प्रदेश ६ : यस्ता छन् तेस्रो सभाले गरेका तीन निर्णय

 

सुर्खेत, ५ फागुन । प्रदेश नम्बर ६ को शनिबार बसेको तेस्रो प्रदेशसभा बैठकले तीन वटा निर्णय गरेको छ।

सभामुख राजबहादुर शाहीले अध्यक्षता गरेको पहिलो बैठकले उपसभामुखमा माओवादी केन्द्रका सांसद पुष्पा घर्ती विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। सांसद धर्मराज रेग्मीले उपसभामुख पदमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई अर्का सांसद मीना रखालले समर्थन जनाएपछि सभामुख शाहीले घर्तीलाई उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

उपसभामुख पदमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि घर्ती निर्विरोध भएकी हुन्।

त्यसैगरी, प्रदेशसभाले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँच जना सदस्यलाई मनोनीत गरेको छ। सभामुख शाहीले सांसदहरु गणेशप्रसाद सिंह, दिनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाय, राजु नेपाली र सोशीला शाहीलाई मनोनीत गरेकोमा यसलाई सभाले पारित गरेको छ।

प्रदेशसभा नियमावली मस्यौदा समिति गठन समेत गरिएको छ। सांसद अमरबहादुर थापाले आठ जना सदस्य रहनेगरी मस्यौदा समिति गठन गर्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए। जसमा दलबहादुर रावल, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मिनासिंह रखाल, यज्ञबहादुर बिसी, सीताकुमारी नेपाली र सोशीला शाही रहेका छन्। सदस्यहरुले आफूमध्येबाट एक जनालाई सभापति चयन गर्ने जनाइएको छ। समितिको अवधि १५ दिन तोकिएको छ।

सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सांसदहरुले प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री, सभामुख र उपसभामुखलाई बधाई ज्ञापन समेत गरेका छन्।

प्रदेशसभाको बैठक फागुन ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७४, शनिबार १५:४४