‘समृद्धिको नमुना हेर्न निम्तो पठाउनेछौं’
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ फागुन ।
लामो कसरतपछि प्रदेश नम्बर ६ मा मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरूको टुंगो लगाएपछि मन्त्रीपरिषद्ले आइतवार पूर्णता पाएको हो । नवनियुक्त मन्त्रीहरूले आइतवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एमालेका तर्फबाट चार र माओवादीको तर्फबाट दुई जना मन्त्रीले शपथ लिएका हुन् । माओवादीका नरेश भण्डारी र विमला केसी मन्त्री बनेका छन् । जुम्लाबाट निर्वाचित प्रदेश सभाका सांसद भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् । रुकुमबाट विजयी माओवादी सांसद विमला केसी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी छन् । यस्तै नेकपा एमाले भने प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी भएको छ । एमालेको तर्फबाट चार जना मन्त्रीले शपथ लिएका छन् ।
सल्यानबाट विजयी एमाले सांसद प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री, हुम्लाका दल रावल सामाजिक विकास मन्त्री, सुर्खेतका खड्कबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री र डोल्पाबाट विजयी नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । उनीहरूलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । प्रदेश ६ मा सात वटा मन्त्रालयका छन् । जसमा माओवादीले मुख्यमन्त्री र दुई वटा मन्त्रालय पाएको छ । यस्तै एमालेले भने चार वटा मन्त्रालय पाएको हो । गठबन्धनका दल एमाले र माओवादीले लामो कसरत र रस्साकस्सीपछि आइतवार मात्र मन्त्रालय बाँडफाँडमा सहमति गरे । योसँगै प्रदेश सरकारले पनि पूर्णता पाएको हो ।
यसअघि मुख्यमन्त्रीमा अन्तिमसम्म दाबी गर्दै आएका माओवादीका नरेश भण्डारी र एमालेका प्रकाश ज्वालाले मन्त्रीमा चित्त बुझाएका छन् । यी दुवै नेताको रोजाइमा आर्थिक मामिला तथा योजना मन्त्रालय परेपछि गठबन्धनलाई थप सकस भएको थियो । तर आइतवार आफ्नो अडानबाट भण्डारी पछाडि हटेपछि सहमति जुटेको नेताहरूको भनाइ छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मन्त्रीहरूले जनताको नाममा शपथ लिए । प्रदेश प्रमुखले ईश्वरको नाममा शपथ गराएका थिए । तर मन्त्रीहरूले भने जनताको नाममा भन्दै शपथ लिएका हुन् । शपथको क्रममा माओवामदी र एमालेका सबै मन्त्रीले दौरा र सुरुवाल पहिरिएका थिए । यस्तै एक मात्र महिला मन्त्री बिमला केसीले सारी र कोटमा सजिएर शपथ लिएकी हुन् । शपथ लिएपछि मन्त्रीहरूले आइतवार नै आफ्नो भदभार पनि सम्हालेका छन् ।
यसैबीच नवनियुक्त मन्त्रीहरूले गरिबी र अभावले थिचिएको प्रदेश नम्बर ६ लाई समृद्ध र नमूना बनाउने प्रतिबद्धता जनाएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीलाई अभावमुक्त बनाउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए । उनले भने, ‘अहिले कर्णालीलाई अभावले चिनिन्छ, हाम्रो प्रदेशको परिचय गरिबी बनेको छ । तर अब सरकारले यहाँको समृद्धिका लागि काम गर्नेछ, प्रदेशको विकास र समृद्धिको नमुना हेर्न हामी मान्छेहरूलाई निम्तो पठाउनेछौं ।’ एक दशकभित्र नै कर्णालीको अभाव र प्रदेशको गरिबी अन्त्य हुने र समृद्धिको नमुना हेर्नका लागि मानिहरू आउने उनको दाबी छ । अब प्रदेश सरकारले तत्काल उत्तरी नाकाहरू खुलाउन पहल थाल्नेसमेत उनले जानकारी दिए ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशको समृद्धिका लागि आफूहरू निरन्तर लाग्ने बताए । यहाँको विकास र समृद्धि नमुना रूपमा हुने र अन्य प्रदेशलाई सहयोग गर्न सक्ने हैसियतमा लैजाने उनको भनाइ छ । उनले भने, ‘यो प्रदेश आजसम्म पछाडि पारिएको थियो, अब केन्द्रलाई गाली गर्ने अवस्था छैन । हामीले नै यहाँको विकास र समृद्धिको लागि काम गर्ने अवसर पाएका छौं, केही वर्षमा नै हाम्रो प्रदेशमा विकास र समृद्धिको नमुना हेर्न लायक बनाउनेछौं ।’
यस्तै मन्त्रीपरिषद्को पहिलो बैठक पनि आइतवार नै सम्पन्न भएको छ । साँझसम्म बसेको बैठकले पनि प्रदेशको गरिबी र अभाव न्यूनीकरणका लागि प्राथमिकता दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको हो ।
मन्त्रीपरिषद्ले के–के निर्णय गर्यो ?
प्रदेश ६ मा मन्त्रीपरिषद्को पहिलो बैठकले महŒवाकांक्षी निर्णयहरू गरेको छ । आइतवार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले प्रदेश ६ लाई पर्यटकको गन्तव्य बनाउने निर्णय गरेको छ । प्रदेश समृद्धिको पहिलो आधार पर्यटन भन्दै मन्त्रीपरिषद्ले यसका लागि रारा–कर्णाली पर्यटन महोत्सव २०७५ आयोजना गर्ने निर्णय गरेको हो ।
महोत्सवले पर्यटक भिœयाउन टेवा पुग्ने र प्रदेशको आर्थिक विकास हुने प्रदेश सरकारका प्रवक्त विमला केसीले बताइन् । यस्तै मन्त्रीपरिषद्ले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै पहिलो बैठकले प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने केन्द्रीय सरकारको नीतिलाई कार्यान्वयन गर्ने, युवाहरूलाई स्वरोजगार बनाउन ‘एक गाउँपालिका, एक घरेलु उद्योग’ कार्यक्रम सञ्चालन गर्ने र साना उद्योगहरूलाई सरकारले विशेष सहयोग गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।
यस्तै प्रदेश सरकारले ज्येष्ठ नागरिक देशदर्शन कार्यक्रम सञ्चालन गर्ने, हुम्ला र डोल्पामा तत्काल सडक पु¥याउने, प्रदेशलाई चीनसँग जोड्ने, त्यसका लागि उत्तरका तीन वटा नाका खोल्ने र समृद्धि प्रदेशका लागि शान्ति सुरक्षा कार्यक्रम लागू गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले प्रदेश ६ लाई समृद्ध बनाउनका लागि सबैभन्दा पहिले लगानी भिœयाउने र त्यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउने भएको छ । लगानीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरूको आयोजना गर्ने र स्रोत जुटाउने बैठकले निर्णय गरेको हो । पहिलो बैठकले व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने, उच्च मुल्य कृषि वस्तुको उत्पादनमा विभिन्न कार्यक्रमहरू ल्याउने निर्णय गरेको छ । त्यसैगरी प्रदेश सरकारले ‘वातावरणमैत्री हरित अर्थतन्त्र, प्रदेशको मूलमन्त्र’ कार्यक्रम अन्तर्गत सम्बन्धित मन्त्रालयले काम गर्ने, रैथाने बालीको संरक्षण गर्ने, अगार्निक प्रदेशको आधार खडा गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले भु–उपयोग नीति निर्माण र वस्ती विकास व्यवस्था गनेसमेत निर्णय गरेको छ । मन्त्रीपरिषद्को पहिलो बैठकले प्रदेश सरकारको प्रवक्तामा सहकारी मन्त्री बिमला केसीलाई नियुक्त गरेको छ ।
साझा बिसौनी संवाददाता ।