महोत्सवमा साढे बाह्र करोडको कारोबार

सुर्खेत, ८ फागुन ।
प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ मा कूल साढे १२ करोड बराबरको व्यवसायिक कारोबार भएको छ ।
गत माघ २६ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको महोत्सवमा अन्तिम दिन मंगलवारसम्म १२ करोड ६० लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।


संघीय संरचना कार्यान्वयनमा आएसँगै पहिलो पटक आयोजना गरिएको महोत्सवमा तीन लाख २५ हजार दर्शकले अवलोकन गरेका छन् । ६ नम्बर प्रदेश उद्योग वाणिज्य महासंघले प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि महोत्सव आयोजना गरेको थियो ।
महोत्सवमा ६ नम्बर प्रदेशका १० जिल्लाबाट औद्योगिक, व्यापार, पर्यटन तथा कृषिका सामग्रीहरूका स्टलहरू निःशुल्क प्रदर्शनीमा राखिएको थियो ।
ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुहरूको बजारीकरण र उद्योग व्यापारमार्फत् प्रदेशको समृद्धिका सहयोग पुगेको महोत्सव आयोजक समितिका प्रचार विभाग संयोजक पूर्णदेव अधिकारीले बताए । उनका अनुसार महोत्सवमा घरेलु, लघु, कृषि उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको थियो । लोपोन्मुख कला र संस्कृतिको संरक्षणका लागि स्थानीय कला सांस्कृतिको संरक्षणमा समेत महोत्सवले टेवा पुगेको उनले बताए ।
१२ दिनसम्म सञ्चालनमा आएको महोत्सव मंगलवार सम्पन्न भएको छ । उच्च मूल्य भएका निकासी योग्य वस्तुहरूको बिक्री वितरणमा महोत्सवबाट सहयोग पुगेको प्रदेश वाणिज्य महासंघका अध्यक्ष पदम शाहीले बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले बेलामौकामा हुने मेला महोत्सवबाट आम्दानीमा मात्रै वृद्धि नभइ पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७४, बुधबार १५:१५