नाम कर्णाली, राजधानी वीरेन्द्रनगर

सुर्खेत, १२ फागुन ।
सबैभन्दा पछाडी घोषणा भएको प्रदेश नम्बर–६ को नाम र स्थायी राजधानीको टुंगो लागेको छ । देशका अन्य प्रदेशमा अहिले पनि नाम र राजधानीको विषयमा बहस जारी छ । तर आन्दोलनको बलमा स्थापना भएको अन्य प्रदेश भन्दा कान्छो यो प्रदेशले सबैभन्दा पहिला नाम र राजधानीको टुंगो लगाएको हो । प्रदेश सभाले नाम कर्णाली प्रदेश र राजधानी सुर्खेतको वीरेन्द्रनगर तोक्ने प्रस्ताव पारित गरेको छ ।


प्रदेश सभाको शनिवार बसेको चौथो वैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावलाई सर्वसम्मत् रूपमा पारित गरेको छ । यस्तै राजधानी वीरेन्द्रनगर बनाउने प्रस्ताव दुई तिहाइभन्दा बढी बहुमतले पारित गरेको हो । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदमा प्रदेशको नाम कर्णाली राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । नामाकरण सम्बन्धीको प्रस्ताव मत विभाजनमार्फत् पारित गरिएको हो । प्रदेशसभाका ३९ जना सांसद (सभामुख बाहेक) मध्ये पक्षमा ३७ र विपक्षमा शून्य मत खसेको थियो ।
बैठकमा राजीनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही र बिरामी भएका कारण कांग्रेस सांसद झुवा विक उपस्थित थिएनन् । बैठकमा उपस्थित ३७ जना सांसदले नै प्रदेशको नाम कर्णाली हुनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए । बैठकमा उपस्थित सबै सांसदले पक्षमा मतदान गरेपछि सभामुख राजबहादुर शाहीले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मत् पारित भएको घोषणा गरेका थिए । यस्तै सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको स्थायी राजधानी भएको छ । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने प्रस्ताव संसदमा पेश गरेका थिए । उक्त प्रस्ताव दुई तिहाईभन्दा बढी बहुमतबाट पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो ।
राजधानी वीरेन्द्रनगर बनाउने प्रस्तावको पक्षमा ३६ मत र विपक्षमा एकमात्र मत खसेको थियो । राजधानीको प्रस्ताव पेश गर्दै सांसद शाहीले यो प्रदेशको राजधानीका लागि वीरेन्द्रनगरको विकल्प नभएको धारणा राखे । उक्त प्रस्तावमाथि एमाले सांसद गुलावजंग शाह र माओवादी सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए । बैठकमा प्रस्तावमाथिको छलफलमा भाग लिंदै सांसदहरूले ऐतिहासिक महŒव बोकेको कर्णालीको पहिचान झल्कनेगरी प्रदेशको नामाकरण भएकोमा खुशी व्यक्त गरे । साथै बैठकमा सांसदहरूले भौगोलिक सुगमता, प्रशासनिक सहजता, पूर्वाधारको उपलब्धता र पहुँचका हिसाबले वीरेन्द्रनगर नै राजधानीका लागि उपयुक्त भएको धारणा राखेका थिए । संसद बैठक यही फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

मन्त्री भण्डारीको फरक मत

यसैबीच प्रदेशको राजधानी सम्बन्धी प्रस्तावमा सरकारका एक मन्त्रीले नै फरक मत राखेका छन् । विपक्षी दल कांग्रेसका सांसद जीवनबहादुर शाहीले प्रदेश राजधानीका लागि वीरेन्द्रनगर प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले फरक मत राखेका हुन् ।
बैठकमा मन्त्री भण्डारीले वीरेन्द्रनगर राजधानी तोक्ने प्रस्तावमा आफ्नो फरक मत रहेको बताए । उनले भने, ‘म वीरेन्द्रनगर राजधानी तोक्ने प्रस्तावको विरोधी होइन, तर यसमा मेरो फरक मत दर्ज गर्न चाहन्छु । तत्कालका लागि वीरेन्द्रनगरकै पक्षमा छु, तर भोलिका दिनमा यसमा संसोधन हुनसक्छ ।’ मन्त्री भण्डारीले यसअघि प्रदेशको मौसमी राजधानी हुनुपर्ने बताउँदै आएका थिए ।
यसअघि आफूले उठाउँदै आएको मौसमी राजधानी (हिउँदमा सुर्खेत र वर्षामा जुम्ला) गरी दुई वटा राजधानी बनाउने मुद्दामा तत्कालका लागि पछाडी हटेको उनको भनाइ छ । यो विषयमा आफ्नो फरक मत रहेको र भोलिका दिनमा प्रदेश सभाले संसोधन गर्नसक्ने भन्दै उनले तत्कालका लागि वीरेन्द्रनगर राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरेको बताए ।

नाममा समर्थन, राजधानीमा असहमत

प्रदेश सभामा एकमात्र सांसद रहेको राप्रपाले प्रदेशको नामको पक्षमा मतदान गरेको छ । प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावको पक्षमा राप्रपाले मतदान गरेको हो । तर राजधानी सम्बन्धी प्रस्तावमा भने उसले विपक्षमा मतदान गरेको छ । राप्रपाबाट प्रदेशसभामा कालिकोटबाट समानुपातिकतर्फ निर्वाचित सांसद शोशीला शाहीले प्रदेशको नामको पक्ष र राजधानीमा विपक्षमा मतदान गरेकी हुन् । बैठकमा बोल्दै सांसद शाहीले कर्णालीको सभ्यता र पहिचान संरक्षण गरिने गरी प्रदेशको नाम कर्णाली राखिएको भन्दै त्यसमा आफ्नो समर्थन रहेको बताइन् । तर प्रदेशको भूगोल अनुसार मौसमी राजधानी हुनुपर्ने र कर्णालीमा पनि राजधानी तोकिनुपर्ने उनको माग थियो ।
उनले राजधानी सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गरेपछि अन्य सांसदहरूले त्यसलाई सच्याउन आग्रह गरेका थिए । राप्रपाका केही स्थानीय नेताहरूलेसमेत टेलिफोन गरेर वीरेन्द्रनगरको पक्षमा मतदान गर्न आग्रह गरे पनि उनले केन्द्रको निर्देशन भन्दै त्यसलाई अस्वीकार गरेकी थिइन् । पाटी केन्द्रको निर्देशन अनुसार नै आफूले वीरेन्द्रनगर राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गरेको उनको भनाइ छ ।