‘प्रदेश समृद्धिको आधार वन’

सुर्खेत, १० फागुन ।
वन क्षेत्र ६ नम्बर प्रदेश समृद्धिको पहिलो आधार भएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । बिहीवार सामुदायिक वन उपभोक्ता महासंघको प्रदेशस्तरीय वैठकको उद्घाटन गर्दै उनले वनजंगल नै समृद्धिको पहिलो आधार भएको बताए । ‘राष्ट्रिय योजना आयोगको सर्वेक्षण अनुसार ५२ प्रतिशत गरीब रहेको यस प्रदेशलाई समृद्ध बनाउने एक आधार वन क्षेत्र हो’ उनले भने, ‘कर्णाली क्षेत्रमा खेर गएको जडिबुटीलाई नै निर्यात गर्नसके प्रदेश समृद्ध बन्छ ।’
वन फँडानीले मानिसको प्रत्यक्ष जीवनशैलीमा असरपर्ने भन्दै सामाजिक विकासमन्त्री दल रावल रुख रोप्नेलाई प्रोत्साहन र काट्नेलाई कानुन अनुसार सजाय हुनुपर्ने बताए । उनले वन क्षेत्रको संरक्षण र सम्वद्र्धनमा सबै एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जलस्रोत, वन र पर्यटन नै प्रदेश विकास र समृद्धिको आधार भएको बताए । बैठकको उद्घाटनका क्रममा सामुदायिक वन उपभोक्ता महासंघका स्थायी समिति सदस्य ठाकुर भण्डारीले ३९ प्रतिशत वन क्षेत्र रहेको प्रदेश ६ मा जैविक विविधता र जडिबुटीका हिसाबले समृद्ध प्रदेश रहेको बताए । उनका अनुसार एक हजार चार सय ५४ सामुदायिक वन महासंघमा आवद्ध भएका छन् ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७४, शुक्रबार १५:०४