यस्ता छन् प्रदेश ६ को पहिलो मन्त्रिपरिषद् बैठकले गरेका २१ निर्णय

सुर्खेत– आइतबार साँझ बसेको प्रदेश नम्बर ६ को मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद् आइतबारै विस्तार गरिएसँगै पहिलो बैठक बसेको हो।

बैठकले प्रदेश सरकार सञ्चालन कार्यसम्पादन नियमावलीदेखि प्रदेश ६ मा बृहत् लगानी कोष खडा गर्ने निर्णयहरु गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

बैठकले प्रदेश सरकार लागि सार्वजनिक लिखित प्रमाणीकरण नियमावली, प्रदेश सरकार कार्यसम्पादन तथा कार्यविभाजन नियमावली २०७४ स्वीकृत गरेको केसीको जनाइन्।

त्यस्तै, आगामी आर्थिक वर्ष २०७५ मा पर्यटन प्रवद्र्धन गर्न रारा–कर्णाली पर्यटन महोत्सव गर्ने निर्णय समेत गरेको केसीले बताइन्। उनका अनुसार, बैठकले कृषि, उद्योगको सञ्चालन, ज्येष्ठ नागरिकहरुको संवद्र्धन र स्वास्थ्य तथा शिक्षा लगायत क्षेत्रको विकास गर्ने निर्णयहरु गरेको छ।

बैठकले रैथाने वालीको संरक्षण गर्ने, भू–उपयोग नीति बनाउने, व्यावसायिक खेतीमा जागरुकता बढाउने, जनतासँग मुख्यमन्त्री कार्यक्रम, लगानीमैत्री वातावरण तयार गर्ने, एक गाउँपालिका एक घरेलु उद्योग निर्माण गर्ने, उत्तर जोड्ने तीन नाकाहरु सञ्चालनमा पहल गर्ने लगायत निर्णय समेत केसीले जानकारी दिइन्।

मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका २१ बुँदे निर्णय:

१) सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण।
२) प्रदेश सरकारको लागि सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी नियमावली २०७४ स्वीकृत।
३) प्रदेश सरकारका कार्यसम्पादन नियमावली २०७४ स्वीकृत।
४) प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ स्वीकृत।
५) पर्यटन प्रवर्द्धनद्वारा प्रदेश समृद्धिका लागि रारा कर्णाली पर्यटन महोत्सव २०७५ मनाउने।
६) वातावरणमैत्री हरित सँग अर्थतन्त्र जोड्ने।
७) गरिब जनताको धन जडिबुटी वन्यजन्तु र वन।
८) रैथाने वालीको संरक्षण गर्दै अर्गानिक प्रदेशको आधार खडा गर्ने।
९) भू–उपयोग निती निर्माण गरेर बस्ती विकासलाई व्यवस्थित गर्ने।
१०) व्यावसायिक खेती प्रणालीको प्रोत्साहन, उच्च मूल्य कृषि वस्तुको उत्पादन।
११) एक समूह एक सहकारी, एक सहकारी एक उत्पादन नीति लिएर काम गर्ने।
१२) समृद्ध प्रदेश निर्माणका लागि लगानीमैत्री वातावरणको निर्माण गर्ने।
१३) डिजिटल प्रदेश बनाउने।
१४) जनतासँग मुख्यमन्त्री कार्यक्रम बनाउने।
१५) प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने केन्द्र सरकारको नीतिलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने।
१६) एक गाउँपालिका एक घरेलु उद्योग सञ्चालन गर्ने।
१७) ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रम सञ्चालन गर्ने।
१८) हुम्ला र डोल्पामा यथासिघ्र सडक पुर्‍याउन पहल गर्ने, उत्तर चिन जोड्ने तीन वटा नाका खोल्ने।
१९) बृहत् नागरिक लगानी कोषको स्थापना गर्ने।
२०) समृद्ध प्रदेशका लागि शान्ति सुरक्षा कार्यक्रम लागू गर्ने।
२१) प्रदेश सरकारको प्रवक्तामा विमला केसीलाई नियुक्त।

प्रकाशित मितिः   ६ फाल्गुन २०७४, आईतवार २१:००