पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारमा लगानी गर्ने वाचा

सुर्खेत, १ फागुन ।
प्रदेश नम्बर ६ मा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारमा लगानी गर्ने सांसदहरूले प्रतिबद्धता जनाएका छन् । पर्यटन नै प्रदेश समृद्धिको पहिलो आधार भएको भन्दै उनीहरूले अब प्रदेश सरकारले यसका लागि विशेष योजना निर्माण गर्ने बताए । अब गठन हुने प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गर्दै पर्यटकहरूलाई आकर्षित गर्नेगरी लगानी गर्ने उनीहरूको भनाइ छ ।


पर्यटनको खानी भए पनि पर्यटकीय क्षेत्रको विकास र पर्यटकलाई सहज रूपमा पुग्न सक्ने पूर्वाधारको क्षेत्रमा लगानी हुन नसकेको प्रदेश सभाका सांसदहरूले बताए । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूले प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन नै पहिलो आधार भएको बताएका हुन् । यसका लागि अब पूर्वाधारमा लगानी गर्नुपर्ने भन्दै उनीहरूले प्रदेश सरकारले यसलाई प्राथमिकतामा राख्ने बचन दिए । पर्यटक भिœयाउनका लागि आवश्यक पर्ने सबै पूर्वाधारमा लगानी गर्न आफूहरूले सक्दो पहल गर्नेसमेत सांसदहरूले वाचा गरेका छन् ।
माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले पर्यटनको विकासविना प्रदेशको समृद्धि सम्भव नहुने बताए । भावी मुख्यमन्त्रीका रूपमसमेत हेरिएका माओवादी नेता शाहीले भने, ‘कर्णाली अभावले थलिएको छ, अब अनुदान र सहयोगले हाम्रो प्रदेश चल्न सक्दैन । पर्यटन क्षेत्रको विकासले मात्र हामी आत्मनिर्भर बन्न सक्छौं, अब बन्ने प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधारमा लगानी गर्नेछ ।’ उनले अब गठन हुने प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र भौत्तिक पूर्वाधारमा लगानी गर्ने बचन दिए । पर्याप्त सम्भावना भएर पनि आवश्यक पूर्वाधार नहुँदा पर्यटकहरू भित्राउन नसकिएको भन्दै उनले अब प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
पश्चिम नेपालमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएको मनघरी फाउण्डेशन नेपाल र उद्योग वाणिज्य महासंघ प्रदेश न ६ ले वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश ६ को पर्यटन विकासमा अबको बाटो विषयक कार्यक्रममा नेताहरूले यस्तो बाचा गरेका हुन् । दलका नेताहरूले प्रदेश समृद्धि आफूहरूको साझा एजेण्डा भएको र अब पर्यटनको विकासमा एकताबद्ध भएर लाग्ने बताए । पर्यटनले नै प्रदेशको अर्थतन्त्र थेग्ने बताउँदै एमाले सांसद प्रकाश ज्वालाले भने, ‘हामीसँग सम्भावना र स्रोत धेरै छन्, प्रचार नहुँदा ओझेलमा परेका हुन् । अब काम गरेर देखाउने वेला आएको छ, मिलेर पर्यटन प्रवद्र्धनमा जुटौं ।’ पर्यटनको विकासका लागि प्रदेश सरकारले अब सडक यातायातलाई सुरक्षित र सहज बनाउन लगानी गर्ने उनको भनाइ छ । हवाइ सेवालाई प्रभावकारी बनाएर पर्यटक भित्राउने उनले बताए ।
प्रदेश ६ का पर्यटकीय गन्तव्यहरू मुगुको रारा, डोल्पाको शेफोक्सुण्डो, सुर्खेतको काँक्रेविहार र बुलबुले, दैलेखको पञ्चकोशी र ज्वाला क्षेत्र तथा हुम्लाको हिल्सालगायतका क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने बचन सांसदहरूले दिए । त्यसैगरी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आन्तरिक भन्दा पनि वाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने बताए । भारत र चीनका पर्यटकलाई मात्र आकर्षित गर्नसकेमा प्रदेशको अर्थतन्त्र बलियो हुने उनको दाबी छ । उनले भने, ‘हाम्रो प्रदेशमा सम्भावना धेरै छन्, तर हामी आर्थिक रूपमा कमजोर
छौं । अब सत्ता र प्रतिपक्ष होइन, समृद्धिका लागि हातेमालो गरेर अगाडि बढौं ।’ पर्यटनका लागि सडक, विमानस्थल, स्वास्थ्य सेवा र उद्धार टोलीको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनसमेत उनले अब बन्ने प्रदेश सरकारलाई सुझाव दिए । पूर्वाधार उपलब्ध भएको खण्डमा पर्यटकहरू आकर्षित हुने र प्रदेशले आम्दानी गर्न सक्ने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ का अध्यक्ष पदमबहादुर शाहीले पर्यटन विकासका लागि वीरेन्द्रनगरमा रहेको विमानस्थलको तत्काल स्तरोन्नति पहिलो शर्त भएको बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले पूर्वाधार विकासमा जोड दिए । विरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले भने समग्र प्रदेशको पर्यटन विकास सम्बन्धी गुरुयोजना आवश्यक रहेको बताए । सो अवसरमा मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले सुविधायुक्त होटल, सडकको पहुँच र सुरक्षाको व्यवस्थापन हुन सके पर्यटकको आकर्षण बढ्ने बताए । पर्यटन क्षेत्रको विकास र लगानीले मात्र प्रदेश ६ लाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । सुर्खेतको काँक्रेविहारदेखि मानसरोवर सम्मको पर्यटन गुरुयोजना बनाउन जरुरी रहेको सरोकारवालाले बताउँदै आएका छन् ।

प्रकाशित मितिः   २ फाल्गुन २०७४, बुधबार १६:१८