जनताको नाममा मुख्यमन्त्रीको शपथ

सुर्खेत, ४ फागुन ।
यसअघि ऊर्जामन्त्री हुँदा उनले कोट र पाइन्टमै शपथ लिएका थिए । माओवादीका अधिकांश नेताहरूले औपचारिक पोशाकमा कोट र पाइन्ट नै रोज्दै आएका छन् । विगतमा माओवादी मन्त्रीहरूले दौरा र सुरुवालमा शपथ नलिंदा चर्चाको विषय नै बन्यो । तर प्रदेश ६ को मुख्यमन्त्री बनेपछि माओवादी नेता महेन्द्रबहादुर शाहीले भने पहिलो पटक दौरा र सुरुवालमा सजिएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।


औपचारिक पोशाकमा कोट र पाइन्ट नै रोज्दै आएका शाही शुक्रवार भने एकाएक दौरा र सुरुवालमा देखिए । वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शाहीलाई दौरा, सुरुवाल, कोट र ढाँका टोपीमा सजिएको देखेपछि माओवादी कार्यकर्ताहरू आश्चर्यमा परे । माओवादी कार्यकर्ताहरू मात्र होइन, त्यहाँ उपस्थित सबैको ध्यान मुख्यमन्त्री शाहीको पोशाकमै केन्द्रित भयो । एकाएक दौरा र सुरुवालमा सजिएर मुख्यमन्त्री शाहीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले शपथ दिलाएका थिए ।
प्रदेश प्रमुखले ईश्वरका नाममा शपथ खुवाएका थिए । तर शाहीले भने ईश्वरको नाममा भन्ने शब्द उच्चारण नगरी जनताका नाममा शपथ लिएका थिए । बिहीवार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले शपथ ग्रहणसँगै आफ्नो पदभारसमेत सम्हालेका छन् । शपथ लगत्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका उनले यो प्रदेश स्थापनाको क्रममा सुर्खेत र जुम्लामा मारिएका चार जना शहिदहरूप्रति श्रद्धाञ्जलीसहित तस्वीरमा माल्यार्पण गरेका थिए । आफ्नो पदभार ग्रहणपछि मुख्यमन्त्री शाहीले प्रदेश ६ को समृद्धिका लागि विशेष गुरुयोजना निर्माण गर्ने बताए । सबैभन्दा पछाडी स्थापना भएको प्रदेश ६ को समृद्धिका लागि प्रदेश सरकारले योजनावद्ध रूपमा कामहरू गर्ने उनको भनाई छ । शुक्रबार नै बाम गठबन्धनले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेको थियो । तर मन्त्रीपरिषद विस्तार हुन नसकेपछि मुख्यमन्त्री शाहीले मात्र शपथ लिएका हुन् ।
‘आज सबैजना मन्त्रीसहित शपथ लिने योजना थियो, तर त्यो सम्भव भएन’ मुख्यमन्त्री शाहीले भने,‘आइतवार मन्त्रीपरिषद विस्तार हुनेछ, त्यसपछि पहिलो बैठक बसेर सरकारका प्राथमिकता सार्वजनिक गर्नेछौं ।’ आन्दोलनबाट स्थापना भएको प्रदेश ६ को विकास र समृद्धिका लागि धेरै चुनौतीहरू रहेको उनको भनाइ छ । तर पनि प्रदेशको समृद्धिका लागि सबैसँग हातेमालो गरेर सम्भावनाहरूको खोजी गर्ने उनले बताए । विकास र समृद्धिको सम्भाव्यता अध्ययन गरेर यो प्रदेशलाई अभाव र गरिबीबाट मुक्त गर्ने उनको दाबी छ । उनले अब यो प्रदेश अनुदान र दाताको भरमा मात्र संचालन हुन नसक्ने भन्दै आत्मनिर्भरताका लागि सरकारले काम गर्ने जनाए ।

 

प्रकाशित मितिः   ५ फाल्गुन २०७४, शनिबार १९:०४