यी सातको काँधमा प्रदेश ६ को ‘समृद्धि सपना’

डिभिजन कमाण्डरदेखि मुख्यमन्त्रीसम्म
महेन्द्रबहादुर शाही, मुख्यमन्त्री


कालिकोटको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट १२ हजार एक सय ५३ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाही माओवादीले सञ्चालन गरेको जनयुद्धका पूर्व लडाकु हुन् । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही तत्कालीन जनसेनाको ६ नम्बर डिभिजनको कमाण्डर बनेका थिए ।
लडाकु भएर लामो समय युद्ध लडेका शाहीले संसदीय राजनीतिमा पनि फड्को मारेका छन् । नेपाल सरकारका पूर्व ऊर्जामन्त्री शाही प्रदेश नम्बर ६ को पहिलो मुख्यमन्त्री बन्न सफल भएका छन् । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा नियुक्त भएपछि शाहीले आफ्नो अबको सपना भनेकै यो प्रदेशलाई समद्ध बनाउनु भएको बताएका छन् । उनले अहिलेसम्म पिछडिएको क्षेत्रका रूपमा रहेको यो प्रदेशलाई विकसित र नमुना बनाउने बताए । प्रदेश नम्बर ६ मा प्रशस्त प्राकृतिक स्रोत–साधनहरु भएको उल्लेख गर्दै शाहीले त्यसैलाई सदुपयोग गर्दै जनताले चाहे अनुसारको विकास गर्ने प्रतिवद्धता जनाए ।
शिक्षकबाट सांसद हुँदै मन्त्री
प्रकाश ज्वाला, आर्थिक मामिला तथा योजनामन्त्री


सल्यान स्थायी घर भएका प्रकाश ज्वाला पनि मुख्यमन्त्रीको दावीसहित प्रदेशसभा सदस्यको चुनाव लडे । तर वाम गठबन्धनको भागवण्डामा प्रदेश नं. ६ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएपछि उनको उक्त सपना तत्काललाई पूरा नहुने भएको छ ।
मुख्यमन्त्री बन्ने सपना पूरा नभएपछि ज्वाला अहिले प्रदेश सरकारको निकै महŒवपूर्ण मानिने आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । वि.सं. २०३९ सालको शिक्षक आन्दोलनबाट राजनीतिमा होमिएका ज्वाला नेकपा एमालेको जिल्ला कार्यालय सचिव हुँदै २०५६ सालको संसदीय निर्वाचनमा समेत सल्यान क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । उनी हाल नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य छन् ।
अहिलेको प्रमुख आवश्यकता नै आर्थिक विकास र समृद्धि भएकाले उक्त उपलब्धि प्राप्तीका लागि पहल गर्ने ज्वालाको भनाइ छ । उनले अहिलेपछि पछि परेको प्रदेश नं. ६ को विकास र समृद्धि नै आफ्नो पहिलो प्राथमिकतामा पर्ने ज्वालाले बताए ।
दाबी मुख्यमन्त्रीको, भए ‘गृह’ मन्त्री
नरेश भण्डारी, आन्तरिक मामिला तथा कानुनमन्त्री


एकीकृत नेकपा माओवादीको तर्फबाट जुम्ला जिल्लाबाट विजयी नरेश भण्डारी प्रदेश नं. ६ को मुख्यमन्त्रीको आकांक्षी थिए । तर अन्तिममा पार्टीले महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाएपछि भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।
वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका भण्डारी माओवादीको बुद्धिजीवि संगठनको केन्द्रीय अध्यक्ष हुन् । २०५१ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय भण्डारी २०५६ सालदेखि भूमिगत भएका थिए । मन्त्री बनेपछि भण्डारीले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताउँछन् । उनले संघीय व्यवस्थालाई सफल बनाउनुका साथै आम नागरिकको जीवनस्तर माथि उठाउने जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै सबै मिलेर यो जिम्मेवारी पूरा गर्नुपर्ने भण्डारीको भनाइ छ ।
सामाजिक विकासमन्त्रीको समृद्धि सपना
दल रावल, सामाजिक विकास मन्त्री


हुम्लाको निर्वाचन क्षेत्र नं. १(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएलगत्तै सांसद दल रावलले भनेका थिए, ‘सिमकोट–हिल्सा नाका मेरो प्राथमिकतामा छ, उक्त सडकलाई बाजुरा र मुगुको गमगढीमा जोडिनेछ, पाँच वर्षपछि गाडी चढेर चुनाव प्रचारमा हिड्छु, गाडी चढ्ने अवस्था भएन भने चुनाव नै उठ्दिनँ ।’
उनै रावल प्रदेश नं. ६ को सामाजिक विकास मन्त्री बनेका छन् । ६ नम्बर प्रदेशको विकास नै आफ्नो प्रमुख एजेन्डा भएको बताउने मन्त्री रावलले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्छन् कि सक्दैनन्, यहाँका नागरिकले हेरिरहेका छन् । रावल भने आफ्नो योजनामा दृढसंकल्पित रहेको भन्दै घोषणा गरे अनुसारको काम गरेरै छोड्ने बताउँछन् ।
प्रदेश सरकारमा एक्ली महिला मन्त्री
बिमला केसी, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री


प्रदेश नं. ६ को सात सदस्यीय मन्त्रीमण्डलकी एक मात्र महिला मन्त्री हुन्, बिमला केसी । नेकपा माओवादी केन्द्रकी नेतृ उनी समानुपातिकतर्फबाट सांसद बनेकी हुन् । उनले भूमि व्यवस्थापन, कृषि तथा सरकारी मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । सुरुवातमा केसी उपसभामुख हुने चर्चा थियो । तर केसीले सक्रिय पद नै लिने अडान लिएपछि पार्टीले उनलाई मन्त्री बनाएको हो । प्रदेश नम्वर ६ को विकास र समृद्धिमा केही गरेर देखाउने आफ्नो योजना रहेकाले सक्रिय पद रोजेको उनको भनाइ छ । माओवादीले सञ्चालन गरेको द्वन्द्वकालदेखि नै सक्रिय राजनीति गर्दै आएकी केसी आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताउँछिन् ।
आफूले जिम्मेवारी पाएको मन्त्रालयको क्षेत्र यो प्रदेशका क्षेत्रका बहुसंख्यक जनतासँग जोडिएको हुनाले पनि आफूले जनताको चाहना अनुसार काम गर्ने उनको भनाइ छ । आधारभूत रूपमा भूमि व्यवस्थापन, सुकुम्बासीहरूको व्यवस्थापन, सहकारीलाई प्रभावकारी बनाउने, कृषिमा आधारित उद्योगको विकास गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा पर्ने केसीले बताइन् । योजनावद्ध रुपमा काम गरेर प्रदेश ६ लाई समृद्ध बनाउने आफूले भूमिका निर्वाह गर्ने केसीको भनाइ छ ।
मेयर ताकेका बुढा बने मन्त्री
नन्दसिंह बुढा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री


डोल्पाको निर्वाचन क्षेत्र १ बाट कुल मतको ८२ प्रतिशत मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा प्रदेश नं. ६ को पहिलो सरकारको मन्त्री हुने अवसर पाएका छन् । बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बने । मन्त्री बनेपछि डोल्पालीहरूमा खुशीयाली छाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणको भण्डार मानिने कर्णाली र डोल्पा जिल्लालाई समृद्धि बनाउन मद्दत पुग्ने भन्दै डोल्पाली नागरिकले खुशीयाली मनाएका छन् ।
मन्त्री बुढाले पनि जनताले चाहे अनुसार जनताका काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘प्रदेश ६ का सबै जनताको भरोसालाई टुट्न दिनेछैन’ उनले भने । लामो समयदेखि नेकपा एमालेमा सक्रिय बुढा २०७० सालमा नेकपा एमाले जिल्ला कमिटी डोल्पाका पार्टी सचिव बनेका थिए । सरकारी जागिर छोडेर राजनीतिमा लागेका उनले कम उमेरमै ठूला सफलता हासिल गरेको उनी निकटहरू बताउँछन् । स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको दाबी गरेका बुढा पछि हटेर प्रदेशसभा सदस्यमा अत्याधिक मतले विजयी भएका हुन् ।
निर्माण व्यवसायी सांसद बने पूर्वाधार विकासमन्त्री
खड्गबहादुर खत्री, भौतिक पूर्वाधार विकास मन्त्री


मूलतः निर्माण व्यवसायीहरुको रुपमा परिचित खड्गबहादुर खत्री सांसद हुँदै प्रदेश नं. ६ को भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित उनी नेकपा एमालेका नेता हुन् ।
वि.सं. २०३४ सालदेखि राजनीतिक यात्रा थालेका उनी वि.सं. २०४९ र २०५४ सालमा भएका स्थानीय निकायका निर्वाचनमार्फत् तत्कालीन रामघाट गाविसका अध्यक्षमा निर्वाचित भए । व्यवसाय सँगसँगै सामाजिक कार्य र राजनीतिमा सक्रिय उनी भलिबल र एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्य उनी नेकपा एमाले निकट नेपाल उद्योग परिषद्को समेत केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७४, मंगलवार १५:१२