प्रोफेसनल स्पीच कम्पिटिशनः उत्कृष्ट पाँच छनौट

सुर्खेत, १२ फागुन ।
सुर्खेतमा पहिलो पटक भएको सर्वाधिक पुरस्कार राशीको वक्तृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ अन्तर्गत उत्कृष्ट पाँच जना छनौट गरिएको छ । तेस्रो चरणमा प्रवेश गरेका १२ जना विद्यार्थीमध्ये उत्कृष्ट पाँच जना छनौट गरिएको हो ।


सबैभन्दा बढी एक सय १४ अंक प्राप्त गरी जन माध्यमिक विद्यालय वीरेन्द्रनगरका समिरविक्रम राना, एक सय सात अंक प्राप्त गरी श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर–७ इत्राम सुर्खेतका हृदेन्द्रजंग शाही उत्कृष्ट पाँचभित्र परेका छन् ।
यस्तै एसओएस हर्मोन माइनर माध्यमिक विद्यालय कालागाउँ सुर्खेतका अर्जुन आचार्यले एक सय पाँच अंक प्राप्त गरे भने हिमालय माध्यमिक विद्यालय सिम्ता गाउँपालिका चोल्पा सुर्खेतका नविन वि.क.ले एक सय चार र डिभी निकेतन वीरेन्द्रनगर–७ ईत्राम सुर्खेतका निहारिका सुवेदीले एक सय दुई अंक प्राप्त गरी उत्कृष्ट पाँचभित्र स्थान बनाउन सफल भएका छन् ।
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पीएसडी) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ भएको हो । अब उत्कृष्ट पाँचभित्र परेका विद्यार्थीका लागि चैत ९ गते राती १२ बजेसम्म एसएमएस भोटिङ्ग खुला गरिएको छ । अब पाँच जनाबीच चैत १० गते प्रतिस्पर्धा गराइ एसएमएस भोटिङ्ग र निर्णायकले दिने अंकका आधारमा विजेता, फस्र्ट रनरअप, सेकेण्ड रनरअप, स्मार्ट परफरमर र स्वीट् भ्वाइस्को रूपमा पुरस्कृत गरिने कार्यक्रमका संयोजक प्रेमकुमार बिसीले जानकारी दिए ।
उनका अनुसार एसएमएसलाई २५ प्रतिशत र निर्णायकको ७५ प्रतिशत निर्णय मानिनेछ । जसमध्ये विजेताले एक लाख रूपैयाँ, फष्र्ट रनरअफले ५० हजार, सेकेण्ड रनरअफले २५ हजार, स्मार्ट परफरमरलाई १० हजार र स्वीट् भ्वाइसमा पर्नेलाई पाँच हजार रूपैयाँ पुरस्कार दिइनेछ ।