कस्तो बन्छ मन्त्री ज्यू, पाँच वर्षपछिको प्रदेश ?
पुष्पराज आचार्य
नेपालका सात वटा प्रदेश मध्य कान्छो प्रदेश । आन्दोलनको आगोमा चार जना सपुतको रक्तबिजबाट जन्मेको प्रदेश । यस प्रदेशका दुईटा आँखा राराताल र फोक्सुण्डो ताल । कैलाश र मानसरोवर शिरमा, दुल्लू दैलेखका पञ्चकोशी र शिरस्थान छातीमा राखेर, काँक्रेबिहार, बराहताल र चौकुनेको भरोसामा जन्मेको, स्यार्पु ताल, कमल दह, सुन दहको गहनाले सजिएको, बाँके र बर्दिया जस्ता बलिया खुट्टा गुमाएको प्रदेश । सिंजा र सुर्खेतको सानो समतल भू–भाग बाहेक प्रायः पहाडको साङ्गोमा कसिएको प्रदेश । डर लाग्दा पहाडको विकराल चुनौतीको बीचमा विशाल सम्भावनाको सपना बोकेको, बिकटताको प्रतिबिम्ब हो प्रदेश नम्बर ६ । यस प्रदेशका बासिन्दाहरू कहिले बन्ला समृद्ध प्रदेश भनेर सपना देखिरहेका छन् । वर्षेनी ५० प्रतिशत कृषकहरू कालापहाडमा भारी बोकेर जहान बच्चाको भोको पेट पाल्दै आएका छन् । ११ लाख ६८ हजार ५१५ जना मध्ये ५२ प्रतिशत गरीबहरूको बासस्थान हो यो प्रदेश । ४७५ अमेरिकन डलर औषत प्रतिव्यक्ति वार्षिक आम्दानी भएको यस प्रदेशको समृद्धि भाषणमा भने जस्तो अवश्य सहज छैन ।
भेरी र कर्णाली नदीको पानी उपयोग विनाको माछा पोखरी मात्रै बनेको छ । धित मारेर मानसरोबर, कैलाश र राराताल हेर्न आउनेहरूले चौडा बाटो र नियमित जहाज पाएका छैनन । यो प्रदेश त्यो नेपाल हो जहाँ आज पनि अस्पताल नपाएर सुत्केरी मर्ने, शिक्षा र रोजगारी नपाएर युवा विदेशिने, आहारा नपाएर मान्छे अल्पायुमै परलोक हुने गर्दछन् । ३२ हजार मेगावाट विद्युत उत्पादन क्षमता भएर पनि एक मेघाबाट विद्युत निकाल्न नसकेको प्रदेश हो, यो । त्यतिमात्र होइन एउटा पनि अन्तर्राष्ट्रिय विमानस्थल नभएको प्रदेश हो, ६ नम्बर प्रदेश ।
अनमोल प्राकृतिक सम्पदा सिरानीमा लुकाएर भोक, अभाव र विकटताको जाँतोमा पिल्सिदै आएको नेपालको कान्छो प्रदेश । नेपालकै सुन्दरताको खानी प्राकृतिक स्रोतको भण्डार भएर पनि आर्थिक उत्पादन, सामाजिक उन्नयनन, शैक्षिक विकास, भौतिक पूवार्धार र राजनैतिक पहुँचमा समेत अन्य प्रदेशको तुलनामामा पछाडि देखिन्छ । यस प्रदेशले पछौटेपन, शोषण, बेरोजगारी, आर्थिक असमानताबाट रूपान्तरण हुने बाटो खोजिरहेको छ । विपन्न दलित र गरीब समुदायको बसोबास भएको यस प्रदेशामा भौगलिक जटिलताको बीचमा बाँचेका जिन्दगीहरू आधुनिक विकासको आरामदायी आनन्द र नयाँ प्रविधि उपभोग गर्ने प्रतिक्षामा बसेका छन् । बलियो स्थानीय सरकारको गठन र दिगो वित्तीय विकेन्द्रीकरण गरी पूर्वाधार निर्माण गर्नु नै प्रदेशको पहिलो खुट्किलो हुनेछ । त्यसैगरी फरक आर्थिक सामाजिक संरचनाको समुचित समायोजन गर्ने र प्राकृतिक सम्पदाहरूको उचित व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ । विविध संस्कृति र परम्पराले बाँधिएको यो प्रदेशको समग्र समृद्धिको बाटो तयार पार्ने जिम्मा प्रदेश सरकारले पाएको छ । ऊर्जाशील युवा नेता मुख्यमन्त्री, अनुभवी नेता मन्त्री बनाएको यो प्रदेश ५ वर्षपछि कस्तो बन्ला भन्ने प्रश्नहरू उठेका छन् ।
प्रदेशको वर्तमान राजनैतिक, आर्थिक, शैक्षिक, भौगलिक र सामाजिक अवस्था दयनीय र कष्टपूर्ण छ । प्रतिव्यक्ति आय ज्यादै न्यून छ, कूल ग्राहस्थ उत्पादन पनि कम छ । प्रदेशमा साना, मझौला तथा ठूला उद्योग र कलकारखाना नहुनु, दक्ष जनशक्तिको अभाव, र गुणस्तरहीन शिक्षा र परनिर्भरता बढेको मात्र छैन यो प्रदेशकोे अर्थतन्त्रनै अनुदानले चलेको छ । प्रदेशमा आवश्यक प्रायः वस्तु आयात हुन्छन् तर निर्यात गर्न सकिने निकै कम छन् । मानव विकास सूचांकमा समेत यस प्रदेशका जिल्लाहरू निकै पछाडी छन् । यो प्रदेश जल, जडिबुटी र जंगलका हिसाबले प्रसिद्ध मानिन्छ । यस अन्तरजिल्ला व्यापारबाट खासै आम्दानी भएको देखिदैंन ।
नेपालकै लामो र जलविद्युत उत्पादनका दृष्टिले महŒवपूर्ण नदी कर्णाली र भेरी यही प्रदेशमा बगेका छन् । यस प्रदेशमा करीब ९१ प्रतिशत जनता कृषिमा निर्भर छन्, पाँच प्रतिशतले व्यापार, तीन प्रतिशतले मात्रै नोकरी र एक प्रतिशतले अन्य पेशा अगालेका छन् । प्रदेशको साक्षरता प्रतिशत पनि दयनीय देखिन्छ । यस प्रदेशमा नदी, ताल, मन्दिर, पर्यटकीय स्थलको कमी छैन तर यी सम्पदाहरूको संरक्षण र विकासको खाँचो देखिन्छ । यस प्रदेशले पर्यटन र जडिबुटीलाई महŒवपूर्ण अवसरको रूपमा उपयोग गर्नुपर्दछ । यहाँको जल, जमिन र जंगलको सही उपयोग र संरुक्षण विना प्रदेशको समग्र विकास हुन सक्दैन ।
यस प्रदेशको समृद्धिको पहिलो आधार जलविद्युत हो । ३२ हजार मेघाबाट जलविद्युत क्षमता भएको यस प्रदेशमा पाँच वर्ष भत्र कम्तीमा १० हजार मेघाबाट बिजुली उत्पादन गर्नु अपरिहार्यता हो । भिरालो जमिनमा बगेका खोलाको जलप्रवाह अत्यन्तै उच्च छ । यस प्रदेशमा सयौ खोलाहरू अविचलित रूपमा बगिरहेका छन् । तर पनि स्थानीयबासीहरू अन्धकारमै बाँचका छन । लघु जलविद्युत आयोजनाबाट बिजुली बाल्नेहरूले पनि मात्रै मौसमी बिजुली उपभोग गरेका छन् । अन्य सबै सोलार र दियालोको प्रकाशमा जीवन गुजारीरहेका छन् । यसरी हेर्दा यस प्रदेशमा १० हजार मेघावाट विद्युत उत्पादन हुन सकेको खण्डमा पूरै जिल्ला उज्यालो र सयौं उद्योग सञ्चालनमा आउने निश्चित छ । कालिकोटमा सर्वे भइसकेका तिला १ (४५० मे.वा) तीला २ (४५० मे.वा) अपर कर्णाली बि (६० मे.वा) अपर कर्णाली एसडी १ (१८४ मे.वा) रुडुबन्चु १ र २ (२५.५ मे.वा) गरी ११६९.५ मे.वा विद्युत निकाल्न सकिन्छ ।
यसैगरी समृद्धिको दोस्रो आधार कृषि र पशुपालन व्यवसाय हो । सानो जनशक्ति र भूगोलबाट ठूलो समृद्धि हुनसक्ने क्षेत्र कृषि हो । यस प्रदेशमा ९० प्रतिशत जनता कृषिमा निर्भर छन् भने १० प्रतिशतले मात्रै व्यापार, नोकरी र अन्य पेशा अगालेका छन् । कूल खेतीयोग्य जमीनको २० प्रतिशत जमिनमा मात्रै परम्परागत खेती भइरहेको छ । जमीनको अधिकांश भू–भाग उपयोगविहीन भएकोले यस भूभागको समेत प्रयोग गर्नुपर्नेछ । विभिन्न जिल्लामा खाद्यान्न बालीमा दलहन, तेलहन, मसला, फलफूलका अतिरित्त च्याऊ, मह, पिडालु, सखरखण्ड, तरुल, चियार कफी बालीको प्रवल सम्भावना छ । कृषिमा आधुनिकीकरण, व्यसायीकरण नगरी जिल्लाको कूल खाद्यान्न आवश्यकता पूर्ति गर्न असम्भव छ । त्यसैगरी अधिकांश जिल्लाका बहुसख्यक कृषकको उत्पादन ६ महिना पनि पुग्दैन । त्यसकारण कृषकहरू ६ महिना भारतको उत्तर प्रदेश, गडबाल र कस्मीरमा भारी बोक्न विवश छन् । खेती गरिएको जमिन मध्ये थोरै जमिन मात्रै सिँचाइ भएको छ भने बाँकी जमिनमा आकाशको भरमा खेती गरिन्छ । उन्नत बीऊ विजन, उपकरण र प्रविधिको ज्ञान र प्रयोग हुनसकेको खण्डमा प्रदेशको समृद्धि सम्भव छ । प्रायः घरमा सीमित आवश्यकताको लागि पशुपालन गरिएता पनि मनग्ये आम्दानी हुन सकेको छैन । व्यवसायिक पशुपालन, पशु फार्म र उन्नत पशु वस्तु नभइ पदेशको पशुपालन व्यवसाय फस्टाउन सक्दैन । कृषि र पशुपालन व्यवसायमार्फत् समृद्धि ल्याउन विभिन्न योजना आवश्यक छन् ।
समृद्धिको तेस्रो आधार यातायत र पर्यटन हो । यातायत र पर्यटन समग्र विकासको मेरुदण्ड हो । यातायतको विकास नभइ समाजको अन्य पक्षको विकासमा समेत प्रत्यक्ष प्रभाव पर्दछ । विकासको प्रमुख पूर्वाधार अन्र्तगत सडक सञ्जाल पर्दछ । कर्णाली राजममार्ग, रत्नराजमार्ग, सुर्खेत दैलेख मार्ग सुर्खेत सल्यान रुकुम हुम्ला हिल्सा सबै सडकको कालो पत्रे गरिनु पर्दछ । मध्य पहाडी लोकमार्गको स्तर उन्नत्ति गरिनुपर्दछ । आर्थिक समृद्धिको लागि पर्यटन व्यवसायलाई समेत मुख्य आधार बनाउन सकिन्छ । यसका साथै यस प्रदेशका २५ नगरपालिका ५४ गाउँपालिका र ७०५ वडापालिकामा मोटर बाटो पुगेमा मात्रै पाँच वर्षको कार्यकाल अर्थपूर्ण मानिनेछ । यसका लागि चीनसँग जोडिएका हिल्सा, नाक्चे नाकाहरू खोलिनु आवश्यक छ । समग्र प्रदेशको सौन्दर्य हेर्न आउने पर्यटकलाई यातायत, आवास र मनोरञ्जन दिएर आर्थिक उन्नति र रोजगारीको प्रवल सम्भावना छ ।
त्यसैगरी प्रदेश विकासको अर्को महŒवपूर्ण आधार शिक्षा र स्वरोजगार हो । शिक्षा समाज विकासको महŒवपूर्ण अंग हो । प्रदेशको समृद्धिमा शिक्षाले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । व्यवस्था परिर्वतनसँगै यस प्रदेशमा पनि शैक्षिक संस्थाको तीव्र विकास भएता पनि गुणस्तरीय शिक्षाको आवश्यकता परिपूर्ति हुनसकेको छैन । सरकारी विद्यालयमा प्रभावकारी शिाक्षण नहुनु र निजी शिक्षण संस्थाको महँगो शुल्क पुरानो शिक्षा प्रणालीले गर्दा शिक्षा अर्थपूर्ण बन्न सकेको छैन । आजको युगमा पनि लाखौं जनता निरक्षर छन् । प्रदेशमा उत्पादित जनशक्तिले विश्व बजारमा प्रतिशपर्दा गर्नसकेको छैन । विद्यालयहरूमा बालमैत्री संरचना र आधुनिक पूर्वाधार सेवा सुविधा नहुनु पनि अर्को समस्या हो ।
हरेक वर्ष करिब लाखौं विद्यार्थी एसएलसी उत्तीर्ण हुन्छन् तर व्यवसायिक शिक्षा नभएकोले विद्यालयहरू बेरोजगार जन्माउने कारखाना बनेका छन् । यस प्रदेशमा उद्योग कलकारखाना नहुँदा युवाहरू बरालिन विवश छन् । बेरोजगारलाई स्वरोजगार बनाउन सीपमूलक तालिम, लोकसेवा तयारी कक्षा र उद्योगको स्थापना आवश्यक छ । प्रदेशका बेरोजगार युवाहरूको विकासका लागि दस्ता बनाउनुपर्ने देखिन्छ । यसैगरी समृद्धिको अर्को आधार जंगल र जडिबुटी हो । यो प्रदेश जल, जंगल र जडिबुटीका लागि प्रचूर सम्भावना रहेको क्षेत्र हो । पर्यावरणीय महŒवका हिसाबले वनक्षेत्र महŒवपूर्ण मानिन्छ । उचाईको विविधता सँगै यस प्रदेशमा जैविक विविधता र सबै प्रकारका जडिबुटीहरू पाइन्छ । हालसम्म आयात बढी र निर्यात कम गर्दै आएको यस प्रदेशको वनजन्य पैदावार, जडिबुटी निर्यात र प्रशोधनबाट महŒवपूर्ण आय भिœयाउन सकिने सम्भावना रहेको छ । यस प्रदेशमा बहुमूल्य जडिबुटीहरू प्रशस्तै पाइन्छन् । यी जडिबुटीको उचित उपयोग हुनसकेमा प्रदेशले विकासमा फट्को मार्ने देखिन्छ ।
कर्णाली नदीमा मानव निर्मित ठूलो तालको निर्माण । हरेक गाउँपालिकामा दुई वटा सीप प्रशिक्षण केन्द्रमार्फत् डाइभरिङ्ग, पलम्बरी, फर्निचर, कम्प्युटर जस्ता सीपको विकास, १ गाउँपालिका १ प्राथामिक स्वास्थ्य सेवा केन्द्र र जिल्ला सदरमुकाममा ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालन, स्याऊ प्रशोधन उद्योग, जडिबुटी प्रशोधन उद्योग, कृषि उत्पादन प्रशोधन उद्योग, दुग्ध प्रशोधन उद्योग,र धातुका भाडा बनाउने उद्योग, पानी प्रशोधन उद्योग, घरेलु कपडा उद्योग सञ्चालन, ढुङ्गे बगैंचा, पञ्चदेवल हरूलाई विशेष पर्यटकीय गन्तव्य बनाउने, नमुना बस्ती विकास कार्यक्रममार्फत् नयाँ सहर बनाउने ,सुविधा सम्पन्न आधुनिक होटेल सञ्चालन गरी पर्यटन व्यवसायबाट आम्दानी बढाउने कार्यले यो प्रदेशको समृद्धि सम्भव देखिन्छ ।
प्राकृतिक दृष्यको अनुपम भण्डार , भौगलिक जटिलताको केन्द्र, अभाव र अनिकालको उद्गम स्थल मात्रै हो या समृद्ध नेपालको स्रोत हो कर्णाली ? पाँच वर्षपछि पनि यही ४६ वर्षै आयु ५२ प्रतिशत गरिबी रहन्छ या आयु बढ्छ र गरिबी घट्छ ? नेपालका ७३ वटा जिल्लामा मोटर बाटोको रेखाले छोइसक्दा पनि कर्णालीका दुई जिल्ला कहिलेसम्म हवाइ जहाजको बाटो हेरेर दिन काट्ने होलान् ? कलिला विद्यार्थीको राम्रो स्कुल पढ्ने सपना, परिश्रमी किसानको आफ्नै उत्पादनले पेट पाल्ने सपना, दक्ष नेताको शक्तिशाली मन्त्री बन्ने सपना, अधवैंशे उमेरमै मृत्युको शिकार हुनु नपर्ने बिरामीको सपना, २१ औं शताब्दीमा पनि छुवाछुतको सांलोबाट उन्मुत्त हुने दलितको सपना कहिले पूरा हुन्छ ? बगेका नदी हेरेर प्यास मेटाउनुपर्ने बाध्यता, अर्को जिल्लाका गाढी हेरेर गह्रौं भारी बोक्दै हिँड्नुपर्ने विवशताको अन्त्य नै यस प्रदेशको आधारभूत सपना हो ।
(कालिका–६, कालिकोट)
साझा बिसौनी संवाददाता ।