लखन कपको उपाधि आयोजकलाई

सुर्खेत, ५ फागुन ।
बराहताल गाउँपालिकाको बड्डिचौरमा सञ्चालित १० औं लखन स्मृति कपको उपाधि आयोजक लखन युवा खेलकुद मञ्च (ए) ले जितेको छ । शनिवार भएको फाइनल खेलमा चन्दननाथ युवा क्लब जुम्लालाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै मञ्चले उपाधि हात पारेको हो ।


विजेता लखन युवा खेलकुद मञ्चले ५० हजार नगदसहित ट्रफी हात पारेको छ भने उपविजेता बनेको चन्दननाथले २५ हजारसहित ट्रफी हात पारेको छ । बिजेतालाई पुरस्कार वितरण गर्दै नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशी मगरले नेपालका प्रथम सहिद लखन थापा मगरलाई राज्यले अझै पनि हेला गरेको गुनासो गरे । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वंशी मगरले खेल जगतमा लागेका हरेक युवाहरू आत्मनिर्भर बनाउने गरी खेल सञ्चालन राज्यले नगर्दा खेलाडीहरू विदेश पलायन हुन बाध्य भएको बताए ।
१० औं संस्करणको खुला फुटबल प्रतियोगिताको प्रमुख प्रायोजन नेपाल मगर संघ सुर्खेत र सहप्रायोजन बराहताल गाउँपालिका रहेको थियो । लखन युवा खेलकुद मञ्च बड्डिचौरका अध्यक्ष कृष्णबहादुर थापा मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा सिद्धार्थ सञ्चार सहकारी संस्था लि. का अध्यक्ष दीपबहादुर रानामगर, नेपाल मगर संघ सुर्खेतका सल्लाहकार हरि थापा मगर र पूर्णबहादुर रोका मगर लगायतको सहभागिता रहेको थियो ।