‘लगानीमैत्री वातावरण बनाउँछौं’
सुर्खेत, १२ फागुन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यहाँका उद्योगी, व्यापारीहरूले लगानीमैत्री गर्न जरुरी रहेको भन्दै प्रदेश सरकारले आवश्यक रणनीति तयार पार्ने बताए ।
उनले यहाँका उत्पादनलाई बाहिरी देशमा निर्यात गरी आम्दानी गर्न सक्ने अवस्थामा यहाँका जनता रहनुपर्नेमा जोड दिए । कर्णाली क्षेत्रमा जडिबुटी प्रशस्त मात्रामा भए पनि अझै पनि सही सदुपयोग हुन नसकेको बताए । जल, जमिन, जडिबुटी, पर्यटनस्थललाई सही सदुपयोग गरेर अघि बढ्न यस क्षेत्रका उद्योगी, व्यापारीहरूलाई उनले आग्रह गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले यहाँको औद्योगीकरण गरेर प्रदेश सरकार अघि बढाउने बताए । उनले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस प्रदेशमा विमानस्थल निर्माण लगायतका महŒवपूर्ण कार्यहरू तत्काल गर्नका लागि प्रदेश सरकारसँग समन्वय गर्ने बताए ।
प्रादेशिक राजधानीका लागि आवश्यक संरचना निर्माणका लागि पहल र पैरवी गर्ने, उद्योग तथा वाणिज्य नीति बनाउन स्थानीय संघ, प्रादेशिक सरकारसँग पैरवी गर्ने, व्यवसायिक सुरक्षाका लागि बजार क्षेत्रमा थप क्यामेरा जडान गर्ने लगायतका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ ।
उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय कार्यकारी सदस्य टेकबहादुर भण्डारीले सबै उद्योगी व्यापारीहरूलाई एक अर्काको खुट्टा तानातान गर्नुभन्दा पनि एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले आर्थिक पाटोलाई अब्बल गराउनका निम्ति सबै उद्योगी, व्यापारीहरूको महŒवपूर्ण भूमिका हुने भएकाले सबै उद्योगी, व्यापारीहरू एकजुट भएर अघि जान अनुरोध गरे । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले सुर्खेतमा भएको प्रदेशस्तरीय महोत्सव विरोधका बाबजुद चले पनि आगामी दिनहरूमा यस्ता अनुशासनहीन काम काम नगर्न आग्रह गरे ।
साधारणसभाको अवसरमा समीक्षा स्मृति प्रतिष्ठानद्वारा दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । सामाजिक कार्यमा सहभागी भएको भन्दै नवजीवन बाल संरक्षण केन्द्रलाई सम्मान गरिएको थियो ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशबाट प्राप्त भएको एक लाख पाँच हजार रकम आगलागी पीडितहरूलाई हस्तान्तरण गरिएको छ । यस्तै, सोही अवसरमा उद्योगतर्फ डीबी गार्मेण्ट उद्योगका धनबहादुर रावत, वाणिज्यतर्फ सुर्खेत साइन्स एण्ड सर्जिकलका सञ्चालक राजेन्द्र विष्ट, महिला उद्यामीतर्फ बुलबुले क्लिनिक पाउडरका रेणुका कोइराला लगायतलाई सम्मान गरिएको छ ।
साझा बिसौनी संवाददाता ।