गुलावजंग पछि हट्दा ज्वाला मन्त्री बने
सुर्खेत, ६ फागुन ।
प्रदेश ६ मा गुलावजंग शाह पछाडि हटेपछि प्रकाश ज्वालाको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको छ । आइतवार बिहान १० बजेसम्म एमालेले शाहको नेतृत्वमा सरकारमा जाने व्यक्तिहरूको नाम लिपिवद्ध गरेको थियो । जसमा सल्यानबाट निर्वाचित सांसद शाहसहित दैलेखका अम्मरबहादुर थापा, मुगुका चन्द्रबहादुर शाही र सुर्खेतका खड्गबहादुर खत्री मन्त्रीको शपथ खान तयारी हालतमा थिए ।
तर यसअघि मुख्यमन्त्रीमा दाबी गर्दै आएका नेता प्रकाश ज्वालाले कुनै पनि हालतमा आफूलाई मन्त्री चाहिने अडान लिएपछि मन्त्रीहरूको लिस्ट नै परिवर्तन भएको हो ।
नेता ज्वालाले वरिष्ठ नेता माधवकुमार नेपाललाई टेलिफोन गरेर आफूलाई मन्त्री चाहिने बताएका थिए । एमाले स्रोतका अनुसार नेता नेपालले अध्यक्ष केपी ओलीलाई ज्वालाको नेतृत्वमा सरकारमा पठाउन दबाब दिएपछि एमालेका मन्त्रीहरूको नाम एकाएक परिवर्तन भएको हो । एमाले अध्यक्ष ओलीले प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका प्रदेश कमिटीका सह–संयोजक यामलाल कँडेललाई टेलिफोन गरेर ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुनेहरूको नाम तय गर्न निर्देशन दिएका थिए ।
केन्द्रको निर्देशनपछि एमालेले ज्वालाको नेतृत्वमा मन्त्रीहरू छनौट गरेको हो । एमाले स्रोतले भन्यो, ‘बिहानसम्म एउटा लिस्ट थियो, १० बजेपछि अर्को लिस्ट बनेको हो । गुवालजंग ब्याक हुँदा, ज्वालाको भाग्य खुल्यो ।’ ज्वाला मन्त्री बनेपछि दैलेखका अम्मरबहादुर थापा र मुगुका चन्द्रबहादुर शाहीले मन्त्री बन्न नपाएका हुन् ।
साझा बिसौनी संवाददाता ।