सांसद नहुँदा बैठक बसेन

बैठकमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो
सुर्खेत, ९ फागुन ।
अधिकांश सांसदहरू वीरेन्द्रनगर बाहिर भएपछि प्रदेश सभाको बैठक नै स्थगित भएको छ । बुधवार दिउँसो १ बजेका लागि तय भएको प्रदेश नम्बर ६ को प्रदेशसभा बैठक बस्न सकेन । अधिकांश सांसदहरू उपस्थित हुन नसक्ने भएपछि प्रदेश सभाको बैठक शनिवारसम्मका लागि स्थगित गरिएको हो ।


प्रदेश सभाका अधिकांश सांसदहरू केन्द्रीय राजधानी काठमाडौं गएका छन् । केही सांसदहरू सुर्खेत बाहिर गएका छन् । सबै सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बुधवारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका अनुसार बुधवारको बैठकमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो । तर अधिकांश सांसदहरू जिल्ला बाहिर गएको र गहन विषयमा निर्णय गर्नुपर्ने भएकाले बुधवारको संसद बैठक स्थगित गरिएको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार अब प्रदेश सभाको बैठक शनिवार दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले भने, ‘बुधवारको बैठकमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो, यो गहन विषय भएकाले सबै सांसदको उपस्थिति अनिवार्य हुन्छ । तर बुधवार सबै सांसद बैठकमा सहभागी हुने स्थिति देखिएन, हामीले शनिवार सबै माननीयहरूलाई उपस्थित गराउने गरी बैठकको सूचना टाँस गरेका छौं ।’ बुधवार बैठक बस्न नसक्दा महŒवपूर्ण प्रस्ताव माथिको छलफल लम्बिएको छ । प्रमुख प्रतिपक्ष दलका नेतासहित अधिकांश सांसदहरू वीरेन्द्रनगरमा छैनन् । सबैको सहमति र उपस्थितिमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्नका लागि अब शनिवार संसद बैठक बोलाइएको छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफू उपचारका लागि काठमाडौंमा रहेको बताए । उनले भने, ‘ऐतिहासिक विषयमा छलफल हुँदैछ, संख्या भन्दा पनि सबैको सहमतिमा निर्णय गर्दा राम्रो हुन्छ । सबै माननीयहरू सहभागि भएर निर्णय लिँदा दीर्घकालीन हुन्छ, त्यसैका लागि बुधवारको संसद बैठक शनिवारसम्म सरेको हो ।’ उनले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत नै हुने दाबी गरे । यसमा दलहरूबीच आन्तरिक सहमति र एकमत रहेको भन्दै उनले शनिवार औपचारिक निर्णय हुने बताए । सबै प्रदेशभन्दा पहिला प्रदेशको नाम र राजधानी सर्वसम्मत् रूपमा टुङ्गो लगाएर प्रदेश ६ ले नमुना देखाउने उनको भनाइ छ ।
यस्तै माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले महŒवपूर्ण निर्णय गर्नुपर्ने र आवश्यक थप तयारी गर्नुपर्ने भएकाले बुधवारको संसद बैठक स्थगित भएको बताए । उनका अनुसार शनिवारको बैठकमा प्रदेशको नाम र राजधानी तोक्ने एजेण्डामा छलफल हुनेछ । उनले भने, ‘सम्भवत प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतमा नै सहमति हुन्छ, यसमा सबैको धारणा एउटै रहेको छ ।’ शनिवार बस्ने बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएर केही समयका लागि संसद स्थगित गर्ने तयारी भइरहेको छ । तत्कालका लागि कुनै विजनेस नभएकाले केही समयका लागि संसद बैठक स्थगित गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।
यसैबीच नेकपा एमालेले प्रदेश नम्बर ६ को संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ । बुधवार वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले गुलाबजंग शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो । शाह सल्यान निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् ।
शाह एमालेका केन्द्रीय सदस्य र पार्टीका सल्यान जिल्ला ईन्चार्ज हुन् । यसअघि मन्त्रीको चर्चामा रहेका शाहलाई अन्तिम समयमा एमालेले ब्याक गरेको थियो । केन्द्रले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुन निर्देशन दिएपछि शाह मन्त्री हुनबाट वञ्चित भएका थिए ।

प्रकाशित मितिः   १० फाल्गुन २०७४, बिहीबार १६:५०