‘संघीयतामा केन्द्रको मुख ताक्ने होइन’

सुर्खेत, ११ फागुन ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेशको विकास र समृद्धिका लागि नेतृत्वले काम गर्नुपर्ने बताएका छन् । जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गर्न शुक्रवार सुर्खेत पुगेका आयुक्तले प्रदेश ६ लाई गरिव र विपन्न भन्ने भन्दापनि प्रदेशभित्रको स्रोत साधनको प्रर्वद्धनतर्फ ध्यान दिनुपर्ने बताए ।
‘भवन छैन । बस्ने व्यवस्थापन राम्रो छैन् भन्नु एकाङ्की मानसिकता भएका कारण हो’ उनले भने, ‘संघीयता केन्द्रको मुख ताक्नुपर्ने व्यवस्था होइन् । प्रदेशमा भएको स्रोत र साधान र जनशक्तिको प्रयोग गर्ने हो ।’ संघीयता कार्यान्वयनमा आएसँगै संविधानले गरेका परिकल्पना र जनताको अपेक्षा अनुसार स्थानीय तथा प्रदेश सरकारलाई काम गर्न उनले आग्रह गरे । ‘आयोगले आठै तहको निर्वाचन गरी आफ्नो भूमिका निर्वाह गरेको छ’ उनले भने, ‘अब समृद्धि र विकास गर्ने जिम्मेवारी राजनीतिक दलको हो । लोकतान्त्रि जनविश्वास कसरी कायम गर्ने भन्ने बारेमा नेतृत्वमा पुगेका दलहरूले सोच्नुपर्छ ।’
आयोगले वर्तमान विधि र प्रविधि अनुसार आफ्ना गतिविधि अगाडी बढाएको उनले बताए । निर्वाचनलाई छिटो, छरितो र भरपर्दो बनाउन आयोगले आवश्यक गृहकार्य सुरु गरेको जानकारी दिए । संघीय संरचना अनुसार सातै
प्रदेशस्तरमा निर्वाचन आयोगको प्रदेश कार्यालय स्थापना गरिने भन्दै उनले निर्वाचन वर्षका रूपमा २०७४ साल सुखद् भएको बताए । निर्वाचन व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकरी सिताराम कार्कीले जिल्लामा शान्ति र सु–व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल र नागरिक समाजप्रति धन्यवाद ज्ञापन गरे । एक करोड २७ लाख ८९ हजार सात सय १२ रूपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण गरिएको निर्वाचन अधिकारी सुनिता थापाले बताइन् । जिल्ला निर्वाचन कार्यालय सुर्खेतसँग २०६९ साल असारमा ठेक्का सम्झौता गरेको नार्गाजुन कन्स्ट्रक्सन सेवा काठमाडौंले गत भदौ २० गते भवन हस्तान्तरण गरेको हो ।