वीरेन्द्रनगर मुख्य बजार क्षेत्रको सरसफाइ

सुर्खेत, १२ फागुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजारक्षेत्र सरसफाइ गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा शनिवार बजार सरसफाइ गरिएको हो । प्रदेश राजधानीको नगरलाई नमुना सहर बनाउने योजना अनुसार सरसफाइ सुरु गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मास्टर प्लानसहित सरसफाइ अभियान तीव्र पार्ने बताए । उनले पर्यटकीय सहरका रूपमा वीरेन्द्रनगरलाई अगाडि बढाउने भन्दै उनले श्रममार्फत् विकास हुने बताए । सबैले पौरखी हात चलाएमा विश्वकै नमुना र समृद्ध प्रदेश स्थापनामा सहयोग पुग्ने बताए । उनले ‘मुख्यमन्त्री जनतासँग’ अभियान चलाएर प्रत्येक महिनाको दुई दिन जनतासँगै काम गर्ने बताए । श्रमको सम्मान हुन नसक्दा विकास हुन नसकेको भन्दै श्रमप्रतिको घृणा नभइ सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने बताए ।

उनले सांसद, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी लगायत अगुवाहरू सडकमा आएरै सन्देश दिन अभियान सुरु भएको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरलाई नमुना नगरका रूपमा स्थापित गर्न आग्रह गरे । उनले मुख्य बजार क्षेत्रका व्यापारीहरूले आफ्नो पसल अगाडिको फोहोर व्यवस्थापनका लागि अनुरोध समेत गरे । ‘साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगर राम्रो’ नाराका साथ नगरको सरसफाइ गरिएको हो ।

वीरेन्द्रनगरको मंगलगढीचौकदेखि सुरु भएको सरसफाइ अभियान तीन रुटमा सञ्चालन गरिएको छ । मुख्यमन्त्रीसहितको नेतृत्वले मुख्य बजार क्षेत्र, मन्त्री तथा सांसदहरूको नेतृत्वमा हटियालाइन र जनप्रतिनिधिको नेतृत्वमा यरीचौकसम्म सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा ६ नम्बर प्रदेशका सातै मन्त्रालयका मन्त्री, सचिव, सह–सचिव, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाली सेनालगायतले बजार सरसफाइ गरेका हुन् ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७४, आईतवार १६:१९