प्रदेश सभा र मन्त्रालयमा सहिदको तस्विर राख्न माग
सुर्खेत, ५ फागुन ।
प्रदेश सभाका सांसदहरूले तत्काल प्रदेश सभा र मन्त्रालयहरूमा सहिदको तस्विर राख्न माग गरेका छन् । यसअघि सम्पन्न पहिलो र दोस्रो बैठकमा यस विषयमा कसैले चासो दिएनन् । तर प्रदेश सभाको तेस्रो बैठकमा भने सहिदको विषयले प्रवेश पाएको छ ।
छैठौं प्रदेश स्थापनाको क्रममा मारिएका चार जना सहिदको तस्विर तत्काल प्रदेश सभा र मन्त्रालयमा राख्नुपर्ने माग सांसदले गरेका हुन् । प्रदेश सभाको शनिवार बसेको बैठकमा सांसद धर्मराज रेग्मीले सहिदको रगतबाट यो प्रदेश स्थापना भएकाले उनीहरूको सम्मान हुनुपर्ने बताए । उनले भने, ‘यो प्रदेश स्थापना गर्न चार जनाले रगत बगाएका छन्, त्यही रगतको बलमा आज हामीले यो प्रदेश पाएका छौं । तर सहिदहरूको बेवास्ता भयो, तत्काल प्रदेशसभा र मन्त्रालयमा सहिदका तस्विर राखियोस् ।’
प्रदेश सीमाकंनको क्रममा सुदूरपश्चिममा गाभिएको विरोध र अलग प्रदेशको माग गर्दै आन्दोलन भएको थियो । सोही क्रममा सुर्खेतमा तीन र जुम्लामा एक जनाको ज्यान गएको थियो । चार जनाको ज्यान जाने गरी भएको आन्दोलनले उग्ररूप लिएपछि दलहरूले सुदूरपश्चिममा गाभिएका कर्णालीका पाँच, भेरीका तीन र राप्तीका दुई गरी १० जिल्लालाई समेटेर छैठौं प्रदेश घोषणा गरेका थिए । प्रदेश सभाको बैठकमा सांसद रेग्मीले सुर्खेतमा मारिएका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लामा मारिएका हरिबहादुर कुँवरको तस्विर तत्काल प्रदेशसभा र मन्त्रालयमा राख्न माग गरे । ‘सहिदको रगतले यो प्रदेशको सीमाना कोरिएको छ, उहाँहरूको उचित सम्मान हुनुपर्छ’ उनले भने, ‘सभामुख महोदयबाट यो विषयमा सरकारलाई रुलिङ्गको माग गर्दछु, अर्को बैठकमा आउँदा सभाभित्र सहिदको तस्बिर देख्न पाइयोस् ।’
आन्दोलनबाट प्राप्त प्रदेश भए पनि सहिदको वेवास्ता भएको गुनासो सांसदहरूबाटै हुन थालेको छ । औपचारिकताका लागि सहिदको सम्झना गरिए पनि प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालयले तस्बिरसमेत नराखेको गुनासो हुन थालेको हो । सहिदका आफन्तहरूले पनि आफ्नो आफन्तले बगाएको रगतको सम्मान हुन नसकेको बताउन थालेका छन् । बैठकमा नै सहिदको विषयले प्रवेश पाएपछि अब यस विषयमा प्रदेश सभाले ठोस निर्णय लिने सांसदहरूले बताएका छन् । सांसदहरूले अब सहिद परिवारको बारेमा पनि प्रदेश सरकारले सोच्नुपर्ने बताए । यसअघि यहाँका दलहरूले आन्दोलनमा मारिएको सहिदको शालिक बनाउने, चौकको नामाकरण गर्ने र परिवारका सदस्यहरूलाई रोजगारी दिने बाचा गरेका थिए । तर अहिले यसबारेमा कसैले पनि चासो नदिएको आफन्तको गुनासो छ ।
यस्तै शनिवारको बैठकले प्रदेश सभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ ।
समितिमा सांसदहरू दल रावल, दिनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मीना रखाल, यज्ञबहादुर बिसी, सीता नेपाली र शोशिला शाही छन् । यो समितिले १५ दिनभित्र सभामुखलाई आफ्नो प्रतिवेदन पेश गर्नेछ । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेश सभामा बैठकको अध्यक्षता गर्ने पाँच जना सांसदहरूको नाम पनि पारित गरेको छ । अब सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता र संचालन सांसदहरू गणेश सिंह, दिनबन्धु श्रेष्ठ, पदम रोकाय, राजु नेपाली र शोशिला शाहीले गर्नेछन् । प्रदेश सभाको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे बस्नेछ ।
उपसभामुखमा पुष्पा घर्ती
प्रदेश सभाको उपसभामुखमा पुष्पा घर्ती चयन भएकी छन् । माओवादी केन्द्रका सांसद घर्ती प्रदेश नम्बर ६ को प्रदेश उपसभामुखमा निर्विरोध निर्वाचित भएकी हुन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश सभाको तेस्रो बैठकले उनलाई उपसभामुखका निर्वाचित भएको घोषणा गरेको हो ।
बैठकमा घर्तीलाई उपसभामुखमा निर्वाचित गर्न माओवादीका सांसद धर्मराज रेग्मीले प्रस्ताव गरेका थिए । यस्तै एमाले सांसद मीना रखालले उक्त प्रस्तावमा समर्थन गरेकी थिइन् । उपसभामुखका लागि एउटा मात्र प्रस्ताव आएको भन्दै सभामुख राजबहादुर शाहीले घर्तीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । एमाले र माओवादी केन्द्रले सभामुख र उपसभामुखमा भागवण्डा गरेका थिए । भागवण्डा अनुसार यसअघि नै एमालेबाट सभामुख निर्वाचित भइसकेका छन् ।
यस्तै नवनिर्वाचित उपसभामुख पुष्पा घर्तीले शनिवार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई सभामुख राजबहादुर शाहीले शपथ दिलाएका हुन् । शपथ लगत्तै उपसभामुख घर्तीले आफ्नो पदभार सम्हालेकी छन् । अब प्रदेश सभालाई गतिशील र सिर्जनशील बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।
संसदमा रहेका दलहरूसँग मिलेर काम गर्ने भन्दै उनले प्रदेशको समृद्धि र जनताको पक्षमा काम गर्ने उल्लेख गरिन् । उपसभामुख घर्ती माओवादी जनयुद्धको क्रममा भूमिगत राजनीतिमा होमिएकी थिइन् ।
साझा बिसौनी संवाददाता ।