‘नेताका खल्तीबाट मन्त्री र उपसभामुख’

माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी प्रदेश सभाको उपसभामुख चयनका लागि प्रस्ताव दर्ता गर्न संसद सचिवालयमा पुगे । शुक्रवार प्रस्ताव दर्ताका लागि तोकिएको समय घर्किदै थियो । तर उपसभामुख चयनका लागि प्रस्तावक बनेका सांसद रेग्मीसँग नै उपसभामुखका लागि उम्मेदवारको नाम थिएन ।
उम्मेदवारको नाम विना नै प्रस्तावकको रूपमा प्रस्ताव पत्रमा हस्ताक्षर गरेर उनी तयारी हालतमा थिए । सोही क्रममा एमाले सांसद मीना रखालले पनि समर्थक बनेर हस्ताक्षर गरिन् । त्यतिबेलासम्म उक्त पत्रमा उपसभामुखको उम्मेदवारको नाम भने थिएन । जसका कारण सचिवालयमा प्रस्ताव दर्ता हुन सकेको थिएन ।
प्रस्ताव दर्ताका लागि तोकिएको समय सकिन लाग्दासमेत कुनै प्रस्ताव दर्ता हुन नसकेपछि सचिवालयका कर्मचारीहरू पनि तनावमा थिए । समयमै प्रस्ताव दर्ता नभए उपसभामुख चयनका लागि संसदबाट अर्को मिति तय गर्नुपर्ने अवस्था आउने भन्दै सचिवालयका कर्मचारीहरू सांसद रेग्मीलाई अत्याइरहेका थिए । बल्लतल्ल माओवादी
नेताहरूले सांसद रेग्मीलाई फोनमार्फत् उपसभामुखको उम्मेदवारका लागि सांसद पुष्पा घर्तीको नाम दिए । नेताहरूले नाम दिएपछि उपसभामुख चयनका लागि वाम गठबन्धनको तर्फबाट प्रस्ताव दर्ता भयो । प्रस्ताव दर्ता भएपछि सचिवालयका कर्मचारीहरू पनि ढुक्क बने ।
उपसभामुख पाएको माओवादीले संसदीय दलमा छलफल नै नगरी उम्मेदवारको टुङ्गो लगाएको हो । दलमा छलफल नै नभएका कारण अधिकांश माओवादीका सांसदहरूलाई नै शुक्रवार साँझसम्म पनि उपसभामुखमा कसको नाम गयो भन्ने जानकारी नै थिएन । बरु उनीहरू आपसमा उपसभामुख र मन्त्रीमा को भए भन्दै प्रश्न सोधी रहेका थिए । संसदीय दलमा छलफल र बहस नगरेर नेताहरूले उपसभामुख र मन्त्रीको टुङ्गो लगाएको माओवादी स्रोतको दाबी छ ।
स्रोतले भन्यो, ‘विधि र प्रक्रियाबाट पार्टी चल्न छोड्यो, नेताका खल्तीबाट मन्त्री र उपसभामुख चयन हुन थाले ।’ नेता शक्तिबहादुर बस्नेत र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलमा छलफल नै नगरेर आफूखुशी सिफारिस गरेको माओवादी सांसदहरूको गुनासो छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७४, शनिबार १९:०३