एमाले र माओवादीका आफ्नै अडान
सुर्खेत, २ फागुन ।
प्रदेश नम्बर ६ को मुख्यमन्त्री चयनमा वाम गठबन्धनलाई निकै सकस भएको छ । गठबन्धन भित्रका नेकपा एमाले र माओवादी केन्द्रका आ–आफ्नै अडानका कारण मुख्यमन्त्री चयनमा सकस भएको हो । जसका कारण मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेशसमेत हुन सकेको छैन ।
दुई पार्टीबीच केन्द्रमा भएको भागवण्डा अनुसार प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाएको छ । सोही सहमति अनुसार यसअघि नै एमालेबाट सभामुख निर्वाचित भइसकेका छन् । सभामुख चयन भए लगत्तै माओवादीले मुख्यमन्त्री चयनको कसरत सुरु गरेको थियो । तर गठबन्धनकै दल एमाले तयार नभएपछि माओवादीले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न सकेको छैन ।
एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने, मन्त्रालयको भागवण्डा र अन्य विषयमा प्याकेजमै सहमति हुनुपर्ने प्रस्ताव गरेको छ । यही विषयमा दुई दलबीच कुरा नमिलेपछि मुख्यमन्त्री चयनको प्रक्रियामा पनि विलम्ब भएको हो । बारम्बार भएका छलफल र वार्ताबाट पनि कुनै निकास नआएपछि मुख्यमन्त्री चयनबारे थप अन्यौल देखिएको छ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिन भित्रमा मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनुपर्ने संवैधानीक व्यवस्था छ । यही व्यवस्था अनुसार आज
(बिहीवार) ३० दिन पुग्दैछ । यही बाध्यताका कारण माओवादीले संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री चयनका लागि बुधवार नै बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरेको थियो । तर एमालेका सांसदहरूले हस्ताक्षर नगरेपछि उक्त दाबी पेश हुन सकेन ।
माओवादीले पार्टी केन्द्रमा भएको सहमति अनुसार अगाडि बढ्नुपर्ने भन्दै प्रदेश सरकारको नेतृत्वमा आलोपालोको प्रस्तावलाई अस्वीकार गरेको छ । यसबारेमा थप निर्णय केन्द्रले नै गर्नुपर्ने माओवादीको अडान छ । यस्तै एमालेले भने प्रदेश सभामा आधा हिस्सा आफ्नो रहेको र एक्लै सरकार गठन गर्न सक्ने अवस्था रहेको भन्दै पूरै अवधि माओवादीलाई नेतृत्व दिन नसकिने जनाएको छ । जनमत अनुसार आलोपालो सरकारको नेतृत्व हुनुपर्ने भन्दै एमालेले प्याकेजमा सहमित नभएसम्म मुख्यमन्त्रीका लागि माओवादीले तयार पारेको दाबी पत्रमा हस्ताक्षर नगर्ने अडान लिएको छ । दुवै दलका आआफ्नै अडानका कारण बुधवार भएको सहमतिका प्रयासहरू पनि असफल भएका छन् । एमालेसँग सहमति हुने आशमा माओवादीले प्रदेश प्रमुखलाई बुझाउने दाबी पत्र पनि तयार पारिसकेको छ । दाबी पत्रमा माओवादीका १३ जना सांसदहरूले बुधवार नै हस्ताक्षर गरिसकेका छन् ।
एमालेका सांसदहरूलाई हस्ताक्षर गराउने प्रयास भने सफल हुन नसकेको माओवादीले जनाएको छ । सहमतिका लागि एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीच बुधवार पनि छलफल भएको थियो । तर दुबै नेताले आफ्नो अडान नछोडेपछि सहमति जुटन् नसकेको हो । ‘हामी हस्ताक्षर गर्न तयार नै छौं, माओवादीलाई मुख्यमन्त्री स्वीकार गरेकै छौं । तर पहिला सरकारको नेतृत्व गर्ने समयावधी र मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्नुपर्छ, यो विषयमा पहिला प्याकेजमा सहमति भएपछि सरकार गठनको बाटो पनि खुल्छ ।’ उनले यो विषयमा सरकारको नेतृत्व गर्ने दलले नै बढी पहल थाल्नुपर्ने र स्पष्ट खाका ल्याउनुपर्ने बताए । एमालेको प्रदेश कमिटी र प्रदेशसभा संसदीय दलको बैठकले यसअघि नै मुख्यमन्त्री छोड्न नसकिने निर्णय गरिसकेका छन् । तर एमाले र माओवादीबीच
केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री माओवादीको भागमा परेको छ । मुख्यमन्त्री माओवादीको भागमा परे पनि एमालेका नेता र प्रदेश सांसदहरूले आफैले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रदेश सभामा एमालेका २० जना सांसद छन् । यो प्रदेशमा एमालेबाहेक सरकार गठनका लागि बहुमत नै पुग्दैन । मुख्यमन्त्री चयनमा सकस भएपछि निकास निकाल्न भन्दै माओवादी नेता शक्तिबहादुर बस्नेत विहीवार सुर्खेत आउँदैछन् । यस्तै एमालेले पनि अब यो विषयमा केन्द्रले नै थप निर्णय गर्नुपर्ने जनाएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार नै आफूहरू अगाडि बढ्ने एमाले नेताहरूको भनाइ छ । यता माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले भने बिहीवार नै मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश हुने बताए । उनले भने, ‘छलफलहरू सकारात्मक बनेका छन्, हामीले हस्ताक्षर गरिसकेका छौं । अब एमालेबाट पनि हस्ताक्षर हुन्छ, हामी बिहीवार नै दाबी पेश गर्नेछौं ।’
साझा बिसौनी संवाददाता ।