चार गाउँबाट बस्ती सार्न माग

जाजरकोट, १७ जेठ ।
वर्षासुरु भएसँगै पहिरोको उच्च जोखिमका कारण गाउँ नै बग्ने खतरा बढेको भन्दै जाजरकोटका चार गाउँका बस्ती अन्यत्रै सार्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको छ । विगत वर्षमा पहिरोबाट ठूलो धनजनको क्षति भएपछि मानवीय बस्ती कायमै रहेका डाडाँगाउँको चिउरी, भगवती गाविसको औलगुर्ता, दह गाविसको ढडगाउँ र रामीडाँडा गाविसको सिल्पाचौर गरी चार वटा गाउँका बस्ती स्थानान्तरणको व्यवस्था मिलाउन दैवीप्रकोप उद्धार केन्द्रीय समितिमार्फत् सरकारलाई आग्रह गरिएको हो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको सोमवार खलंगामा बसेको बैठकले पहिरोको उच्च जोखिममा परेका जिल्लाका चार गाउँलाई विज्ञको टोलीमार्फत् अध्ययन अनुसन्धान गरी बस्ती स्थानान्तरणका लागि उचित पहल लिन सरकारसँग आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनले बेलैमा होसियारी नअपनाए सिन्धुपाल्चोकको जस्तै क्षति जाजरकोटमा पनि हुन सक्ने भएकोले सरकारसँग यस्तो आग्रह गरिएको बताए ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७३, मंगलवार १०:२५