कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर

सुर्खेत, १२ फागुन । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको स्थायी राजधानी भएको छ । आज बसेको प्रदेश संसदको चौथो वैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने सम्बन्धि प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्ताव पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो । प्रस्ताव पेश गर्दै सांसद शाहीले यो प्रदेशको राजधानी सुर्खेतको विकल्प नभएको धारणा राखे ।

उक्त प्रस्तावमाथि एमाले सांसद गुलावजंग शाह, गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए ।

प्रस्तावमाथि छलफलमा भाग लिदै सांसद अमरबहादु थापाले सुर्खेतबाट सञ्चालन हुने प्रदेश सरकारको कामकारवाहीलाई प्रदेशका दस वटै जिल्लालाई समान रुपमा हेर्नुपर्ने बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सुर्खेतलाई राजधानी बनाउने विषयमा आफ्नो विरोध नरहेको भन्दै आफूले यसअघि उठाउँदै आएको दुई वटा राजधानी बनाउने कुराले कर्णालीलाई संघीयताको अनुभूति दिलाउन सकिने धारणा राखे । दुई वटा राजधानी बनाउनुपर्ने धारणा राखेका छन् ।

सांसद यज्ञबहादुर बिसीले राजधानीका लागि आवश्यक सबै पूर्वाधारका हिसाबले सुर्खेत नै उपयुक्त हुने बताए । सांसद धर्मराज रेग्मी, कुर्माराज शाही, देवी वली, विन्दमान विष्ट, ठम्मरबहादुर विष्टले कर्णाली प्रदेशको राजधानी सुर्खेत नै उपयुक्त भएको बताएका थिए ।
उक्त प्रस्तावमाथि मतविभाजन गर्दा सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी बनाउनुपर्ने पक्षमा ३६ मत र विपक्षमा एक मत परेको थियो ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७४, शनिबार १६:३२