सभामुख र मन्त्री हुन नपाएपछि सांसद शाहीले दिए राजीनामा

सुर्खेत : आफूलाई मन्त्री नबनाइएको भन्दै प्रदेश नं. ६ का सांसद चन्द्रबहादुर शाहीले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार गठन भएको प्रदेश नम्बर ६ को मन्त्री परिषदमा आफूलाई नसमेटिएको भन्दै उनले हुलाकमार्फत प्रदेश सभामुखलाई राजीनामा पठाएका हुन् ।
सांसदबाट राजीनामा दिएको पत्र हुलाकमार्फत सभामुखलाई पठाएकी उनी पार्टी सदस्यताबाट समेत राजीनामा दिने भन्दै काठमाडौ पुगेका छन् ।

मुगु एमाले पार्टीको संस्थापक समेत रहेका शाहीले प्रदेश सरकार गठनमा पार्टीले आफ्नो योगदानको मुल्यांकन नगरेको बताए । आफ्नो क्षमता र योगदानको मूल्यकांन नगरेकाले एमालेको कोटाबाट भएको सांसद पद र एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको शाहीले टेलिफोनमार्फत बताए ।

पार्टीका केही नेताले गुटगत आधारमा मन्त्री छनौट गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । एमाले मुगुका संस्थापक सचिवदेखि कर्णाली अञ्चल समन्वय समितिका कार्यबहाक सचिवहुँदै केन्द्रीय सल्लाहकार शाही प्रदेश ६ को सभामुख पदमा समेत दावी गरेका थिए । सभामुख र मन्त्री दुवै पदमा आफूले स्थान नपाएपछि आक्रोशित बनेका उनले राजीनामा दिएका हुन् ।

सभामुखको कार्यालयले भने शाहीले राजीनामा दिएको पत्र प्राप्त भइनसकेको जनाएको छ ।