्रासैनी, आठबिस, गुँरास गाउँपालिका, डुङ्गेश्वर, भगवतीमाई, नौमुले, महावु, भैरवी र ठाँटीकाँध गाउँपालिका गरी ६५ वटा स्वास्थ्य संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । नौमूले प्राथमिक स्वास्थ्य केन्द्र र लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि स्थानीय तहको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरिएको हो । नारायण नगरपालिका दैलेखमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेख र दुल्लू नगरपालिकामा रहेको दुल्लू अस्पताल स्थानीय निकायलाई हस्तान्तरण गर्न बाँकी छन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक रिता भण्डारी जोशीले स्वस्थ्य र समृद्ध स्थानीय तह निर्माणको जिम्मा जनप्रतिनिधिहरूको भएको बताइन् । उनले स्थानीय तहमा नागरिकहरूको स्वास्थ्यमा सहज पहुँचका लागि स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नपर्ने बताइन् ।
उनले गाउँ तथा नगरभित्रका स्वास्थ्य इकाईहरू सु–व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न आग्रह गरिन् । स्थानीय तहलाई औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखसँग समन्वय गरी औषधि खरिद प्रक्रिया अगाडि बढाउन सुझाव दिइन् । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले स्वास्थ्य संवेदनशील विषय स्थानीय तहलाई हस्तान्तण गरिएको बताउँदै नागरिकहरूको स्वास्थ्यमा खेलवाड नगर्न स्थानीय तहलाई आग्रह गरे ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७४, सोमबार १५:५३