बोका ढालेर क्वार्टर सरे मुख्यमन्त्री

सुर्खेत, ७ फागुन ।
बिहानैबाट सरकारी कर्मचारीहरूलाई चाँजोपाँजो मिलाउन भ्याइनभ्याइ थियो । विस्तारै माओवादी केन्द्रका नेता र कार्यकर्ताहरूको भीड बढ्दै गयो । सुरक्षाकर्मी पनि आउजाऊ गरिरहेका थिए । त्यत्तिकैमा केही व्यक्तिहरूले एउटा कालो बोका ल्याए । हिन्दुधर्म अनुसार प्रक्रिया पूरा गरेर उक्त कालो बोका आँगनमै काटियो । बोका बली चढाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रूपमा आफ्नो सरकारी क्वार्टरभित्र पस्ने साइत जुराए ।


यसअघि क्षेत्रीय प्रशासक बस्दै आएको वीरेन्द्रनगरस्थित क्वार्टरमा आइतवार बिहान देखिएको दृष्य हो यो । जहाँ आइतवारबाट प्रदेश ६ का मुख्यमन्त्रीको निवास बनेको छ । शुक्रवार शपथ लिएपछि मुख्यमन्त्री शाही होटलमा बस्दै आएका थिए । मुख्यमन्त्री बनेपछि शुक्रवार र शनिवार गरी दुईदिन होटलमा बसेका उनलाई आइतवार बिहान मात्र सरकारी क्वार्टरमा बस्ने साइत जुरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीहरूले कालो बोकाको व्यवस्थापन र अन्य विधि पूरा गरेपछि मात्र मुख्यमन्त्री शाही सरकारी क्वार्टरमा बस्न थालेका छन् ।
मुख्यमन्त्री क्वार्टरमा पस्नुअघि कालो बोका ढालिएपछि त्यहाँ पुगेका माओवादीका केही सांसद, नेता र कार्यकर्ताहरू आश्चर्यमा परे । केही कार्यकर्ताहरू आपसमा कानेखुशीसमेत गरे । तर आँगनमै राखिएको शोफामा बसेका मुख्यमन्त्री शाही र माओवादीका केही सांसदहरू भने बोका बली चढाउँदाको दृष्य अवलोकन गरिरहेका थिए । शोफामा बसेका नेताहरूले तत्काल प्रतिक्रिया दिन भने सकेनन । तर बधाई तथा शुभकामना दिन पुगेका कार्यकर्ता र सर्वसाधारणहरू भने विगतमा धर्म निरपेक्षताको चर्को वकालत गरेको पार्टीको नेताले नै मुख्यमन्त्री बनेपछि कालो बोका बली चढाएर क्वार्टर सरेको भन्दै कानेखुशी गरिरहेका थिए ।
विज्ञानमा विश्वास गर्ने र अन्धविश्वासको विरोधमा युद्धको बेलामा मन्दिर नै भत्काउने विचारबाट अगाडि बढेको नेताले बोका बली दिएको भन्दै मुख्यमन्त्री शाहीको पार्टीभित्रै आलोचना सुरु भएको छ । अधिकांश माओवादी कार्यकर्ता र सर्वसाधारणलेसमेत सामाजिक सञ्जालमा मुख्यमन्त्रीले कालो बोका बली दिएको विषयमा आलोचना गरेका छन् । मुख्यमन्त्रीले कालो बोका नै चढाएर क्वार्टरमा सर्ने साइत जुराएको विषयमा माओवादीका एक सांसदले भने, ‘जे भयो त्यो राम्रो भएन, हाम्रो सिद्धान्त यो होइन । कर्मचारीले बोका ल्याउँदा मुख्यमन्त्रीले रोक्नुपथ्र्यो,
तर उहाँले आँखै अगाडि बोका ढालिदा पनि रोक्ने प्रयास गर्नुभएन ।’ बोका काटेर साइत जुराउने अवस्थासम्म नेताहरू पुगेको भन्दै यसले नेताहरू नै अन्धविश्वास र भ्रममा पर्न थालेको उनको भनाइ छ । देश धर्म निरपेक्ष बनिसकेको अवस्थामा विगतमा अन्धविश्वासको विरुद्ध हतियार उठाएको पार्टीका नेताहरूले कालो बोका ढालेर साइत निकाल्नु लजास्पद भएको माओवादी कार्यकर्ता बताउँछन् ।
मुख्यमन्त्री शाही माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हुन् । यसअघि उनी माआवोदी सेनाका डिभिजन कमाण्डरसमेत थिए । यसअघि रातो टीका नलगाउने माओवादी अध्यक्ष प्रचण्डले गत दशैंमा टीका लगाएपछि चर्चाको विषय बनेको थियो । यस्तै माओवादीका मन्त्रीले औपचारिक पोशाकमा दौरा र सुरुवाललाई नअपनाउँदा पनि बहसको विषय बन्दै आएको छ । यसअघि ऊर्जामन्त्री हुँदा दौरा र सुरुवालविना नै शपथ लिएका शाहीले मुख्यमन्त्रीको शपथ भने दौरा र सुरुवालमा सजिएर लिएका थिए । यस्तै शाहीले मुख्यमन्त्रीको पदभार सम्हाल्दा पनि पण्डितले मन्त्र बाचन गरेका थिए । त्यसबेला पनि माओवादी कार्यकर्ताहरूले अनौठो मान्दै आपसमा मुखामुख गरेका थिए । पछिल्लो समय कालो बोका चढाएर क्वार्टरमा बसाइँ सरेका तस्विरहरू सार्वजनिक भएपछि पार्टीभित्रैका कार्यकर्ताबाट मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७४, मंगलवार १५:१४