मन्त्रीको बास होटलमै

सुर्खेत, ७ फागुन ।
आइतवार मात्र नियुक्त भएका मन्त्रीहरूको बास होटलमै भइरहेको छ । आइतवार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका मन्त्रीहरू वीरेन्द्रनगरका विभिन्न होटलमा बसेर रात बिताइरहेका छन् । सरकारी क्वार्टरको व्यवस्थापन हुन समय लागेपछि मन्त्रीहरू होटलमा बस्न बाध्य भएका हुन् ।
मुख्यमन्त्रीका लागि क्वार्टरको व्यवस्थापन भए पनि मन्त्रीहरूका लागि भने अझै केहीदिन लाग्ने मन्त्रीपरिषद् सचिवालयले जनाएको छ । प्रदेश ६ मा ६ जना मन्त्री छन् । उनीहरूका लागि क्वार्टरको टुङ्गो लागे पनि आवश्यक व्यवस्थापनको काम बाँकी नै रहेकाले केही दिन समय लाग्ने भएको हो । मन्त्रीका लागि क्षेत्रीय सिँचाइका क्वार्टरहरू छनौट गरिएको छ । क्वार्टरका लागि पाँच वटा भवन रहेको र मर्मत तथा सम्भारको केही काम बाँकी रहेकाले केही दिनसम्म मन्त्रीहरूलाई क्वार्टरमा राख्नसक्ने अवस्था नरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
‘हामीले क्वार्टरका लागि व्यवस्थापन गरिरहेका छौं, कति मन्त्रीज्यूहरू यहाँ बस्नुहुन्छ एकिन भएको छैन’ मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले भने, ‘तत्कालका लागि आफ्नै सुविधा अनुसार बस्नु भएको छ, केही दिनभित्र उहाँहरूलाई पनि क्वार्टरमा राख्नेछौं । मर्मत र सुधारको काम भइरहेको छ, काम सकेर एक दुई दिनभित्र मन्त्रीज्यूहरू क्वार्टरमा सर्नुहुन्छ ।’

प्रकाशित मितिः   ८ फाल्गुन २०७४, मंगलवार १५:१३