‘उठीबास लगाउन खोजियो’

सुर्खेत, २४ चैत । (साबिस)
वन जोगाउने नाममा बाढीपीडितहरूलाई उठीबास लगाउन खोजिएको भन्दै बाढीपीडित व्यवस्थापन मूल सङ्घर्ष समितिले आपत्ति जनाएको छ । समितिका अध्यक्ष खगीराम रेग्मीले बुधवार विज्ञप्तीमार्फत् यस्तो आपत्ति जनाएका हुन् ।
जिल्ला वन कार्यालयले अतिक्रमित वन खाली गराउने नाममा बाढीपीडितका शिविर भत्काउन खोजको भन्दै समितिले अर्को व्यवस्था नभएसम्मका लागि यथास्थानमा बस्न पाउने व्यवस्था मिलाइदिन आग्रह समेत गरेको छ । जबर्जस्ती उठाउन खोजिए सङ्घर्षमा उत्रिने चेतावनी दिँदै समितिले विभिन्न पाँच बुँदे माग समेत अघि सारेको छ ।
बाढीपीडितहरूले पाउनुपर्ने राहत रकम छिटो भन्दा छिटो उपलब्ध गराउनुपर्ने, बाढीपीडितलाई पनि भूकम्पपीडितसरह रकम उपलब्ध गराउनुपर्ने, बाढीपीडितले पाउनुपर्ने राहत रकम नपाउँदासम्म यथास्थानमा बसोबासको व्यवस्था गर्नुपर्ने, वन अधिग्रहणको नाममा बाढीपीडितलाई उठिबास गराउन नहुने र वन जोगाउने भन्दै बाढीपीडितमाथि भएको आक्रमण बन्द गर्नुपर्ने माग विज्ञप्तीमार्फत् समितिले गरेको छ । 
प्रकाशित मितिः   २५ चैत्र २०७२, बिहीबार ०७:००