मन्त्रीलाई गुनासा सुन्न भ्याइनभ्याई

सुर्खेत, ११ फागुन ।
जुम्ला तातापानीका धनकृष्ण पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगे । उनी वीरेन्द्रनगरस्थित मन्त्रालयमा पुग्दा मन्त्रबी नरेश भण्डारी निकै व्यस्त थिए । जुम्लाबाट प्रदेश सभामा निर्वाचित भएका भण्डारी मन्त्री बनेपछि उनलाई बधाई दिदैं विकास माग्नेको लर्को नै थियो । केहीवेरमा धनकृष्णले पनि मन्त्रीलाई भेट्ने पालो पाए ।


मन्त्रीको कार्यकक्षमा पसेपछि उनले मन्त्री भण्डारीलाई बधाई दिदैं भने,‘पहिला कर्णालीको गुनासो सिंहदरबारले सुनेन, विकास माग्दा कसैले वास्ता नै गरेनन् । अहिले घर नजिकै सरकार आएको छ, आफ्नै जिल्लाको मन्त्री पाउँदा केही आशा पनि पलाएको छ ।’ मन्त्री भण्डारी उनका गुनासा र अपेक्षा सुनिरहेका थिए । त्यतिकैमा धनकृष्णले थपे,‘सडक र खानेपानीको समस्या छ, गाउँमा विजुली छैन । अब यहाँको कार्यकालमा जिल्लाको विकास होस्, हाम्रा समस्यालाई गम्भिर भएर समाधान गरिदिनुहोला ।’
प्रदेश ६ मा सरकार गठन भएपछि यहाँका सर्वसाधारणमा उत्साह छाएको छ । विशेषगरी मुख्यमन्त्री र तीन जना मन्त्री पाएपछि कर्णालीबासीमा धेरै अपेक्षा देखिएको छ । त्यही अपेक्षा र आशा बोकेर हिजोआज मुख्यमन्त्रीदेखि मन्त्रीहरूलाई भेट्न कर्णालीबासी वीरेन्द्रनगर आउन थालेका छन् । धनकृष्णको अपेक्षा र माग सुनेका मन्त्री भण्डारीले अब कर्णालीमा विकासको अनभूति हुने र त्यसका लागि आफूहरूले काम गर्ने आश्वासन दिए । धनकृष्ण मन्त्रालयबाट बाहिरिदै गर्दा मन्त्रीसँग आफ्ना अपेक्षा र गुनासा सुनाउन अर्काे टोली भित्र पस्यो । मन्त्रीलाई भेटेपछि धनकृष्णले भने,‘कर्णालीले आजसम्म सरकारको अनुभूति गर्न पाएन, बल्लतल्ल हामीले गुनासो सुनाउने अवसर पायौं । अब आँगनमै मन्त्रालय छन्, प्रदेश सरकारले विकास गर्ने विश्वास पनि जागेको छ ।’
सामाजिक विकास मन्त्रालयमा पुग्दा मन्त्री दल रावल निकै व्यस्त थिए । बधाई थाप्न र सर्वसाधारणका गुनासा सुन्न उनलाई भ्याइनभ्याई थियो । उनको गृह जिल्ला हुम्ला र कर्णालीबाट मोबाइलमा निरन्तर फोन आइरहेको थियो । फोनमार्फत बधाई दिने र विकासको अपेक्षा राख्नेहरूका कारण मन्त्री रावल कार्यकक्षमा भेट्न पुगेकाहरूसँगसमेत कुराकानी गर्न पाइरहेका थिएनन् । त्यतिकैमा जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ६ को टोली पुग्यो । टोलीको नेतृत्व गर्दै पुगेका जिल्ला समन्वय समिति दैलेखका संयोजक प्रेमबहादुर थापाले आफ्नो समस्या मन्त्रीलाई सुनाए । उनले भने,‘मन्त्रीज्यू, अब यहाँहरूले हामीलाई सहयोग गर्नुप¥यो । हाम्रो भूमिका स्पष्ट भएन, अब चाँडै कानुन बनाएर जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउनुप¥यो ।’ उक्त टोलीले प्रदेशमा रहेका ठूला विकास परियोजना संचालन गर्न र नियमित अनुगमन गर्नसमेत मन्त्रीसँग आग्रह ग¥यो ।
यो टोली बाहिरिन नपाउँदै मन्त्री रावलको कार्यकक्षमा अर्को टोली प्रवेश ग¥यो । मन्त्रीलाई भेट्न पुगेका सबैले आफ्नो गाउँ र जिल्लाको समस्या सुनाइरहेका थिए । अधिकांशले भौतिक विकासको माग गर्दै मन्त्रीलाई बधाई दिइरहेका थिए । केहीबेर फुर्सद पाएका मन्त्री रावलले भने, ‘जनताको अपेक्षा धेरै छ, अब प्रदेश सरकारले केही गर्छ भन्ने विश्वास पनि उहाँहरूमा बढेको छ । यसमा हामी गम्भिर छौं, जनताको अपेक्षा अनुसार काम गर्न कुनै कसर बाँकी राखिने
छैन ।’ वीरेन्द्रनगर–१७ रतुका हिक्मत वली भौत्तिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई भेट्न लाइनमा पालो कुरिरहेका थिए । ‘मन्त्रीज्यू हाम्रै क्षेत्रको हुनुहुन्छ, चुनावको वेला गाउँमा विकास योजना पार्ने आश्वासन दिनुभएको थियो’ वलीले भने,‘ उहाँ अहिले मन्त्री नै बन्नुभएको छ, बधाई दिन आएको हुँ । यही मौकामा गाउँको समस्या पनि सुनाउने छु, केही विकास योजना पनि माग्नुपर्ला ।’
सरकारले पूर्णता पाए लगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फुर्सद नै मिलेको छैन । मन्त्रालय र क्वार्टरमा बधाई दिन पुग्नेहरूका कारण उनी निकै व्यस्त बनेका छन् । हिजोआज उनको गृह जिल्ला कालिकोटबाट सबैभन्दा बढी विकास माग्दै भेटन् आउनेहरूको लर्को छ । यस्तै विभिन्न निकाय र क्षेत्रबाट मुख्यमन्त्री शाहीलाई भेट्ने, आफ्नो समस्या र गुनासा सुनाउने र ध्यानाकर्षण गराउनेहरूको कमी
छैन । मन्त्रीहरूलाई भेट्न आउने सर्वसाधारणहरूले प्रदेशको सम्रग विकास र समृद्धिका लागि काम गर्न सुझावसमेत दिने गरेका छन् । बधाई तथा शुभकामना दिने निहुँमा सर्वसाधारणले मन्त्रीहरूसँग आफ्नो गाउँ र टोलमा विकास योजना माग गरिरहेका छन् । सर्वसाधारणहरूको लर्को नै लागेपछि मन्त्रीहरू बधाई थाप्न र गुनासा सुन्नमै व्यस्त देखिएका हुन् ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७४, शनिबार १६:४६